राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद् सचिवालयले उपलब्ध गराएको संसदीय दलको कार्यालयमा असन्तुष्टि जनाएको छ ।
२० सांसद भएको संसद्को चौथो दल रास्वपालाई सचिवालयले रक्षा मन्त्रालय छेउको हेलो सरकारको भवनमा चारवटा कोठा उपलब्ध गराएको थियो ।
संसदीय दलको नेता, प्रमुख सचेतक, बैठक कक्ष र सचिवालय गरेर अट्याच बाथरुमसहितको सुविधासम्पन्न कोठा उपलब्ध गराए पनि रास्वपाले ठूला दलको कार्यालय रहेको सचिवालय परिसरभित्रै व्यवस्था गर्न माग गरेको हो ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले संसद सचिवालयका महासचिवलाई सचिवालयभित्रैको २ नम्बर भवनमा व्यवस्था गरिदिन माग गरेका थिए । २ नम्बर भवनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको दलको कार्यालय छ ।
रास्वपाले सोही भवनमा आफ्नो दलको कार्यालय व्यवस्थापन गर्न माग गरेको हो । संसद् सचिवालयका कर्मचारीकाअनुसार २ नम्बर भवनभन्दा अहिले व्यवस्थापन गरिएको भवनमा अत्याधुनिक सुविधासहितका भवन छन् । तर, चौथो दल भएकाले माओवादीसँगै आफ्नो कार्यालय हुनुपर्ने रास्वपाको माग छ ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रास्वपाले अहिले व्यवस्थापन गरेको ठाउँमा असन्तुष्टि जनाउँदै सचिवालय परिसरभित्रै सारिदिन आग्रह गरेको बताए । यसमा आवश्यक परामर्श गरेर अघि बढ्ने उनले बताए ।
सचिवालयले रास्वपासहित राप्रपा, जनमत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसदका लागि हेलो सरकार रहेको भवनमा संसदीय दलका लागि कोठा व्यवस्थापन गरेको छ ।
स्वतन्त्र सांसद अमरेश सिंहका लागि लोसपाको दलसँगै, किरणकुमार साहका लागि जसपाको दलसँगै कोठा व्यवस्थापन गरिएको छ ।
नेमकिपा र जनमोर्चालाई अघिल्लोपटककै कोठा उपलब्ध गराइएको छ । कांग्रेस र एमालेलाई अलग्गै दलको कार्यालय छ ।





