काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई दर्जनभन्दा बढी घाइते छन् ।
घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकले जनाएका छन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन । बसमा कति यात्रु थिए भन्ने पनि खुल्न नसकेको प्रजिअ पाण्डेको भनाइ छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले मृत्यु भएकाहरूको शव शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पठाइएको जानकारी दिए ।
आज साँझ सवा ६ बजे काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा बा. ३ख ४३८५ नम्बरको बस भित्तामा ठोक्किएपछि सडकबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार बसमा बेथानचोक– ५ च्याल्टीमा ब्रतबन्ध (छेवर)मा सहभागी भएर फर्किएका बनेपा ११ सल्लेका यात्रु चढेका थिए ।
ठूलो संख्यामा हताहती र घाइते भएपछि उद्दारमा समय लागेको स्थानीयले बताएका छन् । दुर्घटनालगत्तै नजिकैका स्थानीयले विरामीहरूलाई अस्पताल पठाउन सुरु गरेका थिए ।
केही समयपछि पुगेका सुरक्षाकर्मीले पनि घाइतेलाई उद्दार गरी अस्पताल पठाएपछि मात्र शव निकाल्न थालिएको थियो ।
शिर मेमोरियलमा एकाएक घाइतेहरू ल्याइपुर्याइँदा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भएको थियो । एकपछि अर्को गर्दै घाइते थपिएपछि स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मी हस्याङफस्याङमा देखिन्थे ।
बेड अभाव हुँदा केहीलाई भुइँमै राखेर उपचार गरिएको थियो । शव निकाल्न दुईवटा डोजरको प्रयोग गरिएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए । डोजरको सहायतामा बसभित्र रहेका तथा बसले थिचेका शव निकालिएको थियो ।