उदयपुरमा जम्मा ५३.६ प्रतिशत मत खसेको छ। आइतबार भएको मतदानमा जिल्लाभरिबाट ५३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले जानकारी दिए।
उनका अनुसार जम्मा एक लाख २१ हजार ४७९ जनाले मतदान गरेका छन्। जिल्लामा जम्मा २ लाख २८ हजार ९४६ मतदाता रहेका थिए। दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो। जिल्लामा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन्।
जिल्लाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले अहिले मतपेटिका संकलनको काम जारी रहेको बताए। उनले भने, ‘मतपेटिका संकलन भएपछि गणनाको प्रक्रिया अघि बढ्नेछ।’
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा माध्यमिक विद्यालयमा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पसमा गर्ने व्यवस्था गरिएको पनि मुख्य निर्वाचन अधिकृत सुवेदीको भनाइ छ।