मधेसमा आफू नेतृत्वको सरकारको निरन्तरताका लागि जसपाको जोडबल

शनिबार, २ पुष, २०७९
डिजिटल संस्करण

सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धन संघ र प्रदेशमा आफू नेतृत्वको सरकार निर्माणका लागि समीकरण मिलाउन सक्रिय रहँदा जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशमा नेतृत्व लिन पहल गरेको छ। संघमा जस्तै मधेस प्रदेशमा पनि दुवै गठबन्धनलाई सरकार निर्माणको लागि बहुमत नपुगेपछि जसपाले पुनः मधेस प्रदेश सरकारको नेतृत्व लिने गरी पहल थालेको हो।

एमालेसहितका गठबन्धनभन्दा सत्तारुढ गठन्धनसँग तालेमेल गरी संघीय सरकारमा जाने र प्रदेशमा आफ्नो नेतृत्वमा सरकारका लागि लबिङ भइरहेको जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताए। मधेसमा आफ्नो सरकारलाई निरन्तरता दिने गरी सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल भइरहेको बताउँदै उनले भने, ‘संघीय सभामा हुने सत्तासमीकरणकै अधारमा प्रदेशको सरकार बन्ने भएकाले अहिले विभिन्न सम्भावित पक्षहरुमा छलफल भइरहेको छ।’

चुनावसँगै एमालेसँगको तालमेल सकिएको उल्लेख गर्दै उनले भने, ‘एमालेसँगको चुनावी तालमेल अव समाप्त भइसकेको छ। त्यसैले प्रदेश सरकारमा निरन्तरता पाउने गरी हामी सत्तारुढ गठबन्धनका दलसँग सकारात्मक रुपमा छलफल गरिरहेका छौं।’ यसअघि सत्तारुढ गठबन्धनसँग सहकार्यमा जानसक्ने संकेत अध्यक्ष उपेन्द्र यादवले पनि गरिसकेका छन्।

प्रत्यक्षतर्फको मतपरिणाम आइरहेकै बेलामा अध्यक्ष यादवले एमालेसँगको चुनावी तालमेल समाप्त भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। यद्यपि, सो पार्टीका परिषद अध्यक्ष अशोक राईले भने अध्यक्षको व्यक्तिगत धारणा भनेर खण्डन गरिसकेका छन्। एमाले, माओवादीसहितका दल मिलेर संघीयमा सरकार बनाएको खण्डमा पनि मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार निरन्तता कसरी बनाउने भन्ने विषयमा पनि जसपाभित्र छलफल भइरहेको जसपाका एक नेताले बताए। दुवै गठबन्धनमा जसपाको सत्ता समीकरणको बाटो खुल्ला रहेको उनको भनाइ थियो।

संघमा सरकार बनाउन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु जसपा अध्यक्ष यादवसँग निरन्तर सम्र्पकमा छन्। तर यादवले मधेस प्रदेशमा आफ्नो दलको नेतृत्वको सरकार बन्नुपर्ने माग गर्दै आएका छन्। जसपाको मागप्रति सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका जसपाका एक नेताले दाबी गरे।

यस कारण मधेस प्रदेशमा दाबी गर्दै जसपा
जसपा सत्तारुढ गठबन्धनमा सहभागी हुँदा संघीय सरकार निर्माणका लागि बाटो सहज हुने भएकाले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु जसपा अध्यक्ष यादवको प्रस्तावमा सहमत देखिएका जसपाका एक नेताले बताए। सत्तारुढ गठबन्धनमा जसपा सहभागी भएपछि कांग्रेस तीन, माओवादी केन्द्र दुई तथा एकीकृत समाजवादी र जसपाले एक÷एक प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको उनको दाबी छ।

मधेश प्रदेशमा कांग्रेस २२, जसपा १६, लोसपा ९, माओवादी केन्द्र ८, एकीकृत समाजवादी ७ गरी सत्तागठबन्धनसँग कुल ६२ सांसद छन् भने एमालेसँग २३ र जनमत पार्टीसँग १३ सांसद छन्। जसपा सत्तागठबन्धनमा सहभागी भए मधेसमा उसको बलियो सरकार बन्ने देखिन्छ। जसपा छाडेर जनमतलाई सरकारमा सहभागी गराए सत्तारुढ गठबन्धनले प्रदेश १ गुमाउनुपर्ने अवस्थाबाट जसपाले फाइदा लिन खोजेको छ। सरकार बनाउन सत्तारुढ गठबन्धनलाई प्रदेश १ मा एक सिट अपुग छ। एमाले, राप्रपासहितको गठबन्धन पनि त्यही अवस्थामा छ। यहाँ जसपाले जसलाई सहयोग गर्यो, उसैको सरकार बन्ने निश्चित छ।

यता, लुम्बिनी प्रदेशमा पनि सत्तारुढ गठबन्धनलाई सरकार बनाउन जसपाको सहयोग आवश्यक छ। संघीय सरकारमासमेत जसपालाई सहभागी गराए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीको समर्थन बिना नै सत्तागठबन्धनले सरकार बनाउन सक्नेछ। रास्वपा र जनमत नयाँ पार्टी भएकाले पनि उनीहरुसँग दलहरुको केमेस्ट्रि मिलिसकेको छैन। यस्तोमा माओवादी केन्द्र र एकीकृत समाजवादीले जसपालाई गठबन्धनमा सहभागी गराउन जोड दिइरहेका ती नेताको दाबी छ।

अहिले मधेस प्रदेशमा जसपाको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको सरकार छ। निर्वाचनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि अन्तिम समयमा एमालेसँग चुनावी सहकार्य गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाएका थिए। त्यसको काउन्टरमा जसपा अध्यक्ष यादवको निर्देशनमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट पनि कांग्रेसका मन्त्रीहरुलाई हटाएका थिए। यद्यपि, गठबन्धनकै दल माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरु सरकारमै छन्।

स्रोतका अनुसार प्रचण्ड, नेपाल र यादवबीच अहिलेको समीकरणलाई नयाँ बन्ने प्रदेश सरकारसम्मै लैजाने भ्रद सहमति भएको थियो।

जसपाबाट मुख्यमन्त्रीका आकांक्षी यादव दिल्लीमा 
मधेस प्रदेशमा आफ्नो नेतृत्वको सरकार निर्माणका लागि जसपाका नवनिर्वाचित प्रदेश सांसद तथा निवर्तमान प्रदेश सभामुख सरोजकुमार यादव दिल्ली पुगेका छन्।

मधेस प्रदेशमा जसपा नेतृत्वको लागि दलहरुबीच सहमतिको वातावरण निर्माण गर्न उनी दिल्लीमा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका उनी निकट अर्का नेताले बताए। यादवले मधेस प्रदेशमा आफ्नो नेतृत्वमा जसपाको सरकार गठन हुने वातावरण बनाइदिन भारतीय नेताहरुसँग लबिङ गरिरहेको ती नेताको दावि छ।

सुझावित समाचार