बंगलादेशमा विपक्षी दलका सांसदले गरे सामूहिक राजीनामाको घोषणा

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध आन्दोलनमा रहेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलका सांसदले सामूहिक राजीनामाको घोषणा गरेका छन् । राजधानी ढाकामा शनिबार बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का करिब एक लाख समर्थक विरोधका लागि जम्मा भएका थिए । विरोधसभाबाट बिएनपीका सबै सात सांसदले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् । यद्यपि, प्रधानमन्त्री हसिनाको दलसँग दुईतिहाइभन्दा बढी बहुमत छ ।   

पश्चिमा मुलुक र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । बंगलादेश एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो । तर, युक्रेन युद्धले यहाँको सरकारलाई ग्यास तथा डिजेल आयात घटाउन बाध्य बनाएको छ । विद्युत् कटौती र इन्धनमा भएको भारी मूल्यवृद्धिले हालैका महिनामा प्रदर्शन भड्काएका छन् ।

यसबीच, बंगलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्नको लागत बढाएको छ । यसबाट विपन्न र निम्नमध्यम वर्गका मानिस नराम्ररी प्रताडित हुन पुगेका छन् । बिएनपीको मुख्यालयमा गत मंगलबार सुरक्षा फौजले दमन गर्दा एकजनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि राजधानीमा तनाव बढेको हो । 

हिंसा भड्काएको आरोपमा बिएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको छ भने विरोध प्रदर्शनलाई कमजोर बनाउन नोभेम्बर ३० यता सो पार्टीका करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको बताइएको छ । विपक्षीले देशभर विरोध प्रदर्शन गरिरहे पनि हसिनाले आफ्नो राजीनामा र कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको मागलाई अस्वीकार गरेकी छिन् ।   

See More On

सुझावित समाचार