संघीय संसद् सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने १० दललाई संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । स्वतन्त्र सांसदलाई एकल र संयुक्त कोठा व्यवस्थापन गरिएको छ ।
सिंहदरबारस्थित सचिवालय परिसर र ‘हेलो सरकार’ भवनमा कार्यालय व्यवस्थापन गरिएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुईवटा सांसद भएको दलले संसदीय दलको सुविधा पाउँछ । प्रमुख सचेतकको सुविधा पाउन कम्तीमा १० जना सांसद हुनुपर्छ । संसदीय दलको सुविधा पाउने दललाई नयाँ बानेश्वरस्थित संसद् भवनमा समेत कोठा व्यवस्थापन गरिएको प्रवक्ता पाण्डेले बताए ।
यसपटक चुनावबाट आएका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय पार्टी बनेको राप्रपा, जनमत पार्टी तथा राष्ट्रिय पार्टी बन्न नसकेको नागरिक उन्मुक्ति पार्टीलाई रक्षा मन्त्रालयछेउको ‘हेलो सरकार’को भवनमा व्यवस्थापन गरिएको छ । रास्वपालाई चार कोठा र अन्य दललाई दुई–दुई कोठा व्यवस्थापन गरिएको छ ।
२० सांसद भएको संसद्को चौथो दल रास्वपाले नयाँ भवनमा संसदीय दलको कार्यालय अस्वीकार गरेको छ । संसदीय दलको नेता, प्रमुख सचेतक, बैठक कक्ष र सचिवालय गरेर अट्याच बाथरुमसहितको सुविधासम्पन्न कोठा उपलब्ध गराए पनि रास्वपाले ठूला दलको कार्यालय रहेको सचिवालय परिसरभित्रै व्यवस्था गर्न माग गरेको हो ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले संसद् सचिवालयका महासचिवलाई सचिवालयभित्रैको दुई नम्बर भवनमा व्यवस्था गरिदिन माग गरेका थिए । दुई नम्बर भवनमा माओवादी केन्द्र र एकीकृत समाजवादी दलको कार्यालय छ । रास्वपाले सोही भवनमा आफ्नो दलको कार्यालय व्यवस्थापन गर्न माग गरेको हो । संसद् सचिवालयका कर्मचारीका अनुसार दुई नम्बर भवनभन्दा अहिले व्यवस्थापन गरिएको भवनमा अत्याधुनिक सुविधासहितका भवन छन् । तर, चौथो दल भएकाले माओवादीसँगै आफ्नो कार्यालय हुुनपर्ने रास्वपाको माग छ ।
संसद् सचिवालयका प्रवक्ता पाण्डेले रास्वपाले अहिले व्यवस्थापन गरेको ठाउँमा असन्तुष्टि जनाउँदै सचिवालय परिसरभित्रै सारिदिन आग्रह गरेको बताए । यसमा आवश्यक परामर्श गरेर अघि बढ्ने उनले बताए ।
सचिवालयले रास्वपासहित राप्रपा, जनमत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसदका लागि ‘हेलो सरकार’ रहेको भवनमा संसदीय दलका लागि कोठा व्यवस्थापन गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहका लागि लोसपाको दलसँगै, किरणकुमार साहका लागि जसपाको दलसँगै कोठा व्यवस्थापन गरिएको छ । नेमकिपा र जनमोर्चालाई अघिल्लोपटककै कोठा उपलब्ध गराइएको छ ।