सातै प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउन सत्ता र विपक्षी गठबन्धन प्रतिस्पर्धामा
सातै प्रदेशमा नयाँ सरकार बनाउने गरी हुन थालेको प्रदेश सभा निर्वाचनलाई दलहरूले प्रतिनिधिसभाजत्तिकै महत्व दिएर चुनावी रणनीतिमा काम गरेका छन् । सोहीअनुसार सत्ता र प्रतिपक्ष गठबन्धन प्रतिनिधिसभामा मात्र होइन, प्रदेश सभाका लागि पनि तालमेल गरेर निर्वाचनमा होमिएका छन् ।
आगामी निर्वाचनमा मुख्य गरी दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ । यद्यपि, अन्य दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । आसन्न निर्वाचनमा प्रदेशहरूमा आफ्नै नेतृत्वमा सरकार बन्ने दुवै गठबन्धनको दाबी छ ।
सत्तारूढ गठबन्धनले सातवटै प्रदेशमा सरकार गठन गर्ने गरी सिट बाँडफाँड गरेर निर्वाचन अभियानमा लागेको दाबी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्र्वाचनपछि केन्द्र र सातवटै प्रदेशमा सत्तारूढ गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले भने, ‘स्वाभाविक रूपमा सत्तारूढ गठबन्धनले आगामी पाँच वर्ष सरकार चलाउँछ । हामी सोही ढंगले चुनावी अभियानमा छौँ ।’
एमालेले सातमध्ये ६ वटा प्रदेशमा एकल बहुमतको सरकार र मधेस प्रदेशमा जसपासँगको सहकार्यमा सरकार गठन हुने दाबी गरेको छ । एमाले उपमहासचिव विष्णु रिमाल जनताको साथ एमालेलाई भएको दाबी गर्छन् । उनले भने, ‘आगामी चुनावपछि संघ र प्रदेशहरूमा सरकार सञ्चालन गर्नेछौँ । हामीले त्यही ढंगले उम्मेदवार उठाएका छौँ ।’
अघिल्लो निर्वाचनमा वाम गठबन्धन गरेको एमालेले केन्द्र र चारवटा प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । माओवादी केन्द्रले दुई र जसपाले एक प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । तर, एमाले र माओवादीबीच बनेको नेकपा भंगपछि प्रदेशका समीकरणमा उथलपुथल आएको थियो ।
०७४ भन्दा अहिले चुनावी समीकरण फेरिएको छ । एमालेले जसपा–राप्रपालगायतका दलसँग तालमेल गरेको छ । सत्तारूढ गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा)ले मधेस प्रदेशमा लोसपासँग तालमेल गरेको छ । प्रत्यक्षतर्फ प्रदेश १ मा ५६, मधेसमा ६४, बागमतीमा ६६, गण्डकीमा ३६, लुम्बिनीमा ५२, कर्णालीमा २४ र सुदूरपश्चिममा ३२ सिट छन् ।
प्रदेश सभामा ५५० सिट, ७२७९ उम्मेदवार
सातवटै प्रदेश सभामा प्रत्यक्षका तीन सय ३० र समानुपातिकका दुई सय २० गरी पाँच सय ५० सिट छन् भने दुवैतर्फका उम्मेदवारको संख्या सात हजार दुई सय ७९ छ ।
प्रत्यक्ष तीन सय ३० सिटका लागि उम्मेदवार तीन हजार दुई सय २४ (पुरुष दुई हजार नौ सय ४३, महिला दुई सय ८०, अन्य एक) छन् । क्लस्टरअनुसार आदिवासी–जनजाति नौ सय ६, खस–आर्य एक हजार एक सय ५५, थारू एक सय, दलित एक सय ४४, मधेसी आठ सय ७४, मुस्लिम एक सय ४५ उम्मेदवार छन् । यसबाहेक समानुपातिक दुई सय २० सिटका लागि उम्मेदवार चार हजार ५५ छन्, जसमा पुरुष एक हजार ६ सय २९, महिला दुई हजार चार सय २६ छन् । स्वतन्त्र उम्मेदवार एक हजार नौ सय ५७ जना छन् ।
कसका उम्मेदवार कति ?
प्रदेश १ : कांग्रेसका २६, एमालेका ५२, माओवादीका १९, एकीकृत समाजवादीका ११, जसपाका ३५, लोसपाका २३, राप्रपाका ४४ र स्वतन्त्र एवं साना दलका उम्मेदवारसहित पाँच सय १० जना मैदानमा छन् ।
मधेस : कांग्रेसका २६, एमालेका ३३, माओवादीका १७, एकीकृत समाजवादीका १७, जसपाका ३५, लोसपाका १८, राप्रपा ५८ सहित स्वतन्त्र र साना गरी कुल उम्मेदवार एक हजार सात छन् ।
बागमती : कांग्रेसका ४२, एमालेका ६५, माओवादीका २४, एकीकृत समाजवादीका १२, जसपाका ३२, लोसपाका आठ, राप्रपाका ६५ र स्वतन्त्र एवं साना दलका सहित जम्मा ६ सय ६८ उम्मेदवार छन् ।
गण्डकी : कांग्रेसका २१, एमालेका ३४, माओवादीका १२, एकीकृत समाजवादीका ६, जसपाका १२, राप्रपा २९, साना र स्वतन्त्रसहित जम्मा उम्मेदवार दुई सय ३५ जना छन् ।
लुम्बिनी : कांग्रेसका ३४, एमालेका ४७, माओवादीका १८, एकीकृत समाजवादीका आठ, जसपाका १९, लोसपाका २३, राप्रपाका ३५ तथा साना र स्वतन्त्र गरी जम्मा उम्मेदवार चार सय ९५ छन् ।
कर्णाली : कांग्रेसका १२, एमालेका २४, माओवादीका १०, एकीकृत समाजवादीका ६, जसपाका पाँच, राप्रपाका २१ सहित साना दल र स्वतन्त्र गरी जम्मा उम्मेदवार एक सय १६ छन् ।
सुदूरपश्चिम : कांग्रेसका १८, एमालेका ३०, माओवादीका १२, एकीकृत समाजवादीका ६, जसपाका दुई, लोसपाका पाँच, राप्रपाका २७ तथा साना र स्वतन्त्र गरी जम्मा उम्मेदवार एक सय ९३ छन् ।