विश्वकप फुटबल प्रतियोतिगामा खेलाडीले कुनै न कुनै रेकर्ड आफ्नो नाममा राखेका हुन्छन् । विश्वकपमा यस्तै रेकर्ड इक्वेडरका इभान हुर्टाडोले राखेका छन् । विश्वकपमा सबैभन्दा धेरै छनोट खेल खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा छन् । उनले दक्षिण अमेरिकी विश्वकपमा ६८ पटक छनोट खेलमा सहभागिता जनाए । उनले इक्वेडरको राष्ट्रिय टोलीबाट सन् १९९२ देखि २०१४ सम्म रहँदा सो रेकर्ड बनाएका हुन् ।
दक्षिण अमेरिकी फुटबलमा इभान दोस्रो राष्ट्रिय टोलीबाट धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीमा पर्छन् । उनले एक सय ६८ पटक इक्वेडरको राष्ट्रिय टोलीको जर्सीमा प्रतिस्पर्धा गरेका थिए । गत डिसेम्बरमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले इभानको रेकर्ड तोडेका थिए । मेसीले राष्ट्रिय टोलीबाट एक सय ७० खेलमा सहभागिता जनाएका छन् । मेसीले यसक्रममा ९५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
इभानले इक्वेडरबाट पाँचपटक अन्तर्राष्ट्रिय गोल आफ्नो नाममा राखेका छन् । इक्वेडरको फुटबल इतिहासमा युवा खेलाडीका रूपमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने उनी एकमात्र खेलाडी हुन् । इक्वेडरको राष्ट्रिय टोलीमा छनोट हुँदा उनको उमेर १७ वर्ष २८५ दिन थियो । लामो समय दक्षिण अमेरिकी क्लबमै बिताएका इभानले बार्सिलोना एससीबाट पनि प्रतिस्पर्धा गरे ।
उनले पाँच सय ९५ क्लबको खेलमा २२ गोल गरे । सन् २०१४ को विश्वकप छनोटपछि उनले सन्न्यास लिने घोषणा गरे । डिफेन्डर खेलाडी भए पनि उनी एट्याकिङ मिडफिल्डरका रूपमा अगाडि बढ्थे ।