प्रदूषणबाट यसरी जोगाऔँ आँखा

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण
डा. अर्चना बुढाथोकी, आँखारोग विशेषज्ञ  एभरेस्ट अस्पताल

जाडो मौसममा वातावरण सुक्खा हुन्छ र जमेर बसेको धुलो तथा फोहोर उड्न थाल्छ । जसकारण विभिन्न समस्या देखिन्छन् । काठमाडौंलगायत सहरी क्षेत्रमा हावाको गुणस्तर राम्रो छैन । त्यसैले सहरी क्षेत्रमा बस्नेहरूलाई आँखासम्बन्धी समस्या धेरै देखिने गरेको छ । कार्बन मनोअक्साइड, नाइट्रोजन डायअक्साइड, हावामा रहेका डस्ट पार्टिकल तथा घामको विकिरणले पनि आँखामा समस्या निम्त्याउने गरेको छ । विशेषगरी, बच्चा र वृद्धवृद्धामा यो समस्या धेरै देखिने गरेको छ । प्रदूषित वातावरणका कारण आँखा रातो हुने, इरिटेसन हुने, आँखा चिलाउने, सुक्खा हुनेलगायत समस्या देखिने गरेका छन् । केही मानिसमा आँखा सुन्निने पनि हुन्छ । 

आँखाको सुरक्षा गर्नका लागि हामीले केही उपाय अपनाउन सक्छौँ । जस्तो, आँखा चिलाएको अवस्थामा पनि आँखालाई माड्न वा रगेट्नु हुँदैन । यस्तो स्थितिमा आँखालाई पानीले धुनुपर्छ । एकबिहानै तथा साँझ घरबाहिर धेरै निस्कनु हुँदैन । यस समय अत्यधिक कुहिरो लागेको हुन्छ । डस्ट पार्टीकल तथा टक्सिन पार्टीकल हावामा घुमिरहेका हुन्छन् । यस समय बाहिर जानैपरेमा चस्मा लगाएर जानुपर्छ ।

ग्याजेटले बालबालिकाको आँखा सुक्खा बनाउँछ

अहिले विश्वकप चलिरहेको छ । धेरैजना मध्यरातसम्म टिभीअगाडि बसेर फुटबल हेर्नुहुन्छ । कहिलेकाहीँ राति खेल हेर्दा रमाइलै हुन्छ । तर, सधैँ यसरी टिभी वा ग्याजेटअगाडि झुम्मिनु स्वास्थ्यका लागि प्रतिकूल छ । यसले आँखा सुक्खा हुने समस्या निम्त्याउँछ । 

सामान्य अवस्थामा प्रतिमिनेट झन्डै १२ देखि २० पटकसम्म आँखा झिम्किरहेको हुन्छ । तर, हामीले टिभी वा ग्याजेटअगाडि बस्दा लामो समयसम्म आँखा झिम्किरहेको हुँदैन । मिनेटमा एक वा दुईपटक मात्रै झिम्कन्छ । जो, आँखाको स्वास्थ्यका लागि हानिकारक छ । यसले आँखालाई सुक्खा बनाउँछ । 

घन्टौँसम्म टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने तपाईंले आँखाको सुरक्षाका लागि ‘२०–२० नियम’ फलो गर्न सक्नुहुन्छ । यस नियमले २० मिनेट कम्प्युटरमा बसेपछि तपाईंले २० सेकेन्ड आँखा चिम्लनु वा २० फिट टाढा हेर्नुपर्छ भन्छ । 

आँखा सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थि ब्लक हुने समस्या कम गर्न तपाईंले आई मसाज पनि गर्न सक्नुहुन्छ । त्यस्तै, चिकित्सकको सल्लाह लिएर मलम लगाउने, आई ड्रप प्रयोग गर्ने तातो पानीले सेक्ने पनि गर्न सक्नुहुन्छ । 

मोबाइलको असरलाई कम गर्न ब्लु कट लेन्स पनि युज गर्न सकिन्छ । मोबाइलबाट आउने ग्रिन रेहरूलाई यसले कम गर्छ । १०० प्रतिशत ब्लक नगरे पनि ९० प्रतिशतभन्दा धेरै ब्लक गर्छ । 

एसी वा फ्यान पनि सीधै आँखाकै अगाडि प्रयोग गर्न हुँदैन । यसले पनि आँखा सुक्खा गराउँछ । भिटामिनयुक्त खाना जस्तै– हरियो सागसब्जी÷गाँजर खाने गर्नुपर्छ । यसको कमीले पनि आँखा कमजोर हुन्छ । बच्चा र वृद्धवृद्धाले यस मौसममा धेरैभन्दा धेरै झोलिलो खानेकुरा लिनुपर्छ । यसले आँखालाई हाइड्रेट गर्ने तथा आँखाका माध्यमबाट शरीरभित्र छिरेका टक्सिन पार्टीकललाई बाहिर निकाल्ने काम गर्छ । 

See More On

सुझावित समाचार