आसन्न मंसिर ४ गते हुने निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभामा एकजना र प्रदेश सभामा दुईजना उम्मेदवार चुनिनेछन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रदेश निर्वाचन क्षेत्र (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्तागठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार छन् भने एमालेबाट धीरेन्द्रराज गिरीको उम्मेदवारी रहेको छ । यस्तै, कांग्रेस नेता देवेन्द्रबहादुर शाही पनि प्रदेश सभाकै लागि उम्मेदवार बनेका छन् । नेमकिपाबाट राजेश्वर देवकोटाको उम्मेदवारी भए पनि प्रतिस्पर्धी ठानिएको छैन ।
सत्तागठन्धनबाट प्रदेश (क) मा उम्मेदवार बनेका कांग्रेस सभापति शाही ०५१ र ०५६ सालको चुनावमा स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यतिवेला लाल हमाल र दीनबन्धु श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो । पछि ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही निर्वाचित भए । दुईपटक हाँस चुनाव चिह्न लिएर पराजित भएका शाहीकै विरुद्ध कांग्रेसकै देवेन्द्र शाही धारो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका छन् । स्वतन्त्र उम्मेदवार शाहीले चुनाव जित्ने दाबी गर्दै आएका छन् । कांग्रेसलाई सधैँ बागी उम्मेदवारकै पिरलो हुने गरेको छ ।
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचन भए । उनी पनि कांग्रेसकै नेता हुन् । कांग्रेस पार्टीले मेयर पदमा पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताको संख्या ६८ हजार ६ सय ३८ जना रहेको छ । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेश सभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । ०७४ को प्रदेश सभा निर्वाचनमा प्रदेश (क) बाट माओवादीका नरेश भण्डारी निर्वाचित भएका थिए ।
के भन्छन् प्रदेश सभाका उम्मेदवार
ललितजंग शाही
गठबन्धनले चुनाव जित्ने दाबी गर्दै आएका शाहीले जुम्लाका आधारभूत विकासका मुद्दालाई प्राथमिकता दिएका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कृषि, पर्यटन, सिँचाइलगायतका क्षेत्रको आधारभूत विकास र नीति निर्माण तथा विगतमा लक्ष्य राखेर पहल गरेर हुन नसकेका अघि अपूरा जलविद्युत् उत्पादन तथा स्वास्थ्य क्षेत्रको विकास गर्ने एजेन्डा अघि सारेका छन् ।
‘अवसर दिँदादिँदै, सम्मान गर्दागर्दै पार्टीका केही जिम्मेवार नेताहरू विद्रोहको नाम दिएर चोक्षटिएका मात्र हुन् । त्यसले कुनै ठूलो असर गर्दैन,’ उम्मेदवार शाहीले भने, ‘केही प्रतिशत कांग्रेसका मत काटिन सक्छ । तर, गठबन्धन दल माओवादी र एकीकृत समाजवादीबाट काटिएभन्दा बढी भोट आउनेछ ।’ जनताले मलाई भोट दिएर पछुताउनुपर्ने छैन । म जनताको सच्चा सेवक बन्न, जुम्लाको सर्वपक्षीय विकास गर्न आफ्नो उम्मेदवारी रहेको शाहीको भनाइ छ ।
०७० सालको चुनाव जितेर जाँदा मैले सक्नेजति विकास निर्माण त गरेँ नै । सबैभन्दा महत्वपूर्ण काम संविधान निर्माण गरी जारी गरियो । तथापि, विगतमा नागरिकको अपेक्षाकृत काम हुन नसकेको महसुस गरेको उनले बताए । त्यसैले आगामी मंसिर ४ मा हुने निर्वाचनबाट जितेर सच्चा जनताको सेवक बन्ने र समृद्ध जुम्ला बनाउने हुटहुटी रहेको उनको भनाइ छ ।
शाही भन्छन्, ‘गठबन्धनप्रति म पूर्ण विश्वस्त छु । यसमा कुनै शंका छैन । जनता पनि विचारमा विचलित भएको देखिँदैन । विगतमा पनि जुम्लाको विकास र निकासका लागि मेरो योगदान र पहल कतै कमी छैन । अहिले पनि जनताका आधारभूत विकासका मुद्दालाई प्राथमिकता दिएको छु । जनताको सेवक बन्न अठोट गरेको छु । त्यसैले पनि जित्नेमा कुनै द्विविधा छैन ।’
मुख्यतया ०७० सालमा निर्वाचित भएपछि मुलुकको संविधान निर्माणदेखि जारी प्रक्रियासम्म महत्वपूर्ण भूमिका र योगदान रह्यो । त्यसका साथै जुम्लाको विकासका लागि उल्लेखनीय काम तथा पहल भएको शाहीले बताए । उर्थुमा पक्की पुल शिलान्यास, नयाँ बसपार्कनजिक पक्की पुल निर्माण, तिलाको त्रिवेणी हुँदै ताम्ती टोप्ला जाजरकोट जोड्ने पक्की पुल निर्माण, जुम्ला उर्थु, पटमारा, बुलबुले रारा सडकको ट्रयाक खोल्न पहल गरेको उनले बताए ।
सिटामोल नपाउने जुम्लामा कर्णालीमा स्वास्थ्य सेवा, अध्ययन र अनुसन्धानका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि सदनमा नियमित दबाब दिने बोल्ने गरेको र तत्कालीन अर्थमन्त्री कांग्रेस नेता रामशरण महत हुँदा बजेट पास गरेर प्रतिष्ठानले मूर्तरूप पाएको थियो । जुम्लामा जवा नदीबाट पाँच मेगावाट विद्युत् उत्पादनका लागि बजेटसहित व्यवस्था गरे पनि प्रक्रियागत हिसाबले काम नभएको, विद्युत् उत्पादन काम अघि नबढेपछि आफ्नै सरकारका विरुद्धमा सर्वाेच्चमा रिट दिएको, तर अहिले जितेपछि विद्युत् उत्पादनको कामलाई जोड दिइने उनको भनाइ छ ।
देवेन्द्रबहादुर शाही
०७४ को चुनावमा पराजय भोगेकाले पनि प्रदेशमा पाउनुपर्छ भन्ने मेरो माग पहिलादेखि भए पनि पार्टीका नेतृत्वले वास्ता नगरेपछि स्वाभाविक विद्रोहका रूपमा स्वतन्त्र उम्मेदवारी दिएको शाहीको भनाइ छ ।
पार्टीभित्रको लगानी, त्याग, तपस्या र बलिदानीको बेवास्ता गर्दै भनसुन र चाप्लुसीका भरमा नेतालाई टिकट दिइएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको शाहीले बताए ।
‘राम्रो काम गर्न खोज्ने, जनमत भएको, जनताले विश्वास गरेको व्यक्तिलाई पछार्ने, कामै नगर्ने र अरूले गरेकोमा रजाइँ गर्ने प्रवृत्ति र व्यक्तिका विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी हो,’ शाहीले भने, ‘जनता नयाँ अनुहारको प्रतीक्षामा छन् । राजनीतिमा देखिने उही अनुहारले मतदाता आजित भइसकेका छन् । म व्यक्ति प्रवृत्तिका विरुद्धमा उत्रिएको छु । म गणतन्त्र, लोकतन्त्रकै पक्षधर व्यक्ति भएकाले गठबन्धन अझ कांग्रेसभित्रकै बहुमत र अन्य दलको सम्मानजनक मतबाटै जित्नेमा विश्वस्त छु ।’
जल, जमिन, जडीबुटी, खानेपानीलगायत जनताका आधारभूत विकासका एजेन्डा बोकेर घरदैलामा गइरहेका शाही जनताबाट राम्रो प्रतिक्रिया पाएको बताउँछन् । दलभन्दा पनि व्यक्ति हेर्ने पक्षमा धेरै मतदाता भएकाले आफ्नो जितमा कुनै दुईमत नरहेको बताउँदै उनले भने, ‘झन्डै तीन दशक लामो मेरो राजनीतिक जीवन र निर्माण व्यवसायी हुँदा धेरै मजदुरदेखि गाउँका निम्न वर्गका व्यक्तिसँग सहकार्य भएको छ । सबैले मेरो आनीबानीदेखि मेरो जीवनशैली राम्ररी बुझेका छन् । घरदैलोमा मैले कुनै सपना बाँडेको छैन । जे गर्छु जितिसकेपछि मात्रै गर्छु भन्ने मेरो सकंल्प छ ।’
शाहीले भने, ‘२०७४ को चुनावमा वामपन्थी दल एकातिर र नेपाली कांग्रेस एक्लै चुनाव लड्दा कांग्रेससँग जम्मा १० हजार भोट मात्रै थियो । तर, मैले १४ हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजय भोग्नुपर्याे । बढी आएका चार हजार मत मेरा शुभचिन्तकको माया थियो । त्यस्तै, माया मंसिर ४ को चुनावमा पनि पाउँछु । दलकै मतदाताले जिताउनेछन् ।’
धीरेन्द्रराज गिरी
नेकपा एमालेका तर्फबाट जुम्ला निर्वाचन क्षेत्र (क) बाट धीरेन्द्र गिरी पहिलोपल्ट चुनावी मैदानमा छन् । ०४६ सालपछिका विभिन्न आन्दोलनले जन्माएको एक बौद्धिक, निडर, समाजसेवी र पाका नेतामध्ये पर्छन् उम्मेदवार गिरी ।
विभिन्न आन्दोलनको नेतृत्व गर्दै झन्डै तीन दशकदेखि जनतामाझ रहेर काम गरेका धीरेन्द्र गिरीले प्रदेश सभा सदस्यका लागि जुम्ला प्रदेश (क)बाट पहिलोपटक चुनावी मैदानमा होमिँदा कतिपयले उनलाई कमजोर उम्मेदवारका रूपमा टिप्पणी गरे पनि जनताले प्रतीक्षा गरेको नयाँ अनुहार र सक्षम पात्र आफू नै रहेको र आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरेका छन् ।
जनताको भावना र मुलुकको हितविपरीत भएको गठबन्धनबाट जनता सन्तुष्ट छैन । जुम्लामा भएको तीनदलीय गठन्बन्धनभित्रको विवाद, तिक्तता र अविश्वास अझै कायम रहेको छ । उनले भने, ‘पछिल्लो समय नेकपा एमाले झन् बलियो हुँदै गएको छ । म पनि दशकौँदेखि जनताकाे माझमै रहेको मान्छे हुँ । मलाई जनताले नजिकबाट नियालेका छन्, कांग्रेसभित्रकै बागी उम्मेदवार हुनु, राप्रपाको उम्मेदवार नहुनु, नेमकिपा कमजोर हुनु नै मेरो जित्ने आधार हुन् । मेरो जित सुनिश्चित भएपछि धेरैलाई टाउकोदुखाइ बनेको छ ।’
मतदाताका असीमित माग छन् । तर, मैले घरदैलोमा जाँदा मतदाताको गुनासो सुने पनि अन्य उम्मेदवारजस्तो यसो गर्छु र उसो गर्छु भनेर महोत्वाकांक्षी सपना बाँडेको छैन । मेरो प्राथमिकता नीति निर्माणमा रहन्छ । जितिसकेपछि मतदाता बिर्सने प्रवृत्तिको अन्त्य गरी पुनः मतदातासामु गएर उनका गुनासा सुनी कार्यक्रम बनाउने लक्ष्य राखेको गिरीको भनाइ छ ।
एमालेको लोकप्रियता देखेर अत्तालिएर कांग्रेस, माओवादी र समाजवादीलगायतका पार्टीले पत्तासाफ हुने डरले गठबन्धन गर्न लागेको उनको भनाइ छ । जुम्लाको शिक्षा, स्वास्थ्यलाई अब्बल बनाउन, पर्यटन प्रवर्द्धनको ठोस नीति बनाउन, जुम्लाको जल, जमिन, जडीबुटी, जंगलको संरक्षण, परिचालन गर्न, रोजगारी सिर्जना गर्न, कृषि उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणको नीति बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
जुम्लाको आर्थिक समृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन, सडक विस्तार र किसानको जीवनसुधार हुने खालको नीति निर्माणमा जोड दिनेसमेत उनको प्रतिबद्धता छ । नीतिविना विकास र समद्धि सम्भव छैन । अहिलेसम्म कर्णालीमा यातायातको भाडादर निर्धारण गर्ने, विभिन्न राजस्व उठाउने, स्रोत परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने, निर्यात प्रवर्द्धनजस्ता अत्यावश्यक कानुन बनेका छैनन् । जसका कारण सम्भावना भएर पनि जुम्लीले अवसर पाएका छैनन् । त्यसैले आफ्नो पहिलो प्राथमिकता नै नीति निर्माणमा रहनेसमेत उम्मेदवार गिरीले बताए ।