सडक र सञ्चारको विस्तारसँगै आएको आधुनिकताका कारण गाउँठाउँमा धेरै कुराको परिवर्तन भएको छ। तर, पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ग्रामीण इलाकामा भने हाटबजारले स्थानीय मौलिकता जोगाएको छ।
जिल्लाका धेरै गाउँमा अझै पनि हाटबजार कायमै छन्। जिल्ला सदरमुकाम खाँदबारीमा बुधबारे र शनिबारे तथा तुम्लिङटारमा शुक्रबारे हाट लाग्ने गर्दछ। त्यसैगरी, मानेभञ्ज्याङ र मुढेशनिश्चरेमा शनिबार हाट लाग्ने गर्दछ भने गाउँका साना बजारमा पनि साप्ताहिक हाटबजार लाग्ने गरेको छ।
जिल्लामा विशेष गरी चाडपर्वको अवसरमा हाट लाग्ने गर्छ। खाँदबारी– ९ मनकामनामा मंसिरे पूर्णिमा एकादशी मेला, चैनपुरस्थित सिद्धकाली मन्दिरमा बाला चतुर्दशी मेला र बानेश्वर मेला तथा भोटखोला– ४ मा माघ १ गते बरुण मेला यहाँका प्रमुख धार्मिक मेला तथा हाटबजार हुन्। उक्त हाटबजारमा किसानहरू आफ्ना उत्पादन लिएर बिक्रीका लागि पुग्छन्। साग, सिस्नु, गुन्द्रुक, सिन्की, अचार, खुर्सानी, बेसार, दलहनदेखि सुँगुर, बंगुरका पाठापाठी र कुखुरा–बाख्रासम्म हटियामा किनबेच हुन्छ।
परम्परादेखि लाग्दै आएका यस्ता हाटबजारमा किनबेचसँगै दौँतरीलाई भेटेर गफगाफ पनि चल्छन्। यी साप्ताहिक रूपमा लाग्ने हाटबजारदेखि विभिन्न चाडपर्वमा लाग्ने मेला र हाटबजारले पनि अर्को रौनकता थप्नुका साथै मौलिकता पनि जोगाएको जिल्लाका अग्रज पत्रकार गोरखापत्र संस्थानका पूर्वअध्यक्ष डा. मातृका तिम्सिना बताउँछन्। ‘गाउँठाउँमा लाग्ने यस्ता हाटबजार र मेलाहरू साथीसंगीहरूको भेला हुने ठाउँ बन्ने गरेकन छन्। चाडपर्वको अवसरमा लाग्ने मेलाहरूलाई अझै हौसला दिनुपर्छ,’ तिम्सिनाले भने।
विगतमा संखुवासभाका गाउँपिच्छे बार, तिथि र मितिका आधारमा लाग्दै आएका हाटबजार सशस्त्र विद्रोहका कारण प्रभावित भएका थिए। पछिल्लो समय यस्ता हाटबजारलाई पुनः सञ्चालन गर्न थालिएको छ। ग्रामीण क्षेत्रका नागरिकहरू हाटबजारमा आफ्ना उत्पादन ल्याएर बिक्री गरी नुनतेलजस्ता आवश्यक सामग्री किनेर लैजान्छन्। यस्ता हाटबजार उत्पादक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने माध्यमसँगै मौलिक संस्कृति र सभ्यताको निरन्तरता बनेका छन्।
यस्ता हाटबजार सञ्चालन हुँदा स्थानीय उत्पादनहरूको खपतसमेत हुने गरेको छ। हाट बजारको निरन्तरता हुँदा स्थानीय उत्पादनको पहिचानसमेत अन्य ठाउँसम्म पुग्न थालेका छन्। पछिल्लो समय बजार क्षेत्रका मानिसहरूसमेत गाउँघरमा लाग्ने हाटबजारमा सामान खरिद गर्न पुग्न थालेका छन्।