रुकुम पूर्व : सत्तागठबन्धन र एमाले अन्तिम कसरतमा

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा प्रतिनिधिसभामा सत्तागठबन्धनको जित सहज देखिन्छ, तर एमाले उम्मेदवार पनि आक्रामक प्रचारमा छन्

आगामी ४ मंसिरमा हुने निर्वाचनमा रुकुम पूर्वमा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार पूर्णबहादुर घर्ती र एमालेका कैलाशकुमार मल्लबीच प्रतिस्पर्धा हुँदै छ । 

लुम्बिनी प्रदेशका निर्वतमान सभामुख घर्ती प्रतिनिधिसभामा आउने दाउमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मल्ल चुनौती बनेका छन् । स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीसमेत चुनावी मैदानमा छन् । 

विगतका निर्वाचनमा पाएको मतको अंकगणितका आधारमा प्रतिनिधिसभामा गठबन्धनको समेत साथ रहेका माओवादी उम्मेदवार घर्तीलाई नतिजा आफ्नो पक्षमा निकाल्न सहज देखिए पनि प्रदेशमा भने बागीले चुनौती खडा गरेका छन् । 

प्रतिनिधिसभामा ढुक्क देखिएको वाम–लोकतान्त्रिक गठबन्धनलाई रुकुम पूर्वमा प्रदेश सभामा स्वतन्त्रको चुनौती छ । एक प्रतिनधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा वाम लोकतान्त्रिक गठबन्धन छ । प्रतिनिधिसभा र एक प्रदेश सभा माओवादीको भागमा परेको छ भने एउटा प्रदेश सभा कांग्रेसले पाएको छ । माओवादीले पाएको प्रदेश सभा ‘क’ र कांग्रेसले पाएको प्रदेश सभा ‘ख’ दुवै क्षेत्रमा बागी उम्मेदवारी परेको छ ।

माओवादी उम्मेदवार घर्तीको प्रतिबद्धता
गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर घर्तीले जिल्लाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जिल्लामा धेरै विकासको आवश्यकता रहेकोले यो निर्वाचन जिल्लाको विकासका लागि कोसेढुंगा साबित हुनेसमेत उनको दाबी छ ।

मुख्य प्रतिस्पर्धी दल माओवादी, कांग्रेस, नेकपा एसलगायतका दल एक ठाउँमा आउनुले जिल्लाको विकासको ढोका खोलेको उनी बताउँछन् । ‘जिल्लामा अझै पनि आधारभूत विकासको चरण पूरा नभएकोले सबै ठाउँमा सडक, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चारको राम्रो पहुँचका लागि काम गर्नेछु,’ उनले भने । जिल्लाका लागि के आवश्यक छ भनेर आफू जानकार रहेकोले विकासका लागि काम गर्न सहज हुने उनको भनाइ छ । 

चुनाव जित्ने एमालेको दाबी
एमाले रुकुम पूर्वले प्रतिनिधिसभामा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेको छ । माओवादीभित्रको अन्तर्विरोधका कारण आफूले चुनाव जित्ने एमाले नेताको भनाइ छ । 

‘उम्मेदवार छनाेट तथा प्रदेश सभा (ख) कांग्रेसलाई दिएका कारण माओवादीभित्र तीव्र अन्तर्विरोध छ, एक–आपसमा असमझदारी बढेको छ,’ एमाले जिल्ला अध्यक्ष टोपबहादुर ओली भन्छन्, ‘त्यसकारण माओवादीका कार्यकर्ता र जनता माओवादीप्रति रुष्ट बनेका छन्, त्यसैले हामी चुनाव जित्छौँ ।’ 

स्थानीय समस्यालाई हल गर्ने गरी प्रतिबद्धतापत्र तयार पारिएको उनले बताए । स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिको विशेष विकासका लागि योजना बनाएर अघि बढ्ने योजना रहेको उनको भनाइ छ । जिल्लामा एमालेप्रति जनलहर रहेको अध्यक्ष ओलीले बताए । प्रतिनिधिसभा र प्रदेश सभा (ख)मा एमाले तथा (क)मा स्वतन्त्रले चुनाव जित्ने उनले दाबी गरे । 

यस्तो छ अंकगणित 
जिल्लामा जनमतका आधारमा माओवादी पहिलो र कांग्रेस दोस्रो तथा एमाले तेस्रो शक्ति हो । जिल्लामा मतदाता संख्या ३४ हजार एक सय १२ छ । गत ३० वैशाखमा सम्पन्न  स्थानीय तह निर्वाचनमा जिल्लाका तीनवटै पालिकामा माओवादीले जितेको थियो । एमालेले सिस्ने गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने कांग्रेस वडामा सीमित छ । 

गत स्थानीय तहको निर्वाचनमा माओवादीका वडाध्यक्षले जिल्लाभरमा ११ हजार ६ सय २१ मत पाएको छ । कांग्रेसको ६ हजार पाँच सय २३ मत छ । माओवादी र कांग्रेसको मत जिल्लामा १८ हजार एक सय ४४ छ । यसमा केही मत गठबन्धनमा आबद्ध अन्य दलको थपिने देखिन्छ । 

मुख्य प्रतिस्पर्धी एमालेको मत जिल्लामा चार हजार पाँच सय २१ मात्र रहेको छ । जिल्लाभरमा वडाध्यक्षमा जसपाको मत ९०, राप्रपाको ९, मंगोल नेसनल अर्गनाइजेसनको पाँच र स्वतन्त्रको २१ मत छ । अंकगणितका आधारमा गठबन्धनका उम्मेदवार पूर्णबहादुर घर्ती सुरक्षित देखिएका छन् । 

प्रदेश ‘१’ मा माओवादीका तेजबहादुर ओलीलाई स्वतन्त्रको चुनौती
प्रदेश १ बाट गठबन्धनका आधिकारिक उम्मेदवार तेजबहादुर ओली दोस्रो जितको खोजीमा छन् । ०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रबाट विजयी भएर पाँच वर्ष लुम्बिनी प्रदेश सभा सदस्य भइसकेका छन् । 

०७४ मा सहज जित हासिल गरेका ओलीलाई दोस्रोपटक विजयी हुन भने त्यति सहज देखिन्न । धेरै बागी उम्मेदवार भएकाले उनलाई यसपटक निकै चुनौती छ । आफ्नै पार्टीबाट बागी परेको, एमालेको पनि समर्थन रहेको र कांग्रेसबाट पनि बागी उम्मेदवारी परेकोले ओलीलाई कठिन छ । यो क्षेत्रबाट दुतकुमार पुनले गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका छन् । 

एमालेले उम्मेदवारी निष्क्रिय पारेर स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई समर्थन गरेको छ । गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् । केही नेताले स्वतन्त्रलाई सहयोग गरेको भए पनि कार्यकर्ता र मतदाता कतै नगएको उनको भनाइ छ । 

स्वतन्त्र उम्मेदवार सुरुल पुनले अरू पार्टीभित्रको सामन्ती चिन्तनविरुद्ध उम्मेदवारी दिनुपरेको बताएका छन् । उत्पीडनमा परेको क्षेत्र, वर्ग र समुदायलाई फेरि पनि उपेक्षा गर्न खोजिएपछि उनीहरूको प्रतिनिधित्वका लागि आफूले उम्मेदवारी दिएको बताए । अहिलेसम्म खाम मगरभाषी समुदायको कोही पनि राज्यको ठूलो क्षेत्रमा पुग्न नसकेको उनले बताए । आफूहरू सधैँ भोट बैंक मात्र नबन्ने र त्यसको प्रतिकार गरेको उनी बताउँछन् । 

प्रदेश ‘२’ मा गठबन्धनलाई बागीको डर 
रुकुम पूर्व प्रदेश सभा ‘२’ मा पनि चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । गठबन्धनबाट कांग्रेसका धनबहादुर केसी चुनावी मैदानमा छन् । तर, सिट बाँडफाँडमा अन्याय भएको भन्दै माओवादी केन्द्रबाट दुईजनाको उम्मेदवारी परेको छ । 
माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल र माओवादीका स्थानीय नेता नरहरि खड्काले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छन् । उनीहरूलाई अहिले पार्टीले कारबाही गरिसकेको छ । यसले चुनावलाई झनै प्रतिस्पर्धात्मक बनाएको छ । गठबन्धन चुनाव जित्नेमा ढुक्क देखिन्छ भने स्वतन्त्रले पनि माओवादीको मतले विजयी हुने विश्वासमा छन् । 

गठबन्धनका तर्फबाट उम्मेदवार केसीले केही व्यक्तिले महत्वाकांक्षी भएर पार्टी र गठबन्धनको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिए पनि यसले कुनै असर नगर्ने बताए । उनले जिल्लाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको र आफ्नो जित सुनिश्चित भइसकेको बताए । उनले आफूले विजयी भएमा राज्यबाट कुनै सेवा सुविधा नलिएर जिल्लावासीको सेवा गर्ने प्रतिबद्धता गरेका छन् । 

एमाले गठबन्धनभित्रको असन्तुष्टिको फाइदा उठाउने दाउमा छ । महिला उम्मेदवार भएकोले सबै पार्टीका महिलाको मतको आस पनि गरेको छ । एमाले उम्मेदवार भावना बुढाथोकीले अरू कुनै महिला उम्मेदवार नभएकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । 

आफ्ना पार्टीका सबै मत आफूलाई आउने र अन्य पार्टीका महिलाको मतसमेत आफूलाई आउने उनको विश्वास छ । अहिले घरदैलोमार्फत जनताको बीचमा जाँदा पनि ठूलो साथ र सहयोग पाइरहेको उनले बताइन् ।

स्वतन्त्र उम्मेदवार केशव रावलले आफूले माओवादीको मात्र नभई सबै पार्टीको मत पाउने दाबी गरे । सबैभन्दा अब्बल उम्मेदवार पनि आफू नै रहेको उनले दाबी गरे । रावलले आफूले चुनाव जितेमा आफ्नो निर्वाचन क्षेत्रका सबै १२ वटा वडामा एम्बुलेन्सको व्यवस्था गर्ने, रोजगारी सिर्जना गर्न भूमिका खेल्ने र बेरोजगारलाई भत्ता उपलब्ध गराउनेजस्ता प्रतिबद्धता गरिरहेका छन् । यस प्रदेशमा राप्रपाका केशवचन्द्र समाल पनि चुनावी प्रतिस्पर्धामा छन् । 

सुझावित समाचार