हिमाली जिल्ला डोल्पामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरिएको छ। यसअघि कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा रहेको उक्त कार्यालय सदरमुकाम दुनैमा शनिबार स्थापना गरिएको हो।
अहिले सम्पर्क कार्यालयको रूपमा खोलिएकाले योजनाको सम्झौता, अनुगमन, निवेदन संकलनलगायतका काम हुने कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए। यस कार्यालयबाट भूक्षय नियन्त्रण, पानीका मुहान संरक्षण, तटबन्ध, पहिरो रोकथामलगायतका काम हुने उनले बताए।
योजनाको अन्तिम भुक्तानीका लागि जुम्ला नै जानुपर्ने भए पनि निकट भविष्यमा भुक्तानी पनि जिल्लाबाटै हुने साउदको भनाइ छ। अहिले कार्यालय प्रमुखसहित दुईजना कर्मचारी रहने बताइएको छ।
कर्णालीका डोल्पा, हुम्ला र रुकुम पश्चिममा कार्यालय स्थापना गर्ने मन्त्रालयले यसअघि नै निर्णय गरेको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले बताए।
संघीयताको मर्म र भावनाअनुसार जनताले घर आँगनबाटै योजना सम्झौता, भुक्तानीलगायतका सेवा सुविधा पाउनुपर्छ भन्ने ध्येयले तीन जिल्लामा कार्यालय खोल्ने निर्णय गरेको उनले बताए। अब बस्ने मन्त्रिपरिषद्को निर्णयबाट भुक्तानीसम्मको काम जिल्ला कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए।