गलत बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। टंगालबाट खटिएको टोलीले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।
आ.व ०७६/७७ मा कविलासी नगरपालिका वडा नं ८ स्थित रामजानकी मन्दिर निर्माणका क्रममा वास्तविकभन्दा बढी काम गरेको गलत बिल बनाई ९७ हजार ८४० रुपैयाँ ४० पैसा हिनामिना गरेको अख्तियारले जनाएको छ।
उक्त कसुरमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर राय, तत्कालीन इन्जिनियर रामविनयप्रसाद यादव, सबइन्जिनियर उमेशकुमार दास तथा उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिनाकुमारीविरुद्ध जनही ९७ हजार ८४० रुपैयाँ ४० पैसा बिगोसहित आवश्यक कारबाहीको माग गर्दै अख्तियारले आरोपपत्र दायर गरेकाे हो।