फुर्केसल्लीका स्थानीय भन्छन्– घरमै बसेर फोन गर्ने दिन कहिले आउला ?

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

दंगीशरण गाउँपालिका– १ फुर्केसल्ली र मलईमा ६ महिना मात्र गाडी पुग्छ । दाङ उपत्यकाको दक्षिण–पश्चिमको चुरे पर्वतमा रहेको यो ठाउँलाई घना जंगलले घेरेको छ । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँका सर्वसाधारणले दाउरा सहजै प्रयोग गर्न पाउँदैनन् । बस्तीनजिकै खोलामा कलकल पानी बग्छ, तर शुद्ध खानेपानीको सुविधा छैन । 

तुलसीपुरदेखि झन्डै ४० किलोमिटर दक्षिण–पश्चिममा पर्ने यहाँका सर्वसाधारणलाई सामान्य कामका लागि पनि दाङ उपत्यका झर्नुपर्छ । पहाडको खाेँच र समथर भागमा बसोवास गर्दै आएका यहाँका नागरिक राज्यले उपेक्षा गर्दा यस्ता धेरै पीडा भोग्न बाध्य छन् । 

यहाँका अधिकांश व्यक्तिसँग एन्ड्रोइड मोबाइल छ, तर इमर्जेन्सी परेको वेलासमेत आफन्तसँग फोनमा कुराकानी गर्न पाउँँदैनन् । ‘इमर्जेन्सी पर्दासमेत परिवारका सदस्य र आफन्तसँग कुराकानी गर्न नपाउँदा मन खिन्न हुन्छ । मोबाइल टावर नहुँदा फोन गर्न घन्टाैँ हिँडेर अग्लो डाँडामा जानुपर्छ,’ दंगीशरण गाउँपालिका– १ फुर्केसल्लीका झुपलाल घर्तीले भने। 

यहाँका नागरिकले मोबाइल टावरका लागि सम्बन्धित निकायमा पटक–पटक धाए । मन्त्री, नेता, गाउँपालिकाका पदाधिकारीसँग हारगुहार गरे । तर, कसैले उनीहरूको माग सुनुवाइ गरेनन् । टावर निर्माणका लागि सम्बन्धित निकायसँग पटक–पटक माग गर्याैँ । निर्वाचनका वेला प्रचारप्रसार गर्न आएका नेतालाई भन्यौँ, तर अहिलेसम्म कसैले हाम्रो आवाज सुनेनन्,’ उनले भने, ‘अब त भन्न पनि मन लाग्दैन ।’

नेपाल टेलिकमले टावर निर्माण गर्न सर्भे टोली पठाए पनि अहिलेसम्म चासो नदिएको स्थानीय गुमानसिंह दमाईंले गुनासो गरे । ‘सर्भे गरेपछि आशा पलाएको थियो । एक वर्षसम्म नआएपछि आशा मरिसक्यो,’ उनले भने । 

फुर्केसल्लीको फोन गर्ने ठाउँ देउरालीडाँडा
दंगीशरण गाउँपालिका– १ कालितराका ६५ वर्षीय डण्डबीर विक ३ मंसिरमा दुई घन्टा हिँडेर फोन गर्न देउरालीडाँडा पुगे । उनको घरमा मोबाइलको सिग्नलले काम नगर्ने भएपछि उनी छोराछोरी, नातिनातिनीसँग कुरा गर्न देउरालीडाँडा पुग्ने गर्छन् ।

देउरालीडाँडाबाहेक अन्य अग्लो ठाउँमा मोबाइलको सिग्नलले काम गर्छ, तर त्यहाँ पुग्न अझ धेरै समय लाग्छ । ‘मोबाइलको सिग्नलले काम गर्ने भनेको देउरालीडाँडा हो, त्यहाँ पुग्न पनि दुई घन्टा लाग्छ,’ उनले भने, ‘न्यास्रो लागेपछि गाउँभन्दा टाढा रहेका परिवारका सदस्यसँग कुराकानी गर्न मन लाग्छ, तर मन लागेको वेला कुरा गर्न पाइँदैन ।’ 

दंगीशरण गाउँपालिका– १ फुर्केसल्लीमा पाहुना भएर आएकी भक्तपुरकी २६ वर्षीया निता घर्ती पनि फोन गर्न देउरालीडाँडा पुगिन् । १५ घन्टासम्म परिवारका सदस्यसँग फोन सम्पर्क नभएपछि उनी देउरालीडाँडा पुगेर फोन गरिन् । ‘१५ घन्टासम्म परिवारका सदस्यसँग कुरा नभएपछि मन आत्तियो । मन थाम्न नसकेपछि दुई घन्टा हिँडेर देउरालीडाँडा पुगेँ,’ उनले भनिन् । 

सरकारले घर–घरमा वाइफाई, हातहातमा फोन भन्ने नारा दिए पनि मलई, फुर्केसल्ली, कालितराका नागरिकलाई उक्त नाराले गिज्याइरहेको छ । यहाँका फुर्केसल्ली, हाउरे, साङ्ले, लामितरा, कोट, ठाँटी, कालितरा र बुका खोलाका एक सय ६४ परिवार मोबाइल सेवाबाट वञ्चित छन् ।

इन्टरनेट सुविधा नभए पनि मोबाइल सेवा सञ्चालन गर्न स्थानीय दुजा बुढामगरले माग गरे । ‘अहिले देशका विभिन्न स्थानमा घरमै नेट चलाउने सुविधा छ । हामीलाई घरमै बसेर फोन गर्ने सुविधा दिनुस् भन्दा कसैले सुन्दैन । घरमै बसेर फोन गर्ने दिन कहिले आउला ?,’ उनले भने । 

पाखापानीमा टावर निर्माण गर्न सर्भे, तर भएन निर्माण 
फुर्केसल्लीको पाखापानीमा टावर निर्माण गर्न नेपाल टेलिकमले सर्भे गरेर यहाँका नागरिकको आँखामा छारो हाल्ने काम गरेको वडाध्यक्ष रमेश भण्डारीले बताए । उनले सर्भे भएको ठाउँमा टावर निर्माण गरेर मोबाइल सेवा सञ्चालन गर्न माग गरेका छन् । ‘घर–घरमा नेट सेवा, हात हातमा मोबाइल फोन भन्ने नारा साकार पार्न सम्बन्धित निकायले टावर निर्माण गर्न पहल गरोस्,’ उनले भने । 
 

सुझावित समाचार