महोत्सवको विरोध गर्दै उवासंघले गर्‍यो बजार बन्द

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

युथ्स अफ तुलसीपुर क्लबको आयोजना हुन लागेको महोत्सवको विरोध गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीबजार बन्द गरेको छ । १५ मंसिर देखि २६ गतेसम्म हुन लागेको महोत्सवको समय उपयुक्त नभएकाले विरोध गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । संघले बजार बन्द गराउँदै हिँडेको भए पनि केही व्यापारीहरूले भने पसल खोेलेका छन् ।

‘हामीहरूले व्यवसायीहरूकै हितका लागि बजार बन्दको आह्वान गरेका हौँ,’ उनले भने, “तर, कसैले मान्नुभएको छ, कसैले मान्नुभएको छैन ।’ आन्दोलन मेला बन्द नहुँदासम्म निरन्तर चल्ने चालिसेले बताए । ‘हामीले यो आन्दोलनलाई भोलिदेखि थप सशक्त बनाउनेछाँै, प्रशासनले महोत्सवस्थलबाट सबै सामग्री नउठाउँदासम्म हामी आन्दोलनमै रहनेछौँ,’ उनले भने– ‘आज बजार बन्द भयो, भोलिदेखि गाडी नै बन्द गर्ने तयारी गरेका छौँ ।’  

उपमहानगरपालिकाले कार्यविधि बनाएर मात्रै महोत्सवको स्वीकृति दिनुपर्ने उद्योग वाणिज्य संघको माग छ । महोत्सव आयोजक संस्था युथ्स क्लब अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव कुनै पनि हालतमा नरोकिने बताए । ‘हामीले अनुमति लिएरै महोत्सव लगाउन लागेका हौँ,’ उनले भने– ‘अनुमति लिइसकेपछि हामीले महोत्सव रोक्ने कुरा छैन ।’

महोत्सव सञ्चालनका लागि ८९ लख रुपैयाँ खर्च भइसकेको समेत उनले बताए । तुलसीपुर उपमहानगरपालिकाले अनुमतिका लागि सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको उनले बताए । सोहीअनुसार १४ कात्तिकमा उपमहानगरपालिकालाई एक लाख रुपैयाँ राजसवसमेत बुझाइसकेको छ । तर, व्यवसायीको विरोधपछि उपमहानगरपालिकाले आफ्नो सिफारिसलाई नै लत्याउँदै २९ कात्तिकमा महोत्सव रोक्न जिल्ला प्रशासन कार्यालय दाङलाई चिठी पठाएको थियो ।

उपमहानगरपालिकाले महोत्सव लगाउँदा शान्ति सुरक्षामा खलल पुग्ने देखिएकोसमेत पत्रमा उल्लेख गरेको छ । सोही पत्रपछि प्रमुख जिल्ला अधिकारी हिरालाल अधिकारीले मेला महोत्सवको तयारी कार्य तत्काल बन्द गराउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन गरेका थिए । 

सुझावित समाचार