१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारत जाने नेपाली भन्छन् – भोटभन्दा भोको पेट पाल्ने चिन्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:४४:oo

सल्यानस्थित बनगाड कुपिण्डे नगरपालिका, सल्लीबजारका गोविन्द पुन सोमबार नेपालगन्जस्थित जमुनाह नाकामा भेटिए। श्रीमती, छोराछोरीसहित कामका लागि भारत जान हिँडेका उनले राजनीतिक दल र उनीहरूका नेताले जनताको भावना नबुझेको भन्दै आक्रोश पोखे। उनले जनताको मत लिएर सरकारमा पुगेका नेताहरूमात्र धनी भएको गुनासो गरे। उनले चुनावभन्दा गाँसको महत्व भएको बताए। 

‘भोट हालेर खानलाउन पुग्दैन। समयमा दुई–चार रुपैयाँ नकमाए खान पाइँदैन,’ उनले भने। 

नेता र जनप्रतिनिधिले जनताको भावनाको कदर नगरेको उनले बताए। निर्वाचनका वेला आश्वासन बाँड्ने नेताहरू जितेर गएपछि फर्केर नआएको उनको गुनासो थियो। 

‘हामीले भनेको नमान्ने। उनीहरु (नेता) लाई भोट दिएर हामीले मात्र ठूलो किन बनाउने हो। हामीले भोट दिएर जितेपछि हाम्रो भावना बुझ्नुपर्दैन। उनीहरूले हाम्रो भावनाको कदर गर्दैनन् भने हामीले पनि भोट हाल्नुपर्यो,’ उनले भने। 

निर्वाचनको मुखमै तुल्सीपुर उपहानगरपालिका ५, रानीजरुवाका जितबहादुर विक पनि भारतको चण्डीगढ गएका छन्। उनले पेट पाल्नका लागि भारत जान लागेको बताए। भोट नहालेर किन भारत जान लाग्नुभयो भन्ने नयाँ पत्रिकाको जिज्ञासामा उनले भोटले भोको पेट नभरिने जिकिर गरे।

हरेक निर्वाचनमा भोट हालेर मन परेको जनप्रतिनिधि चयन गरेका उनी जनप्रतिनिधिको काम गर्ने शैलीबाट विरक्त लागेको बताए। ‘हाम्रो भोट पाएर नेताहरू सांसद, मन्त्री बन्छन्। ठूला–ठूला महल बनाउँछन्। महँगा गाडी चढ्छन् र सरकारको ढुकुटीमा रमाउँछन्,’ उनले भने, ‘हामीले सडक, बिजुली, विद्युत्, विद्यालय बनाई देऊ भन्दा बजेट छैन भन्दै पन्छिन्छन्, अहिले भोट दिएर पछुताउनुभन्दा भोट नहाल्न उचित लाग्यो।’

जनप्रतिनिधिहरूको काम गर्ने शैली मन नपरेपछि चौरजहारी नगरपालिका १३, रुकुमका भीमबहादुर ओली पनि भोट नहालेर भारतको सिम्लातर्फ लागेका छन्। पत्नी र दुई छोराछोरी साथमा लिएर कामका लागि सिम्ला जान लागेको उनले बताए। 

उनले पैसा कमाउन हतार भएकोले भोट हाल्ने समय नकुरेको बताए। ‘साहुले बोलाएको समयमा नजाने हो भने काम पाइँदैन। भोट हाल्नेभन्दा काम प्यारो लाग्यो,’ उनले भने, ‘भोट त अर्को वर्ष पनि हाल्न पाइन्छ। रोजगारी गुम्यो भने भोकभोकै मर्नुपर्छ। हाम्रो लागि भोटभन्दा रोजगारी नै महत्व छ।’ 

भोट हाल्नकै लागि फर्किएका होइनन् नेपाली

भारतबाट फर्किने नेपालीहरू भोट दिने नेता अहिलेसम्म चयन नगरेको बताएका छन्। भारतको चण्डीगढबाट फर्किँदै गरेका बाँके खजुराका हिक्मत सुनारले घरको कामसँगै भोट हाल्नका लागि नेपाल आएको बताए। 

उनले कुन र कस्तो नेतालाई मतदान गर्ने भन्ने निर्क्याैल भइनसकेको स्पष्ट पारे। ‘यसलाई भोट हाल्ने भन्ने अहिलेसम्म निर्क्याैल भइसकेको छैन। गाउँमा गएपछि सल्लाह गरेर कुन नेतालाई भोट हाल्ने निर्णय होला,’ उनले भने।

घर फर्किंदै गरेका सल्यान कपुरकोटका भद्रबहादुर थापा पनि जमुनाह नाकामा भेटिए। उनी पूर्णिमा मनाउन घर आएको बताए। पूर्णिमा र मतदान गर्ने समय सँगसँगै भए मात्र भोट हाल्ने उनले स्पष्ट पारे। ‘पूर्णिमा सकिएलगत्तै मतदान गर्ने दिन पर्यो भने मात्र भोट हाल्छु। नत्र निर्वाचनमा सहभागी नहुन पनि सकिन्छ,’ उनले भने। उनले निर्वाचनलाई खासै चासो नदिएको बताए। 

दैनिक तीन सय नेपाली भारत पलायन

निर्वाचनको समय नजिकिए पनि जमुनाह नाकाबाट दैनिक करिब तीन सय नेपाली कामका लागि भारत पलायन हुने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए। उनले निर्वाचनले भारत जानेलाई रोक्न नसकेको बताए। उनले निर्वाचनको समय नजिकिए पनि फर्किनेको संख्या नबढेको बताए। भारतबाट फर्किने नेपालीहरू भोट हाल्नकै लागि नफर्किएको बताउँदै उनले विगत सात दिनदेखि दैनिक सरदर तीन–चार सय नेपाली फर्किने गरेको बताए। 

‘भोट हाल्नकै लागि फर्किनेको संख्या एकदमै न्यून छ। घरको कामसँगै भोट हाल्न आएको भन्नेहरू धेरै भएको पाइन्छ,’ रिजालले भने।

ad
ad