तत्कालका लागि न्युरोड, क्षेत्रपाटी, बबरमहल, भोटेबहाल, इन्द्रचोक, असन, बुद्धनगर, सुविधानगरलगायत क्षेत्रमा वितरण
बर्खा सुरु हुनै लाग्दा बन्द गरिएको मेलम्चीको पानी ६ महिनापछि उपत्यकाका धारामा आइपुगेको छ । ०७८ को बर्खामा आएको बाढीले क्षतिग्रस्त मेलम्चीको मुहानमा पुनः क्षति हुन नदिन गत जेठको अन्तिम सातादेखि काठमाडौं पठाउन रोकिएको पानी पुनः वितरण गर्न थालिएको हो ।
मेलम्चीको पानी नछोडेको समयमा केयुकेएलले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमूले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबवेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण पनि गर्दै आएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार वितरण केन्द्रको भल्व खोलेर तेस्रोपटक नागरिकका धारामा पानी पठाउने कार्यको सुरुवात गरे । ‘अहिले आंशिक रूपमा मात्रै मेलम्ची आयोजनाबाट खानेपानी आएकाले त्यसैअनुसार वितरण गरिएको छ,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश राईले भने, ‘हाल प्रतिघन्टा १० देखि १२ लाख लिटर पानी मात्र वितरण भइरहेको छ ।’
उपत्यकाका महाँकालचौर, अनामनगर र मीनभवनको वितरण केन्द्रबाट पानी पठाउन थालिएको छ । यी केन्द्रबाट न्युरोड, क्षेत्रपाटी, बबरमहल, भोटेबहाल, इन्द्रचोक, असन, बुद्धनगर, सुविधानगरलगायतका क्षेत्रका नागरिकका धारामा पानी पुग्छ । १२ मंसिरमा मेलम्चीको मुहानस्थल अम्बाथानबाट पानी सुरुङमा हालिएको थियो । पानी हालिएको एक सातापछि सुन्दरीजल आइपुगेको पानी शुक्रबारदेखि उपत्यकावासीको घरघरमा वितरण गरिएको हो ।
०७८ असार र साउनमा आएको बाढीका कारण १० महिनासम्म उपत्यकावासीले पानी उपभोग गर्न पाएनन् । मेलम्ची आयोजनाको पुनर्निर्माणपछि गत ११ वैशाखबाट पानी वितरण थालिए पनि वर्षातमा थप क्षति हुने डरले एक महिनामै रोकिएको थियो ।
अहिले १०–१२ लाख लिटर मात्रै वितरण, १७ करोड लिटर नै वितरण हुन एक साता लाग्ने
मेलम्चीबाट आएको सिंगो क्षमतामा १७ करोड लिटर नै पानी वितरण हुन एक साता लाग्ने भएको छ । हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेकाले प्रतिघन्टा १० देखि १२ लाख लिटर मात्रै वितरण भइरहेको केयुकेएल प्रवक्ता प्रकाश राईले बताए । ‘नयाँ पाइपलाइन विस्तारको काम भइरहेको छ । पुरानै वितरण प्रणालीबाट पानी पठाउँदा सिंगो क्षमतामा दिन सकिएको छैन । एक सातामा वितरणको समयतालिका सार्वजनिक गरिनेछ,’ उनले भने ।
केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार नयाँ वितरण प्रणालीअन्तर्गत ६ सय किलोमिटर पाइपलाइनमा मात्र परीक्षण गर्ने काम भएको छ । चार सय किलोमिटर पाइपलाइनको परीक्षण हुन बाँकी छ । ‘चक्रपथभित्रका ६ सय किलोमिटर पाइपलाइनको मात्र परीक्षण भएको छ । पानी अभावको कारण अझै चार सय किलोमिटर पाइपलाइनको परीक्षण हुन बाँकी छ । अब ती क्षेत्रमा पनि पाइपलाइनको परीक्षण सुरु हुनेछ,’ पिआइडीका निर्देशक राजेन्द्र सापकोटाले भने, ‘कंलकी, धुम्बाराही, कपन र मन्डिखाटार क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ ।’ पिआइडीका अनुसार ती नयाँ पाइपलाइन परीक्षणको काम आगामी असार मसान्तसम्म सकिनेछ । ०७८ चैतमा पानी आउनुअघि जम्मा सय किलोमिटर नयाँ वितरण लाइनमा ट्यांकरको पानी हालेर परीक्षण गरिएको थियो । करिब ११ सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको थियो ।
पुरानै सञ्जालबाट पानी वितरण भइरहेकाले केयुकेएलले चुहावट भएका क्षेत्रमा जानकारी गराउनका लागि भनेको छ । प्रवक्ता राईका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई छिट्टै पानी पुर्याउने व्यवस्था हुनेछ । ‘अहिले पुरानो पाइपलाइन वितरण सञ्जालबाट वितरण हुने हुँदा चुहावट भएको देखिएमा शाखा कार्यालयमा जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ प्रवक्ता राईले भने । अनामनगर र ललितपुरका केही स्थानबाहेक अझै पनि सबै ठाउँमा पुरानै वितरण लाइनबाट पानी आउनेछ । जसकारण नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ ।
प्रकाशकुमार राई, प्रवक्ता, केयुकेएल
अहिले आंशिक रूपमा मात्रै मेलम्ची आयोजनाबाट खानेपानी आएकाले त्यसैअनुसार वितरण गरिएको छ । हाल प्रतिघन्टा १० देखि १२ लाख लिटर पानी मात्र वितरण भइरहेको छ ।
नयाँ पाइपलाइन विस्तारको काम भइरहेको छ । पुरानै वितरण प्रणालीबाट पानी पठाउँदा सिंगो क्षमतामा १७ हजार लिटर नै दिन सकिएको छैन । एक सातामा वितरणको समयतालिका सार्वजनिक गरिनेछ ।