कब्जियतबाट बच्न खानपानमा ध्यान दिनुस्

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

हेल्थ टिप्स 

डा. राकेश शाह कोलोरेक्टल सर्जन एभरेस्ट अस्पताल, नयाँ बानेश्वर 

लक्षण
मानिसलाई दैनिक (कसै–कसैमा हप्तामा तीनपटक) दिसा अनिवार्य लाग्नुपर्छ । हप्तामा कम्तीमा तीनपटक पनि दिसा लागेन भने कब्जियत भएको भनेर बुझ्नुपर्ने हुन्छ । यी लक्षण देखिए कब्जियत भएको हुन सक्छ :
- नियमित दिसा नलाग्नु ।
- दिसा कडा हुनु, क्लियर नहुनु । 
- दिसा गर्न अप्ठेरो हुनु । 
- पेट फुल्नु आदि । 

कारण 
मुख्य कुरा खानपिन हो । शरीरमा फाइबर र पानीको मात्रा कम भयो भने यस्तो समस्या देखिन्छ । हाम्रो शरीरलाई कमसेकम २५ देखि ३५ ग्राम फाइबर दैनिक चाहिन्छ । यो परिपूर्ति भएन भने पेटमा गडबडी देखिन सक्छ ।

समाधानका उपाय
- फाइबरयुक्त खानेकुरा अर्थात् काँक्रो, मुला, हरियो सागसब्जी, गेडागुडी, मेवा, स्याउलगायत फलफूल प्रशस्त खाने । पानी प्रशस्त पिउने । 
- फ्याटयुक्त खानेकुरा (दूधचिया, दूध, चिज, बटर) धेरै नखाने ।
- नियमित व्यायाम गर्ने । 
- निश्चित समयमा खाने र निश्चित समयमा दिसा गर्ने । 
- दिसा रोकेर नबस्ने, लाग्नासाथ शौचालय गइहाल्ने । 
- धेरै नसुत्ने । 
- हप्तामा कम्तीमा तीनपटक पनि दिसा लागेन वा दिसामा रगत देखियो भने चिकित्सकसँग सम्पर्क राख्ने । 

जोखिम 
कब्जियतका कारण अन्य रोग पनि लाग्न सक्ने जोखिम रहन्छ । जस्तो, कसै–कसैलाई कब्जियत बढ्दै गएर पायल्स हुन्छ । कसै–कसैमा फिसर अर्थात् मलद्वारमा घाउ हुन सक्छ । उपचार नगरी बस्दा आन्द्रा र मलद्वारको क्यान्सर हुने जोखिमसमेत रहन्छ । कतिपयको मलद्वार नै बाहिर आउने खतरा पनि हुन्छ । यसलाई चिकित्सकीय भाषामा रेक्टल प्रोल्याप्स भनिन्छ । त्यसैले यस रोगलाई बेवास्ता गर्न हुँदैन । समस्या देखिएमा उपचार थालिहाल्नुपर्छ । 

पहिचान
दिसा अनियिमित हुनासाथ चिकित्सकलाई देखाउनुपर्छ । चिकित्सकले विभिन्न विधिमार्फत कब्जियतको पहिचान गर्छन् । जसमध्ये बिरामीको मेडिकल हिस्ट्री जाँच एक हो । दिसा परीक्षण गरेर पनि कब्जियत भए÷नभएको पुष्टि गरिन्छ । त्यस्तै, पेटको एक्स–रे गरेर पनि पत्ता लगाउन सकिन्छ । अर्को विधि बायोकेमिकल टेस्ट हो । यसमा सुगर, थाइराइड, इलेक्टोलाइट्सलगायत परीक्षण गरिन्छ । त्यस्तै, पहिचानका लागि कोलोनिक ट्रान्जिट टाइम, डिफिकोग्राफीलगायत अन्य विधि पनि अपनाइन्छ । 

उपचार
धेरैजसो अवस्थामा खानपिन र जीवनशैली नै सुधारेर कब्जियत कम गर्न सकिन्छ । तर, कब्जियतले अति नै समस्या दिइरहेका मानिसलाई पातलो दिसा गराउनका लागि हामी औषधिको प्रयोग गर्ने गर्छौं । त्यस्ता बिरामीलाई लेक्जाटिभ नामक औषधि दिइन्छ । यो औषधि पनि धेरै थरीका हुन्छन् । मानिसको उमेर र समस्याको अवस्था हेरेर औषधि दिइन्छ ।

See More On

सुझावित समाचार