नागरिकता विवादमा रवि लामिछानेले बुझाए स्पष्टीकरण

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा स्पष्टीकरण बुझाएका छन्। ३० कात्तिकमा चितवन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात दिनको समय दिएर लामिछानेलाई स्पष्टीकरण सोधेको थियो। 

सातौँ दिन मंगलबार लामिछानेले खाम सिलबन्दी गरेर स्पष्टीकरण जवाफ पेस गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। ‘जवाफसँगै उहाँबाट आएको निवेदनमा गोपनीयता कायम गरेर आयोगमा पठाइपाऊँ भनेर अनुरोध भएकाले हामीले नहेरी माथि पठाउँछौँ,’ उनले भने। 

चितवन २ का उम्मेदवार लामिछानेविरुद्ध २९ कात्तिकमा राजकुमार पाण्डेले विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएको र उनी नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गर्दै निर्वाचन आयोगमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्लाबाट स्पष्टीकरण जवाफ आएपछि तथ्य प्रमाणका आधारमा निर्णय गरिने बताए। लामिछानेले आवश्यकता नै नपरेकाले पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको स्विकारिसकेका छन्। 

नागरिकता कानुनअनुसार भने विदेशी नागरिकता लिएपछि नेपाली नागरिक स्वतः निष्क्रिय हुन्छ। लिएको विदेशी नागरिकता त्याग्दा नेपाली नागरिकता लिन निवेदन दिएर प्रक्रिया पूरा गर्नुपर्छ।
 

सुझावित समाचार