अन्तर्राष्ट्रिय भलिबलमा नेपाल श्रीलंकासँग पराजित

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

बंगलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ। ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलंकासँग ०–३ को सोझो सेटमा पराजित भएको हो।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको थियो। 

आजको खेलमा नेपालले श्रीलंकासँग पहिलो सेट २४–२६ ले गुमायो भने खेलको दोस्रो सेट १८–२५ ले गुमायो। त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेटमा नेपाल १७–२५ ले पराजित भयो। 

यही पुस ११ गतेसम्म चल्ने उक्त च्याम्पियनशिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ। नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ। उक्त खेल भोलि हुनेछ। 

सुझावित समाचार