अमेरिकामा भारी हिमपातले कराेडौँ मानिस प्रभावित, १८ को मृत्यु

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिस चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्। 

लाखौँ अमेरिकी क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका वेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार तीन सय ६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ।

अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्यासँग जुध्न संकटकालीन कदम चालिएको छ । चिसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन्।

अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरि १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ। 

मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडान रद्द भएका छन्।

चिसो आगामी हप्तासम्म कायम राख्ने पूर्वानुमान मौसमविद्हरूले गरेका छन्। खराब मौसमले मानिसको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ। 

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लुएसले गत शुक्रबार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चिसो रहने बताएको छ।

सुझावित समाचार