दुई बैंकलाई जरिवाना, सातलाई सचेत

चर्काे प्रिमियम लिनेदेखि लागतभन्दा कम ब्याजदरमा ऋण दिनेसम्म बैंकका बदमासी, दुई करोडभन्दा बढी जरिवाना

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गर्ने वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले पहिलो त्रैमासमा दुईवटा बैंकलाई जरिवाना र सातवटा बैंकलाई सचेत गराएको हो । जरिवानामा पर्नेमा कृषि विकास बैंक र बैंक अफ काठमाण्डू रहेका छन् । विपन्न वर्ग क्षेत्रमा तोकिएको सीमाअनुसार लगानी नगरेको भन्दै बैंक अफ काठमाण्डूलाई दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना लगाइएको छ । त्यस्तै, कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना गराइएको हो । 

 रोक्का खातामा कारोबार
बैंक अफ काठमाण्डूलाई जरिवानाबाहेक सचेत पनि गराएको राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा कारोबार गरेको पाइएको थियो । त्यसैले सुपरिवेक्षण विभागले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नै सचेत गराएको हो । यसरी रोक्का खाताहरूमा कारोबार गर्नेमा प्रभु, कुमारी र प्राइम कमर्सियल बैंक पनि छन् । चालू आर्थिक वर्षमा उनीहरूलाई सचेत गराइएको यो पहिलोपटक हो । 

बढी प्रिमियम लिने चार बैंकलाई सचेत गराइयो
  चार वाणिज्य बैंकहरूले ऋणीसँग बढी प्रिमियम लिएको पाइएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरेपछि प्रिमियम दर बढाउन पाइँदैन । यसमा छुटसमेत दिएर कर्जा प्रवाह गर्न पाइँदैन । तर, चार वाणिज्य बैंकहरूले कर्जा प्रवाह गरिसकेपछि पनि प्रिमियम दर बढाएको भन्दै सुपरिवेक्षण विभागले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराएको छ । यसरी मनपरी प्रिमियम बढाउनेहरूमा हिमालयन, सन्राइज, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् । 

 लागतभन्दा पनि सस्तोमा कर्जा
केही वाणिज्य बैंकहरूले लागतभन्दा पनि सस्तो दरमा कर्जा प्रवाह गरेको पाइएको छ । सन्राइज र मेगा बैंकले आधार दरभन्दा सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले फेला पारेको छ । कुनै पनि कर्जा आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ । सन्राइज बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई अवकाशपछि थप सुविधा दिएको सुपरिवेक्षणबाट खुलेको छ । राष्ट्र बैंकले यस विषयमा बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ । 

 कर्जा नवीकरणको गलत अभ्यास
पटक–पटक कर्जा नवीकरण गरेको भन्दै राष्ट्र बैंकले मेगा बैंकलाई सचेत गराएको छ । बैंकले लगानी गरेका केही कर्जाहरू विगत तीन–चार वर्षदेखि नियमित नभएको तथा कर्जा विवरणसमेत अद्यावधिक नभएको अवस्थामा बैंकले कर्जा नोक्सानीको व्यवस्था (लोन लस प्रोभिजनिङ) गर्नुपर्ने हुन्छ । तर, मेगा बैंकले यस्तो व्यवस्था नै नगरी निरन्तर कर्जा भुक्तानी सीमा बढाएको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

बैंकले मेगा हाउजिङ एन्ड मोर्गेज लोन योजनाअन्तर्गत लोयली फाइनान्स स्किममार्फत प्रवाह गरेका सम्पूर्ण कर्जा बक्यौता साँवा–ब्याज असुलउपर गर्न उपभोग गरेको खुलेको छ । यसमा राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत र प्रमुख कर्जा अधिकृतलाई पहिलोपटक सचेत गराएको छ ।अन्तर्राष्ट्रिय मुद्राकोषले प्रत्येक वर्ष निजी बैंकहरूको निष्क्रिय कर्जा निकै कम रहेको र कर्जा नवीकरणको गलत अभ्यास भइरहेको आशंका गरेको थियो ।

 नियमन उल्लंघन गर्नेलाई के हुन्छ कारबाही ?
बैंकहरूले नियमन उल्लंघन गरेमा राष्ट्र बैंकले सचेत गराउनेदेखि लाइसेन्स रद्द गर्नेसम्मको कारबाही गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । ऐनमा एकपटकका लागि सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउन सक्ने व्यवस्था छ । तर, बारम्बार हुने उल्लंघन अन्त्य गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्नका लागि लिखित आदेश जारी गर्ने व्यवस्था छ । त्यस्तै, बैंकले दिने सेवा निलम्बन वा अन्त्य गर्न सक्नेछ ।

त्यस्तै, सेयर होल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउने, निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने तथा कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने काम गर्न सक्छ । अन्तिममा राष्ट्र बैंकले वाणिज्य बैंक वा वित्तीय संस्थाको इजाजतपत्र निलम्बन वा रद्दसमेत गर्न पाउने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

सुझावित समाचार