अक्सर विश्वकपका आयोजक राष्ट्र प्रतियोगिता अवधिभरि दर्शकको अभद्र व्यवहारमाथि कसरी नियन्त्रण राख्ने चिन्तामा हुन्थे । विशेष गरी जर्मनी, वेल्स, इंग्ल्यान्ड र दक्षिण अमेरिकी राष्ट्रका समर्थक उग्र रूपमा प्रस्तुत हुन्थे । टोली अप्रत्याशित रूपमा पराजित हुँदा समर्थकले उपद्रो व्यवहार गर्थे । तर, यसपटक यस्तो केही पनि घटना भएनन् ।
२२औँ संस्करणको कतार विश्वकपमा जर्मनी, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र वेल्सका हुल्याहा दर्शकबाट यस्तो केही पनि गतिविधि गरेनन् । यद्यपि, वेल्स र इंग्ल्यान्ड एकआपसमा भिड्नुअघि यी समर्थकबीच झडप भएको थियो । त्यसयता, समर्थकहरूले कुनै पनि खेलमा उपद्रो व्यवहार देखाएनन् । इंग्ल्यान्ड क्वार्टरफाइनलबाट घर फर्किंदासमेत इंग्लिस समर्थक शान्त रूपमै रंगशालाबाट फर्किए । कतारको प्रहरीले इंग्ल्यान्ड र फ्रान्सबीचको खेलअगाडि नै रंगशालाभित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरेको थियो ।
फ्रान्सबाट २–१ ले पराजित भएको इंग्ल्यान्डका खेलाडीले पनि सहजै नतिजा स्विकारे । खेलाडी मात्र नभएर समर्थकले समेत हारलाई सहज रूपमा लिए । जसका कारण रंगशालाभित्र र बाहिर इंग्लिस दर्शकले हुलदंगा मच्चाएनन् । सो खेलमा कसैलाई पनि हिरासतमा नलिएको प्रहरीले जनाएको छ ।
‘हामीलाई इंग्ल्यान्डसँगको खेलमा कस्तो नतिजा आउँछ भन्ने डर थियो, उनीहरूका समर्थक शान्त रूपमै मैदानबाट बाहिरिए,’ कतारी प्रहरीले विज्ञप्ति जारी गर्दै भन्यो, ‘अहिलेसम्म हामीले एकजना समर्थक पनि समातेका छैनौँ, यसलाई अनौठो नै मान्नुपर्छ ।’
यसबीचमा पाँच सय ३१ फुटबलसम्बन्धी स–साना घटना भएको प्रहरीको भनाइ छ । तर, बेलायतमा भने इंग्ल्यान्ड पराजित भएपछि एक सय ५० जना समर्थक समातिएका छन् । युके फुटबलले विश्वकपमा समर्थकहरूले देखाएको व्यवहारको सम्मान गरेको छ । सन् २०१८ को विश्वकपमा तीनजना इंग्लिस समर्थक पक्राउ परेका थिए । ‘यसपटकको विश्वकपमा समर्थकबाट अनुचित व्यवहार भएन, उनीहरूको हामी सम्मान गर्छौं,’ कतार फुटबल संघले भन्यो, ‘विश्वकपलाई सभ्य रूपमा समापन गर्नमा समर्थकहरूको योगदान धेरै छ ।’ सन् २०१८ को विश्वकपमा दुई सय २५ फुटबलसम्बन्धी घटना भएका थिए ।