माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धनकै सरकार बन्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिएलगत्तै उनलाई संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले सरकारको नेतृत्वमा तपाईं कि शेरबहादुर देउवा भनी प्रश्न गरेका थिए।
त्यसको जवाफ दिँदै उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताए। प्रचण्डले राष्ट्रपतिबारे भने अहिले नै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे।
शपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाइ थियो। उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज शपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अब सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढ्छ । अब सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दै छौँ । राष्ट्रपतिबारे अहिले नसोध्नुस्।’
उनले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूसँगको छलफललाई पनि तीव्रता दिएका छन्।