नेत्रविहीनलाई लिएर मतदान गर्न हिँडेका वृद्धको मृत्यु

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

दृष्टिविहीनलाई लिएर मतदानमा सहभागी हुन हिँडेका मुगुका एक वृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा खत्याड– ३ का ७५ वर्षीय जोख्या दमाइ छन् ।  
उनी खत्याड गाउँपालिकाको कालिका मावि बुगा केन्द्रमा आइतबार हुने मतदानमा सहभागी हुन शनिबार मुगु सदरमुकाम गमगढीबाट हिँडेका थिए । उनको साथमा दृष्टिविहीन कल्से नेपाली पनि थिए । दृष्टिविहीनलाई पनि मतदान गराउन लिएर जानु पर्ने भएकाले उनी अघिल्लो दिन नै घरबाट हिँडेका थिए । तर, मत खसाल्न नपाई खत्याड गाउँपालिकाको सेरीमा लडेर उनको ज्यान गएको मुगु कांग्रेसका निवर्तमान सभापति खडकबहादुर शाहीले जानकारी दिए । 
जोख्या दश वर्षदेखि दृष्टिविहीन कल्से नेपालीको सारथी बन्दै आएका थिए । लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव मानिने मतदानमा कल्सेलाई पनि सहभागी गराउन उनले लिएर गएका थिए । कल्से भने सकुशल छन् । कल्से यस क्षेत्रका चर्चित देउवा खेलाडी हुन् । उनलाई जोख्याले नै देउडा खेलाउन लैजाने र ल्याउने गरेका थिए ।

सुझावित समाचार