समूह ‘ई’मा जापानले स्पेन र जर्मनीमाथि सनसनी नतिजा निकाल्छ भनी कसैले विश्वास गर्न सकेनन् । तर, समूह चरणमा जापानले विश्वकप विजेताद्वय जर्मनी र स्पेनमाथि समान २–१ को सनसनी जित मात्र निकालेन, समूह विजेताका रूपमा अन्तिम १६ को स्थानसमेत पक्का गर्यो । जापान दोस्रो खेलमा ट्युनिसियासँग १–० ले पराजित भएको थियो । जापान सन् २००२, २०१० र २०१८ पछि क्वार्टरफाइलनलमा पुग्ने लक्ष्यमा छ । जापान पहिलोपटक अन्तिम आठमा पुग्न चाहन्छ । जापान र क्रोएसियाबीच विश्वकपमा तेस्रो भेट हो ।
अल जानोव मैदानमा जापानका रक्षक कोउ इताकुराले खेल गुमाउनेछन् । दुई पहेँलो कार्डपछि उनी निलम्बनमा छन् । उच्च लयमा रहेका सेन्टर ब्याकलाई गुमाउँदा जापानले केही दबाब महसुस गर्नेछ । यसैगरी, घाइते भएका ताकेहिरो तोमियासु र वातारु इन्डोले ‘प्लेइङ सेट’मा स्थान बनाउन सक्छन् । कतार विश्वकपमा उच्च मनोबलमा रहेको एसियन ‘जायन्ट किलर’ जापान तेस्रो अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ ।
सन् २०१८ मा रुसमा भएको संस्करणमा क्रोएसिया उपविजेता भएको थियो । यसपटक पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी र क्यानडालाई ४–१ ले हराएको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग अंक बाँड्दै समूह ‘एफ’को उपविजेता बनेको हो । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसियाले कुनै खेलाडी परिवर्तन गर्नेछैन ।
बेल्जियमविरुद्ध खेलेको सेटलाई नै मैदानमा उतार्नेछ । जापान र क्रोएसियाबीच पहिलोपटक सन् १९९७ जुनमा भेट भएको थियो । सो खेल जापानले ४–३ ले जितेको थियो । सन् २००६ को अन्तिम भेटमा दुवैले गोलरहित बराबरी खेलेका थिए । क्रोएसिया जापानको उत्कृष्ट फर्मबाट तर्सिएको छ । जापानले मौका पाउँदा शक्तिशाली टोलीमाथि सहजै गोल गर्न सक्छ । विपक्षीको गल्तीमा गोल गर्न माहिर जापानले क्रोएसियाविरुद्ध पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा छ ।