धोतीको फेरोले ‘स्याँठ’ छेकेर रात काट्छन् अल्पसंख्यक समुदाय

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

मंगलबारदेखि बढेको चिसोले बाँकेको जनजीवन प्रभावित भएको छ। चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, दमका रोगी, दीर्घरोगी तथा गरिबीको रेखामुनि रहेका समुदाय प्रभावित भएका छन्।
 
चिसो हावा चल्न थालेपछि रोक्न खर र परालको टँटरी बनाउन लागेको नेपालगन्ज उपमहानगरपालिका– ९ खट्कनपुरका ७१ वर्षीय रामशंकर खटिकले बताए। उनले चिसोबाट जोगिने उपाय खोजिरहेको बताए। चिसो हावा छेक्न भित्तामा धोतीको टुक्रा बाँधेका उनले छाप्रोको ढोका देखाउँदै भने, ‘हावा यहाँबाट सीधै घरभित्र छिर्छ। चिसोले रातभर सुत्न सकिँदैन। थोरै भए पनि राहत मिल्छ कि भन्ने आशा छ।’

चिसोले बाँकेमा बसोवास गर्ने चिडिमार, खटिक, पत्थरकट्टा, मगन्तालगायतका अल्पसंख्यक तथा पिछडिएका समुदाय प्रभावित भएका छन्। शीतलहरले आफ्नो समुदायका अधिकांश वृद्धवृद्धा र बालबालिकालाई रुघाखोकी लागेको नेपालगन्ज उपमहानगरपालिका- ९ खट्कनपुरका चन्दा खटिकले बताए।

‘चिसो हावासँगै घाम नलागेपछि सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र दमका बिरामी प्रभावित भएका छन्,’ उनले भने। 
जाडोमा लगाउने र ओढ्ने न्यानो कपडा नभएकाले चिसोले सताएको नेपालगन्ज उपमहानगरपालिका– १२ चिडिमार टोलका रामविलास चिडिमारले पीडा पोखे। उनले चिडिमार टोलका अधिकांशसँग ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडा नभएको बताए। ‘चिसोले हाम्रो टोलका सबै प्रभावित भएका छौँ, तर बालकालिका, वृद्धवृद्धा र दमका बिरामी धेरै प्रभावित भएको देखिन्छ,’ उनले भने। 

चिसो हावा चलेका कारण अधिक चिसो महसुस गरिएको नेपालगन्ज उपमहानगरपालिका– २, घरबारी टोलका गोपाल ओलीले बताए। उनले चिसो हावाले बाहिर निस्कन नसकेको बताए। ‘दिनभर घाम लागेन, चिसो हावाले मुटु काप्यो,’ उनले भने। 

चिसाेका कारण नेपालगन्ज, कोहलपुर, राँझा, खजुरालगायत सहर सुनसान भएका छन्। किनमेल गर्ने ग्राहक नआउँदा व्यापारी हिटर तापेर ग्राहक पर्खिरहेको देखिन्थे। 

‘शीतलहर सुरु भएदेखि यात्रु पाउन छाडेको नेपालगन्जका रिक्साचालक दिवस चौधरीले बताए। उनले नेपालगन्जमा किनमेल गर्नेको संख्या ह्वात्तै घटेको बताए। ‘अति आवश्यक कामबाहेक अन्य सर्वसाधारण बजारमा निस्केको देखिँदैन,’ उनले भने। 

तापक्रम घट्दै 

२७ डिसेम्बर अर्थात् मंगलबारको भन्दा बुधबार केहि न्यानो महसुस गरिएको छ। मंगलबार अत्यधिक चिसो बढ्दा मन आत्तिएको नेपालगन्ज उपमहानगरपालिका– १८ की लक्ष्मी बर्माले बताइन्। अकस्मात् चिसो बढेपछि मन अत्तालिएको थियो। बुधबार केही न्यानो महसुस भएको उनको भनाइ छ। 

बाँकेमा मंगलबार न्यूनतम तापक्रम ८ डिग्री र अधिकतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो। गत ३१ जनवरीमा बाँकेको न्यूनतम तापक्रम ६ दशमलव र अधिकतम तापक्रम २० दशमलव ९६ डिग्री सेल्सियस रहेको थियो। 

‘न्यूनतम कम भए पनि अधिकतम धेरै भए चिसो महसुस कम हुन्छ। ३१ जनवरीको भन्दा २७ डिसेम्बरमा न्यूनतम तापक्रम बढी भए पनि अधिकतम तापक्रम २७ डिसेम्बरमा कम भएकोले सर्वसाधारणले चिसो महसुस धेरै गरेका हुन्,’ उनले भने, ‘मंगलबार घाम लाग्ने र चिसो हावा चलेकोले अधिक चिसो महसुस भएको हो।’

२५ डिसेम्बर, २०२२ मा न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ६ रहेको थियो। २६ डिसेम्बरमा अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम १० दशमलव २ रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय नेपालगन्जले जनाएको छ। 

तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका 

सुझावित समाचार