गुल्मी : संघ र प्रदेशमा एमाले-कांग्रेस विजयी, माओवादी-समाजवादी शुन्य

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

गुल्मीका ६ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । क्षेत्र नं १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेदवार डाक्टर चन्द्र भण्डारीले एमालेमा उम्मेदवार प्रदीप ज्ञवालीलाई १५ सय ९२ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे ।  ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरे । 

त्यस्तै गुल्मी क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन् । बिष्टले वाम लोकतान्त्रिक गठबन्धनबाट (एकीकृत समाजवादी)का उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजार ३५ मतअन्तरले पराजित गरेको गुल्मी क्षेत्र नं २ का निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए ।  एमाले उम्मेदवार बिष्टले  २८ हजार ४ सय ७६ र झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गरे । यहाँ प्रतिनिधिसभामा समाजवादी शुन्य बनेको छ। 

प्रदेश सभा : एमालेलाई तीन, कांग्रेसलाई एक, माओवादी शुन्य
गुल्मीमा चार प्रदेश सभा मध्ये तीन वटा निर्वाचन क्षेत्रमा एमालेका उमेद्वार विजयी भएका छन् । क्षेत्र नं २ को दुई वटै प्रदेश सभामा एमाले उम्मेदवार विजयी भए । गुल्मीमा प्रदेश सभामा माओवादी शुन्य भएको छ ।

गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (१) मा एमालेका डिल्लीराज भुसाल र (२) मा एमालेका दिनेश पन्थी विजयी भएका छन् । भुसालले गठबन्धनका भुवन प्रसाद श्रेष्ठलाई पराजित गरेका हुन् । एमालेका भुसालले १४ हजार २ सय ८५ र प्रतिस्प्रर्धी श्रेष्ठले १३ हजार २ सय ३६ मत प्राप्त गरेका थिए । 

क्षेत्र नं २ को प्रदेश सभा (२) मा एमालेका दिनेश पन्थीले गठबन्धनका बुद्धि जिसीलाई पराजित गरेका छन् । पन्थीले १३ हजार ९ सय २९ र प्रतिस्प्रर्धी जिसीले १३ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमर केसीले जानकारी दिए । 

यस्तै गुल्मी क्षेत्र नं १ को प्रदेश सभा (२) मा गठबन्धनका उम्मेदवार धनेन्द्र कार्कीले एमालेका फर्सुराम पाण्डेयलाई पराजित गरेका छन् । कार्कीले १८ हजार ५ सय ९६ र पाण्डेयले १७ हजार ९ सय ९१ म्त प्राप्त गरेका छन् । 

यसैगरी गुल्मी क्षेत्र नं १ प्रदेश सभा (१) मा एमालेका उम्मेदवार चिन्तामणी पाण्डेले गठबन्धनका सुदर्शन बराललाई पराजित गरेका छन् । पाण्डेले १५ हजार १ सय २७ र बरालले १४ हजार २ सय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राम बहादुर कुवंरले जानकारी दिए ।

गुल्मी २ मा समानुपातिकमा एमाले पहिलो
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फको मतगणना सकिएको छ । जसमा २५ हजार १ सय ३० मत प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । दोस्रो बनेको नेपाली काँग्रेसले १८ हजार ४ सय ५१, तेस्रो बनेको नेकपा माओवादी केन्द्रले पाँच हजार ४ सय ३७ र चौथो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार २ सय ६३ मत प्राप्त गरेको छ । 

See More On

सुझावित समाचार