नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ मंसिरको निर्वाचनको संघारमा देशको नेतृत्व र आफ्नै भविष्यको निर्क्यौल गर्न देशभरका मतदातालाई भिडियो अपिल गरेका छन्।
‘प्रिय मतदाता अब स्पष्ट निर्णय लिने समय छ, किनकि मंसिर ४ गते तपाईंले हाल्ने भोटले कसको हातमा देश सुम्पिने भन्ने निर्क्याैल गर्नेछ। शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा। त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झिनुहोला। पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंको छोराछोरीको भविष्य,’ ओलीले सुरुमै मतदाताको ध्यानाकर्षण गराउँदै भिडियो सन्देशमा भनेका छन्।
आफू पटक–पटक मृत्युको मुखबाट फर्किएर देशको सेवा गरिरहेको प्रस्ट्याउँदै ओलीले फेरि पनि उद्देश्यविहीन गठबन्धनले जिते देशको भविष्यसँगै जनताको भविष्यसमेत बरबाद हुने दाबी पनि गरेका छन्।
‘प्रिय मतदाता म झुटो बोल्दिनँ, सत्य छोड्दिनँ। तपाईंलाई थाहा छ, म पटकपटक मृत्युको मुखमा पुगेर फर्किएको भेटिएँ। अहिले देश केही व्यक्ति र समूहरूको निजी स्वार्थहरूले बनेको गठबन्धनले चलाइरहेको छ,’ सन्देशमा भनिएको छ, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन, भविष्य छैन, यही गठबन्धन रहिरहे देश बरबाद हुनेछ। तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बरबाद हुनेछ।’
ओलीले आफूले एमालेको जितका लागि नभएर मतदाता र उनीहरूको सन्तानको सुःखका लागि भोट मागिरहेको भन्दै पार्टीको सूर्य चिह्नमा मतदान गर्न आह्वान पनि गरेका छन्।
‘त्यसैले आज म यस सन्देशमार्फत तपाईंहरूसँग भोट माग्दै छु, तर मैले मागेको भोट एमालेको जितका लागि होइन, तपाईं र तपाईंको सन्तानको सुःखका लागि। यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिह्नमा मतदान गर्नुहुनेछ। त्यसैले सूर्य चिह्नमा मतदान गर्नुस्।’ भिडियोको अन्तिम सन्देश दिँदै ओलीले भनेका छन्।