फेरि गहिरिन थाल्यो तरलता संकट

सिडी रेसियो र अन्तरबैंक ब्याजदर वृद्धि, स्थानीय कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

पुसको झन्डै आधा महिना बित्न लाग्दा बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता संकट फेरि गहिरिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार (पुस ११) बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) ८६.२८ प्रतिशत कायम भएको छ ।

मंसिर मसान्तसम्म यस्तो अनुपात घटेर ८६.१५ प्रतिशतसम्म कायम थियो । निक्षेप संकलनमा भइरहेको सुधार र बैंकहरूले कम स्थायी तरलता सुविधा (एसएलएफ) उठाउन थालेको तथ्य हेर्दा तरलतामा सहज थपिँदै गइरहेकोमा राष्ट्र बैंकका अधिकारीहरूको तर्क छ । तर, पुसमा सरकारी राजस्व संकलनमा वृद्धि र आयातमा कर्जा विस्तारले तरलता संकट गहिरिँदै जाने अर्थशास्त्रीहरूको विश्लेषण छ । 

पुस भनेको निजी क्षेत्रले आयकरको अग्रिम किस्ता बुझाउने महिना हो । पुस मसान्तसम्म यस्तो कर बुझाइसक्नुपर्ने व्यवस्था छ । चालू आर्थिक वर्षको पुस महिनामा ८० अर्ब ३० करोड आयकर उठाउने आन्तरिक राजस्व विभागको लक्ष्य छ । जसमा ब्याजकर र घरबहाल करलाई छोड्ने हो भने पनि ७८ अर्बभन्दा बढीको राजस्व जम्मा हुने अनुमान छ । पुसबाहेकका महिनाहरूमा सरकारले १६ अर्बसम्मको मात्रै मासिक लक्ष्य राख्दै आएको छ । 

त्यस्तै, भन्सार महसुलमा पनि सरकारले अघिल्ला महिनाको तुलनामा बढी लक्ष्य राखेको छ । पुसमा भन्सार विभागले २९ अर्ब ८६ करोडको भन्सार महसुल उठाउने लक्ष्य लिएको छ । त्यसमाथि पुसबाट सरकारले लामो समयदेखि केही वस्तुको आयातमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । यसले पनि सरकारी ढुकुटीमा पैसा थुपार्न मद्दत पुग्ने देखिन्छ । विगतका महिनामा राजस्व लक्ष्यअनुसार नउठेर सरकारलाई खर्च धान्न मुस्किल भएपछि आन्तरिक ऋण उठाइरहेको छ ।

अर्काेतर्फ पुसमा पुनर्कर्जा परिपक्व हुने भएपछि यसले पनि तरलतामा थप चाप पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रक नीतिमार्फत पुनर्कर्जा कटौती गर्दै जाने बताइसकेको छ । केन्द्रीय बैंकका अनुसार पुसमा करिब ६५ अर्ब रुपैयाँ पुनर्कर्जा फिर्ता हुनेछ । 

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कर संकलनमा वृद्धि र पुनर्कर्जाको रकम प्रणालीमा फिर्ता आउँदा तरलतामा थप चाप पर्ने बताए । उनले भने, ‘पुसमा अलिकति असहज नै हुने अवस्था छ । किनभने, यो महिनामा बढी कर उठ्छ । अलिकति पुनर्कर्जाको पनि फिर्ता हुन्छ ।’ यद्यपि, तरलतामा पर्ने चापलाई मौद्रिक उपकरणमार्फत सहज बनाउँदै लैजाने उनको भनाइ छ । उनका अनुसार मंसिर महिनामा रेमिट्यान्स आप्रवाह बढेकाले शोधनान्तरमा थप सुधार हुनेछ । उनले भने, ‘मंसिरमा रेमिट्यान्स आप्रवाह बढेर आउने हामीले संकेत पाइसकेका छौँ । यसले शोधनान्तरमा सुधार आउने भएकाले लगानीयोग्य तरलतामा खासै कमी ल्याउन दिइनेछैन ।’

राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ५२ खर्ब सात अर्ब निक्षेप संकलन भएको छ । जसमा वाणिज्य बैंकहरूले मात्रै ४६ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ४७ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले ४२ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 स्थानीय कोषको पैसाले राहत
पुसबाट स्थानीय तहका सञ्चित कोषमा रहेको रकम ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएपछि तरलता संकट बढ्दै जानेमा सबै सरोकारवालाहरू चिन्तित थिए । तर, सरकारले फेरि त्यो सीमालाई पुनः बढाएर ८० प्रतिशत कायम गरेसँगै तत्काललाई संकट टरेको छ । 

बैंकिङ प्रणालीमा तरलता चाप थप बढ्दै गएपछि सोमबार नै अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गर्दै ८० प्रतिशत कायम राख्ने अनुमति दिएको हो । यो व्यवस्थासँगै स्थानीय सञ्चित कोषमा रहेको करिब तीन सय अर्ब रुपैयाँमध्ये दुई सय ४० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा गणना गर्न पाउने भएका छन् । नत्र उनीहरूले कर्जाको ९० अर्ब स्रोत गुमाउनुपर्ने हुन्थ्यो । 

 अन्तरबैंक ब्याजदर ८.२९ प्रतिशत पुग्यो
चालू आर्थिक वर्षमा तरलताको चाप गहिरिएर अन्तरबैंक ब्याजदर ८.५ प्रतिशतसम्म पुगेको थियो । तर, पछिल्लो दुई महिनायता (असोज र कात्तिक) शोधनान्तर बचतमा गएसँगै तरलता सहज बन्दै गएपछि वाणिज्य बैंकहरूबीच एक–आपसमा रकम सापटी दिँदा लिने यस्तो ब्याजदर घटेर ६.९३ प्रतिशत कायम भएको थियो । पाँच महिनापछि पहिलोपटक यो ब्याजदर ७ प्रतिशतभन्दा तल पुगेको थियो ।

गत असारमा अन्तरबैंक ब्याजदर ६.९९ प्रतिशत पुगेको थियो । साउनमा यो दर बढेर ८.०२ प्रतिशत कायम भएको थियो । त्यसपछिका महिनाहरूमा लगातार यो दर ८.५ प्रतिशत कायम भएको थियो । मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा लिइएको अन्तरबैंक दर ०७८ असोजमा औसत ४.९५ प्रतिशत रहेको थियो । अन्तरबैंक ब्याजदरले पनि बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको अवस्थालाई जनाउँछ । राष्ट्र बैंकका अनुसार सोमबार यस्तो ब्याजदर ८.२९ प्रतिशत कायम भएको छ । आइतबार ७ प्रतिशतमा सीमित थियो ।

सुझावित समाचार