संस्थापनबाट देउवा एक्ला दाबेदार, शेखर-गगन प्रतिष्ठाको लडाइँमा

मंगलबार, ५ पुष, २०७९
डिजिटल संस्करण

कांग्रेस संसदीय दल : आज मनोनयन, भोलि मतदान

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता र बुधबार मतदानको कार्यतालिका तय भए पनि इतर समूहले आधिकारिक उम्मेदवार सोमबारसम्म टुंगो लगाउन सकेको छैन । डा. शेखर कोइराला र महामन्त्री गगन थापाको दलको नेतामा दाबी छ । 

इतर समूहबाट सहमतिमा एक उम्मेदवार बनाउने सोमबार दिनभर कोसिस भए पनि डा. कोइराला र महामन्त्री थापाको अडान यथावत् हुँदा सम्भव भएन । मंगलबार पुनः छलफल गरेर आफ्नो समूहबाट एक उम्मेदवार बनाउन कोसिस हुने इतर समूहका नेताहरूको दाबी छ । तर, कोइराला र थापा दुवैले उम्मेदवारीलाई प्रतिष्ठाको विषय बनाएका छन् । 

उपसभापति धनराज गुरुङले सहमति गराउने प्रयास गरेको, तर दुवै नेता आफ्नो अडानबाट पछि नहट्दा सहमति जुट्न नसकेको बताए । ‘मैले नै दुईमध्ये एकजनालाई संसदीय दलको नेतामा अघि सार्नका लागि सहमति गराउने प्रयासस्वरूप छलफलमा बोलाएको थिएँ । दुवैले लड्ने अडान छाड्नुभएको छैन । तर, दुवैजनाले लचक हुने संकेत गर्नुभएको छ । हामीले दुवैजनालाई सम्झाइबुझाई गरेर पठाएका छौँ,’ उपसभापति गुरुङले भने, ‘दुईजनालाई अझै छलफल आवश्यक भए गर्नुहोस् भनेका छौँ । फेरि छलफल गर्छौँ र उम्मेदवारी दिने समयसम्म हाम्रो समूहबाट एकजना मात्र उम्मेदवार हुनुहुनेछ ।’ 

पहिला तपाईंहरू मिल्नुस् भनेका छौँ : धनराज गुरुङ, उपसभापति
मैले नै दुईमध्ये एकजनालाई संसदीय दलको नेतामा अघि सार्नका लागि सहमति गराउने प्रयासस्वरूप छलफलमा बोलाएको थिएँ । दुवैले लड्ने अडान छाड्नुभएको छैन । तर, दुवैजनाले लचक हुने संकेत गर्नुभएको छ । हामीले दुवैजनालाई सम्झाइबुझाई गरेर पठाएका छौँ । दुईजनालाई अझै छलफल आवश्यक भए गर्नुहोस् भनेका छौँ । फेरि छलफल गर्छौँ र उम्मेदवारी दिने समयसम्म हाम्रो समूहबाट एकजना मात्र उम्मेदवार हुनुहुनेछ ।

कोइराला र महामन्त्री थापा दुवै संसदीय दलको नेतामा लड्ने अडानबाट टसमस नभएपछि इतर समूहमा संकट देखिएको छ । बैठकमा कोइरालाले १४औँ महाधिवेशनको मर्मअनुसार पनि आफ्नो दाबी स्वाभाविक रहेको जिकिर गरेका थिए । उनले समूहको हितका लागि पनि आफूले उम्मेदवारी दिनुपर्ने जिकिर गरेका थिए । ‘१४औँ महाधिवेशनको मर्मले पनि मलाई पछि हट्ने अवस्था छैन । समूहको हितका लागि सबै आधारमा तपाईंहरूको राय के रहन्छ, म त्यो मान्न तयार छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने । १४औँ महाधिवेशनमा इतर समूहबाट कोइराला सभापतिमा लडेका थिए । 

बैठकमा महामन्त्री थापाले चुनावमा एजेन्डाका रूपमा लिएर गएकाले इतर समूहबाट आफूलाई निर्वाचन लड्ने वातावरण तयार गर्न आग्रह गरेका थिए । एक नेताका अनुसार महामन्त्री थापाले इतर समूहको अस्तित्वका लागि पनि यसतर्फ विचार गर्न भनेका थिए । ‘चुनावमा मैले जनतामाझ यही एजेन्डा लिएर गएको थिएँ । म टिमसँगै छु, निर्वाचन लड्ने वातावरण तयार गर्नुस्,’ महामन्त्री थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

इतर समूहका एक नेताका अनुसार निर्वाचन परिणाम आफ्नो पक्षमा पर्ने सम्भावना नरहे पनि कोइराला र थापाले भविष्यका लागि उम्मेदवारीलाई प्रतिष्ठा बनाएको बताए । कोइरालाले आफूले इतर समूहको नेतृत्व गरेकाले महामन्त्री थापा उठ्ने अवस्थामा आफू पनि उठ्नैपर्ने बाध्यता देखेको ती नेताले बताए । महामन्त्री थापाले निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेकाले पनि संसदीय दलमा चुनौती दिनैपर्ने बाध्यतामा छन् ।

‘जित्ने र पद पाउने अवस्था छैन, तर दुवैलाई प्रतिष्ठाको विषय बनेको छ,’ इतर समूहका एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिलेका लागि भन्दा भविष्यका लागि उम्मेदवारी बन्न खोजेको देखिन्छ ।’ एकजुट भएर निर्वाचनमा नगए त्यसको सीधा लाभ संस्थापनलाई पुग्ने इतर समूहकै नेताहरूको बुझाइ छ । 

मंगलबार पनि सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् । सहमहामन्त्री जीवन परियारले आफूहरूले दुई नेतालाई सँगै राखेर मिल्न दबाब दिएको र दुवैको दाबी निरन्तर रहकोले निष्कर्षमा पुग्न नसकेको बताए । ‘हामीले व्यक्ति तोकेर दबाब दिएनौँ, तर समूहका लागि र १४औँ महाधिवेशनको मर्मलाई पनि बुझेर दुईमध्ये एकजनाको नाममा सहमति जुटाउनुस् भनेका छौँ,’ सहमहामन्त्री परियारले भने, ‘मंगलबार बिहान छलफल गर्छौँ । उम्मेदवारी दिने समयसम्ममा एकजनामा सहमति जुटाउने प्रयास जारी रहन्छ ।’ 

इतर समूहका नेताले सोमबार दुई नेतालाई सहमतिमा ल्याउन दुई छुट्टाछुट्टै बैठक राखेका थिए । बिहान १० बजे टंगालस्थित एक रेस्टुरेन्टमा दुई घन्टा छलफल गरेका थिए । तर, छलफलबाट टुंगो लागेन । छलफलमा सहमहामन्त्री बद्री पाण्डेसमेत सहभागी थिए । दिउँसो उपसभापति गुरुङले दुवै नेतासहित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदलाई लाजिम्पाटस्थित होटेल एम्बेस्डरमा बोलाएका थिए । दिउँसो २ बजेबाट करिब चार घन्टा लामो छलफल भएको थियो । छलफलमा नेताहरू चन्द्र भण्डारी, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी थिए । तर, दुवै नेतालाई मिलाउन लागिपरेका गुरुराज घिमिरे, अमरसिंह पुन, डा. गोविन्द पोखरेललगायतका नेता भने सहभागी भएनन् । मंगलबार बिहान ८ बजे दुई नेताबीच छलफलको समय तोकिएको छ । 

पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला दाबेदार भएका छन् । आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट लगभग पछि हटेका छन् ।

घोषित रूपमा अरू नेताको आकांक्षा छैन  िएनपी साउद, संस्थापन समूहका नेता

पार्टी सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन । सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।

देउवानिकट नेता एनपी साउदले संस्थापनबाट सभापति देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रगति भएको बताए । ‘सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन,’ उनले भने, ‘सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।’

संस्थापनबाट आकांक्षा राखेकामध्ये वरिष्ठ नेता पौेडेलले पनि आफू उम्मेदवार बन्ने–नबन्ने टुंगो लागिनसकेको बताए । ‘अहिलेसम्म टुंगो लागिसकेको छैन । साथीहरूसँग छलफल गरिरहेको छु,’ उनले सोमबार साँझ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै भने ।

शशांक कोइरालाले पनि सभापति देउवा नै संसदीय दलको नेतामा उपयुक्त हुने अभिव्यक्ति दिँदै आएका छन् । नेता प्रकाशमान सिंह सभापति देउवासँग निरन्तर छलफलमा छन् । सिंहनिकट स्रोत भन्छ, ‘उहाँले कुनै तयारी गर्नुभएको छैन । उहाँ सभापतिज्यूसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । सभापतिज्यू लड्ने अवस्थामा उहाँलाई नै सघाउने मनस्थितिमा हुनुहुन्छ ।’

सभापति देउवा तीनैजना नेतासँग उनीहरूको व्यवस्थापनलाई लिएर संवादमा छन् । सभापति देउवा आकांक्षी नेता र सांसदसँग छलफल गरिरहेका छन् । ‘महत्वपूर्ण नेता र सबै सांसदसँग भेटघाट र सम्पर्कमा हुनुहुन्छ,’ साउदले भने । 

यसरी चुनिन्छ कांग्रेसमा संसदीय दलको नेता

कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ । 

दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । 

पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ । 

निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ । शनिबार कांग्रेस कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा २४ प्रत्यक्ष (महामन्त्री विश्वप्रकाश शर्मासमेत गरी । शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन् ।) र, १० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन् । 

सुझावित समाचार