साँघुरियो मुख्यमन्त्री आकांक्षीको सूची

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

शीर्ष नेताहरू सम्मिलित राजनीतिक संयन्त्रको आज बस्ने बैठकले मुख्यमन्त्रीको बाँडफाँड टुंगो लगाउने

सत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक समझदारी बनेलगत्तै आकांक्षीको सूची साँघुरो भएको हो । यद्यपि, समझदारीले भने अन्तिम रूप पाइसकेको छैन । 

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच एमालेले चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले एउटा प्रदेशमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी छ । राप्रपाले मुख्यमन्त्रीमा दाबी गर्ने–नगर्ने तय भइसकेको छैन । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले शीर्ष नेताहरू सम्मिलित राजनीतिक संयन्त्रको शुक्रबार बस्ने बैठकले मुख्यमन्त्रीको बाँडफाँड टुंग्याउने बताए । 

प्रचण्ड र ओलीबीचको समझदारीअनुसार एमालेले प्रदेश १, गण्डकी तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये दुई प्रदेशमा मुख्यमन्त्री लिनेछ । त्यस्तै, माओवादीले सुदूरपश्चिम तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये एक प्रदेशको नेतृत्व लिनेछ । मधेसमा भने जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो नेतृत्व दिने समझदारी छ । एमालेका तीनजना स्थायी कमिटी सदस्य प्रदेश संसदीय दलको नेता चयन भएकाले उनीहरू मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरू प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल दलको नेता भएका छन् । बागमतीमा एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । लुम्बिनीमा एमालेबाट लीला गिरी मुख्यमन्त्रीका दाबेदार छन् । यद्यपि, लुम्बिनीमा दलको नेता चयन हुन बाँकी छ । 

एमाले सचिव रघुवीर महासेठले मुख्यमन्त्रीको विषय शीर्ष तहमा टुंगिन बाँकी रहेको बताए । उनले अब बैठक बसेर निर्णय लिइने बताए । ‘सिनियर नेताले मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक हो । उहाँहरूको दाबी आइरहेका छन् । तर, कहाँ को मुख्यमन्त्री बन्ने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने । 

माओवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने करिब निश्चित छ । सुदूरपश्चिममा माओवादीका खगराज भट्ट मुख्यमन्त्रीका एक्ला दाबेदार छन् । नागरिक उन्मुक्ति पार्टी सरकार गठनमा निर्णायक रहेकाले सुदूरपश्चिममा उसको पनि दाबी रहनेछ । रामेश्वर चौधरी उन्मुक्तिका दलको नेता चयन भएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले  सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी रहने बताइन् । 

प्रदेश १ मा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका छन् । बागमतीमा शालिकराम जम्कट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री र युवराज दुलाल मुख्यमन्त्रीका दाबेदार छन् । यहाँ दलको नेता चयन गर्न बाँकी छ । 

लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा दाबेदार छन् । बागमती र लुम्बिनीमध्ये कुन प्रदेश कुन दलले लिने भन्ने टुंगो लागिसकेको छैन । कर्णालीमा माओवादीबाट दलका नेता रामकुमार शर्मा दाबेदार छन् । कर्णालीमा स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएकाले मुख्यमन्त्री पाउनुपर्ने दाबी एमालेको छ । एमाले दलका नेता कँडेल यसअघि पटक–पटक मुख्यमन्त्री हुन चाहे पनि असफल भएका थिए । माओवादीले भने प्रदेशमा सबैभन्दा बढी भोट कर्णालीमा ल्याएकाले मुख्यमन्त्री नछाड्ने अडान लिएको छ । 

सत्तारूढ गठबन्धन भएकाले मधेस प्रदेश मधेसका दललाई दिने समझदारी छ । जसपा र जनमत पार्टीले मधेस प्रदेशको नेतृत्व आलोपालो गर्ने तयारी छ । दुवै दलले संसदीय दलको नेता चयन गरेका छैनन् । यहाँ जसपाबाट लालबाबु राउत, सरोजकुमार यादव र मनीष सुमन मुख्यमन्त्रीका दाबेदार छन् । जनमत पार्टीबाट चन्दन सिंह र सतिशकुमार सिंह मुख्यमन्त्रीका दाबेदार छन् । 
 

सुझावित समाचार