विश्वकपमा कसले कति धनराशि पाउँछन् ?

सन् २०१८ को तुलनामा कतार विश्वकपको पुरस्कार धनराशि ४० मिलियन डलर बढेको छ

शुक्रबार, २ मंसिर, २०७९
डिजिटल संस्करण

२२औँ फिफा विश्वकप फुटबल प्रतियोगिता ४ मंसिरमा कतारको दोहामा सुरु हुँदै छ । प्रतियोगितामा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी सबै टोलीले २६ खेलाडीको अन्तिम सूची बनाएका छन् । आयोजनाको हिसाबले कतार विश्वकप अहिलेसम्मकै महँगो मानिएको छ । कतारले आयोजना गर्न दुई सय २९ बिलियन पाउन्ड खर्च गरेको छ । कतारले प्रतियोगितालाई इतिहासकै उत्कृष्ट आयोजना बनाउन अत्याधुनिक आठ रंगशाला तथा होटेल निर्माण गरेको छ । विश्वलाई केन्द्रित गर्न सक्ने माहोल बनाएका कारण नै कतारको बजेट महँगो हुन गएको हो । 

कतार विश्वकपमा ३२ टोलीले भाग लिँदै छन् । फिफाले समूह चरणबाट बाहिरिनेदेखि विश्वविजेता टोलीलाई आकर्षक धनराशि व्यवस्था गरेको छ । पुरस्कार रकममै फिफाले १४ करोड ४४ लाख डलर खर्चनेछ । सन् २०१८ को रसिया विश्वकपको तुलनामा कतारमा विजेता धनराशि बढेको छ । यसपटक ४० मिलियन डलर विजेता धनराशी बढेको फिफाले जनाएको छ । रसियामा विजेता धनराशि ३८ मिलियन डलर थियो । कतार विश्वकपको बजेट ४.६ बिलियन रहेको छ । फिफाले टेलिभिजन राइट्सबाट २.६ बिलियन डलर आर्जन गरिसकेको छ । फिफाले आयोजक राष्ट्रलाई पनि आर्थिक सहयोग गरेको छ । 

 विश्व च्याम्पियनलाई चार सय २० मिलियन डलर
२२औँ संस्करणको विजेताले चार करोड २० लाख डलर पाउनेछ । कतार आयोजक राष्ट्र भए पनि सबै व्यवस्थापन फिफाले नै हेर्छ । फिफाले प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा रेफ्री कमिटीका पदाधिकारीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ । प्रत्येक सहभागी खेलाडीले तीन लाख ७० हजार डलरसमेत पाउँछन् । फिफाले सन् २००६ को जर्मन विश्वकपपछि प्रत्येक संस्करणमा विजेता धनराशि बढाउँदै गएको छ । जर्मनीले विश्वकप आयोजना गर्दा विजेताले २० मिलियन डलर पाएको थियो । जर्मनीमा इटालीले चौथोपटक विश्व च्याम्पियन ट्रफी उचालेको थियो । सन् १९८२ को विजेता इटालीले केवल २.२ मिलियन डलर हात पारेको थियो । 

 आम्दानीको स्रोत
विश्वकप आयोजक राष्ट्र तथा फुटबलको सर्वोच्च निकायले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अर्बौं डलर खर्च गर्छन् । आयोजक तथा फिफाले प्राप्त आम्दानीबाटै खर्च गर्छन् । यसपटक कतारमा सहभागी हुने प्रत्येक राष्ट्रले १.५ मिलियन डलर तिरेका छन् । नकआउट चरणदेखि फाइनलसम्म खेल्ने राष्ट्रले थप रकम बुझाउनु पर्दैन । साथसाथै, टोलीहरूले प्रत्येक खेल जित्दा र अर्को चरणमा पुग्दा आम्दानी पनि गर्छन् । ठूलो खर्चका बाबजुद फिफाको आम्दानी राम्रो नै हुन्छ । सन् २०१८ मा फिफाले रसिया विश्वकपबाट ६ अर्ब ४० करोड डलर आर्जन गरेको थियो । 

सन् २०१८ को विजेता फ्रान्सले ३८ मिलियन डलर पाएको थियो । यसपटकको विजेताले ४२ मिलियन डलर पाउनेछ ।

सन् २०१८ मा फिफाले चार अर्ब ६० करोड डलर प्रसारण अधिकार बिक्रीबाटै प्राप्त गरेको थियो । फिफा र आयोजकको सबैभन्दा मुख्य आम्दानीको स्रोत नै प्रसारण अधिकार हो । कतार विश्वकपमा पाँच अर्बभन्दा धेरैले टेलिभिजनमा फुटबल हेर्ने अनुमान फिफाले गरेको छ । फिफा र कतारले खेलमा विज्ञापन राख्न विश्वचर्चित ब्रान्डहरूलाई अनुमति दिएको छ । यद्यपि, ती ब्रान्डले विज्ञापन राखेबापत फिफालाई पैसा बुझाउनुपर्छ । त्यसपछि रंगशालामा दर्शकले किनेको टिकटबाट प्राप्त हुने रकम हो । फिफाले २०१८ मा विज्ञापनबाट एक अर्ब ६६ करोड डलर आर्जन गरेको थियो । सन् २०१८ मा टिकटबाट मात्र ७० करोड १२ लाख डलर आर्जन भएको थियो । 

 बोनसको आकर्षण
विश्वकपको एउटा आकर्षक पक्ष खेलाडीले राम्रो आम्दानी गर्छन् । सहभागी राष्ट्रका सम्बन्धित फुटबल निकाय वा सरकारले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीलाई बोनस घोषणा गर्छन् । यद्यपि, खेलाडीले क्लब तथा राष्ट्रिय टोलीबाट प्रत्येक महिना पारिश्रमिक पाउँछन् नै । विश्वकपमा राम्रो प्रदर्शन गर्दा उनीहरू थप मालामाल हुन्छन् । फिफाले समेत खेलाडीलाई हौसला प्रदान गर्न कुनै रोक लगाएको छैन । 

सन् २००६ को आयोजक जर्मनीले आफ्ना खेलाडीलाई विश्वकप उपाधि जित्दा थप चार लाख डलर बोनस दिने घोषणा गरेको थियो । यसपटक अस्ट्रेलियाले विश्वकप छनोट भएसँगै खेलाडीलाई दुई लाख २६ हजार डलर बोनस दिएको थियो । विश्वकपको नकआउट चरण प्रवेश गर्दा अस्ट्रेलियन खेलाडीले थप दुई लाख ९० हजार डलर पाउनेछन् । विश्वकपभरि नै यस्तै किसिमको घोषणा विभिन्न राष्ट्रले गर्न सक्छन् । 

सुझावित समाचार