‘विधि मिचेर’ उदयपुर सिमेन्टमा महाप्रबन्धकको कार्यकाल थप

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यकाल एक वर्ष थप गरेको छ । २० पुस ०७७ मा दुईवर्षे कार्यकालका लागि नियुक्त भएका महाप्रबन्धक न्यौपानेको कार्यकाल २० पुसमा सकिन लागेको थियो । तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रस्तावमा गत ७ असोजको मन्त्रिपरिषद् बैठकले उनको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको हो । कार्यकाल थपको पत्र उनले गत बुधबार प्राप्त गरेका छन् । 

उद्योग मन्त्रालयमातहतका संस्थानहरूमा पदाधिकारी नियुक्ति गर्ने निर्देशिका नै संशोधन गरेर न्यौपानेको कार्यकाल थप गरेको पाइएको छ । उद्योग मन्त्रालयले मातहतका संस्थानमा अध्यक्ष, महाप्रबन्धक र सदस्यहरू नियुक्ति गर्नका लागि ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका’ जारी गरेको छ । 

०७७ को निर्देशिकाले संस्थानको अध्यक्ष, महाप्रबन्धक र सञ्चालक समिति सदस्यहरूको कार्यकाल दुई वर्षको हुने व्यवस्था गरेको थियो । सोहीबमोजिम दुईवर्षे कार्यकालका लागि न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरिएको थियो । तर, पछिल्लोपटक यो निर्देशिकालाई संशोधन गर्दै संस्थानको अध्यक्ष, महाप्रबन्धक र सञ्चालक समिति सदस्यहरूको कार्यकाल तीन वर्षको हुने व्यवस्था गरिएको छ । 

०७८ मा नयाँ निर्देशिका जारी भएकाले सोहीअनुसार महाप्रबन्धक न्यौपानेको कार्यकाल थप गरिएको उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको जिकिर छ । व्यवस्थापकीय कमजोरीले उद्योग नोक्सानमा चार वर्षअघि नाफामा सञ्चालन भएको उदयपुर सिमेन्ट त्यसयता निरन्तर नोक्सानीमा चल्न थालेको छ । आर्थिक वर्ष ०७७/७८ मा उद्योगले ३० करोड ६० लाख नोक्सान व्यहोरेको छ । उक्त आवसम्ममा उद्योगको सञ्चित नोक्सान पाँच अर्ब ४४ करोड पुगिसकेको छ । दैनिक आठ सय १० टन सिमेन्ट उत्पादनको क्षमता भएको उद्योग पछिल्लो समय आधा क्षमता पनि चल्न छाडेको छ । विगतका दसैँ–तिहारमा कर्मचारीले दोब्बर तलब, सुविधा लिएर उद्योग सञ्चालन हुने गरेकोमा यसपटक दसैँ–तिहारमा उद्योग बन्द गरियो ।

व्यवस्थापकीय कमजोरी लुकाउन दसैँ–तिहार, चुनावलगायत बहाना पारेर बारम्बार उद्योग बन्द गर्दै आएका महाप्रबन्धक न्यौपानेविरुद्ध उद्योगमा कार्यरत चारवटै ट्रेड युनियनहरूले नियमित रूपमा उद्योग सञ्चालनको माग राख्दै बारम्बार हडताल गर्दै आएका छन् । पछिल्लो एक सातादेखि भने उद्योग सञ्चालनमा छ । महाप्रबन्धक न्यौपानेले मेसिनरी पार्टपुर्जा मर्मतका लागि उद्योग बन्द गर्नु सामान्य भएको बताउँदै आगामी दिनमा निरन्तर उद्योग चल्ने दाबी गरे । 

नयाँ निर्देशिकाअनुसार समय थपिएको हो, अन्यथा केही होइन : दिलेन्द्रप्रसाद बडू, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
संस्थानमा नियुक्ति गर्नेसम्बन्धी मापदण्ड ०७७ अनुसार उदयपुर सिमेन्टका महाप्रबन्धकले नियुक्ति लिएका रहेछन् । तर, ०७८ मा यो निर्देशिका मन्त्रिपरिषद्बाट पारित भएको रहेछ । र, नयाँ निर्देशिका बन्दाखेरि पुरानो स्वतः खारेज भएको र अबका सबै व्यवस्था नयाँ निर्देशिकाअनुसार भए–गरेको मानिनेछन् भन्ने व्यवस्था भएको पाइयो ।

त्यसपछि मन्त्रालयको कानुन शाखाको सल्लाहअनुसार उदयपुर सिमेन्टको महाप्रबन्धकको समयावधि पनि मिलान भएको हो । महाप्रबन्धकको समयावधि थप भएको होइन, मिलान गरिएको हो । योभन्दा अन्यथा भएको भए पनि महाप्रबन्धक अदालत गएर म्याद थप गर्न सक्ने अवस्था पनि देखिन्छ । त्यसपछि मन्त्रिपरिषद्मै लगेर उहाँको म्याद थप गरिएको हो ।

म राम्रो गर्नतिर लागेको छु : गोपीकृष्ण न्यौपाने, महाप्रबन्धक, उदयपुर सिमेन्ट उद्योग लिमिटेड
मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर कार्यकाल थप गरी मलाई थप जिम्मेवारी दिएको महसुस गरेको छु । मैले उद्योगको विकासका लािग काम गरिरहेको छु ।

कुन विधि, प्रक्रियाबाट मेरो कार्यकाल थपियो भन्ने कुरा माननीय मन्त्रीज्यू र मन्त्रिपरिषद्लाई नै सोध्नुस् । यसमा मेरो केही भनाइ छैन ।

तर, आउँदा दिनमा उद्योगलाई थप बलियो बनाउने गरी काम गर्ने दिशामा जानेछु । एकातिर सिमेन्टको भाउ घट्ने, अर्कातिर कच्चा पदार्थको भाउ बढ्ने प्रवृत्तिबीच बिक्री बढाउने चुनौतीपूर्ण काममा लागेको छु ।

निर्देशिकाविपरीत कार्यकाल थप

निर्देशिकामा कार्यसम्पादन मूल्यांकन ७५ प्रतिशतभन्दा माथि भएको खण्डमा दुई वर्षसम्म अवधि थप्न सक्ने व्यवस्था छ । तर, उनको कार्यसम्पादन मूल्यांकन नगरी कार्यकाल थप गरिएको हो । कार्यसम्पादन मूल्यांकनको काम भने भइरहेको मन्त्रालयले जनाएको छ । तर, महाप्रबन्धक न्यौपानेको व्यवस्थापकीय कमजोरीका कारण उदयपुर सिमेन्ट बारम्बार बन्द हुने गरेको छ, पूर्ण क्षमतामा उद्योग चल्न सकेको छैन ।

जसकारण उनको कार्यसम्पादन मूल्यांकनमा ७५ प्रतिशतभन्दा बढी अंक आउन सक्ने अवस्था नभएको मन्त्रालयका एक अधिकारीले बताए । न्यौपानेको कार्यसम्पादन मूल्यांकन ७५ प्रतिशत नकट्ने देखिएपछि नै निर्देशिकामा भएको कार्यकालसम्बन्धी अवधि नै बढाएर कार्य अवधि थप गरिएको स्रोतको भनाइ छ ।

सार्वजनिक संस्थान निर्देशन बोर्डका तत्कालीन अध्यक्षसमेत रहेका पूर्वसचिव विमल वाग्ले आफ्ना मान्छेलाई सहज हुने गरी निर्देशिका संशोधन गर्नु नै लगत भएको बताउँछन् । ‘संस्थानमा नियुक्तिका लागि बनाइएका निर्देशिका देखाउने दाँत मात्र भए,’ उनले भने, ‘आफ्ना मान्छेअनुकूल निर्देशिका बनाउने, त्यो पनि भएन भने निर्देशिका नै संशोधन हुनु भनेको संस्थानहरू कमजोर पार्ने मनसाय हो ।’ 

सुझावित समाचार