२२औँ ‘आहारारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता १४–२३ पुससम्म चल्नेछ । प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् । आयोजकले यस वर्षदेखि पुरस्कार राशिमा समेत वृद्धि गरेको छ ।
यसपटकको उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । गत संस्करणको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पाएका थिए । यसैगरी, प्रतियोगितामा पाँच विधामा उत्कृष्ट हुने खेलाडीसँगै सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान आफ दी म्याचले आठ हजार, साथै फाइनल खेलका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फेयर प्ले टोलीले १० हजार पुरस्कार पाउनेछ । प्रतियोगितामा विभागीय टोली, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरी १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभागीय टोलीमा नेपाल एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब रहेका छन् ।
मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, चर्च ब्वाइज युनाइटेड, धरान फुटबल र आयोजक सहारा क्लबसँगै विदेशी टोली अमेरिकाको बिवाइएससी क्लब सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले प्रतियोगिताबाट एक करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताए । उनका अनुसार गोल्डकपमा एक करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुनेछ । प्रतियोगितामा बचत रकम क्लबद्वारा पोखरा १७ मा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालनका लागि खर्च गरिने उनले बताए ।
प्रतियोगितामा अहिलेसम्म चारपटक नाम परिवर्तन भएको छ । अबको १० वर्षसम्म आहारारा पोखरा गोल्डकपको नामबाट सञ्चालन हुनेछ । ०५८ मा क्याराभान गोल्डकप नामबाट आयोजना भएको थियो । ०५९ देखि ०६८ सम्म आहा गोल्डकप र ०६९ देखि ०७८ सम्म आहारारा गोल्डकप नामबाट प्रतियोगिता भएको थियो ।