
युवा कप्तान रोहितकुमार पौडेलले नेतृत्वमा त्रिवि क्रिकेट मैदानमा सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईविरुद्ध पहिलो एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्दै छ । तीन एकदिवसीय शृंखलाका लागि युएई टोली नेपाल भ्रमणमा आएको हो । दुवै टोलीका कप्तान तथा प्रशिक्षकले खेलको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा तयारी राम्रो भएको बताए । नेपाल र युएईले विश्वकप छनोटका लागि यो शृंखलाबाट राम्रो अनुभव बटुल्ने जनाएका छन् ।
नेपालका कप्तान रोहितकुमारले घरेलु मैदानमा समर्थकका साथमा जित निकाल्ने बताएका छन् । युएईविरुद्धका लागि टोली तयार भएको उनले बताए । यसैगरी, नेपालका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपालको टोलीमा क्षमतावान् युवा खेलाडी भएको बताए । प्रभाकरले युएईविरुद्धको एकदिवसीयमा चुनौती रहेको जनाए ।
युएईका कप्तान सिपी रिजवानले नेपाली युवा क्रिकेटले राम्रो क्रिकेट खेलेको बताए । ‘हामीले नेपाललाई हल्का रूपमा लिएका छैनौँ, हालै नियुक्त भएका कप्तान रोहितलाई राम्रोसँग चिनेको छु,’ रिजवानले भने ।
रोहितले पूर्वकप्तान सन्दीपको नाममा रहेको रेकर्ड तोड्न सफल भएका छन् ।नवलपरासीमा जन्मेका रोहित २० वर्ष ७३ दिनका भएका छन् । यसअघि, सन्दीपले समेत पूर्वकप्तानद्वय पारस खड्का र विनोद दासलाई पछि पार्दै कान्छा कप्तान बनेका थिए । ‘पारस र म २२ वर्षमा कप्तान भएका थियौँ, त्यसपछि सन्दीप कान्छा कप्तान बने,’ पूर्वकप्तान विनोद दासले नयाँ पत्रिकासँग भने, ‘अहिले अब यो रेकर्डमा रोहित उभिएका छन् ।’ दासले आफ्नो प्रशिक्षणमा रोहितलाई सन् २०१६ को एसिया कप छनोटका लागि ‘ट्यालेन्ट हन्ट’बाट यू–१९ राष्ट्रिय टोलीमा छनोट गरेका थिए । सन् २०१९ मा रोहितले यू–१९ टोलीको कप्तानी नै गरेका थिए ।
अवसरका रूपमा लिने
रोहितले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा लिने बताएका छन् । रोहितको कप्तानीमा नेपालले पहिलो एकदिवसीय शृंखला खेल्दै छ । नेपालले घरेलु मैदानमा सोमबारबाट संयुक्त अरब इमिरेट्स (युएई)सँग तीन एकदिवसीय शृंखला खेल्नेछ । जुन रोहितको पहिलो कप्तानी इनिङ्स हुनेछ । ‘यो जिम्मेवारीलाई चुनौतीभन्दा अवसरका रूपमा लिएको छु,’ रोहितले भने, ‘घरेलु मैदानमा समर्थकको साथ उपाधि जितेर प्रमाणित पनि गर्छाैँ ।’ रोहितले सन् २०१८ जुलाईमा लड्र्समा मेलबर्न क्रिकेट क्लबविरुद्धको शृंखलाबाट राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
सन् २०१८ मा आइसिसी विश्व क्रिकेट डिभिजन २ मा नामिबियाविरुद्ध खेल्दै एकदिवसीय खेलबाट डेब्यु गरे । रोहितले युएईसँग खेल्नुअघि घरेलु प्रतियोगिता खेलेकाले पनि खेलाडी फिट भएको बताएका छन् । ‘यो शृंखलाअघि घरेलु प्रतियोगिता भयो । यसले गर्दा युएईविरुद्ध हामी सबै फिट छौँ,’ रोहितले भने ।
कीर्तिमानको चाङ
पछिल्लो समय रोहित नेपाली टोलीका उपकप्तान थिए । उनले यो जिम्मेवारी गत जेठदेखि पाएका थिए । केन्या भ्रमणमा रोहितले अन्तिम खेलमा कप्तानी जिम्मेवारीको अवसर पाएका थिए । त्यसवेला क्यारेबियन क्रिकेट लिग (सिपिएल) खेल्न जानुपरेका कारण सन्दीपले केन्या भ्रमण बीचमै छाडेका थिए । जसका कारण रोहितले केन्यासँगको अन्तिम खेलमा कप्तानी गरे । नेपाली क्रिकेटमा रोहितका नाममा केही रोचक रेकर्डहरू छन् । रोहित कम उमेरमा (१५ वर्ष ३३५ दिन) एकदिवसीय क्रिकेट खेल्ने खेलाडी हुन् । एकदिवसीय क्रिकेटमा १९ वर्ष २०४ दिनमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । रोहितले कीर्तिपुरको त्रिवि मैदानमा पपुवा न्युगिनीविरुद्ध एक सय २६ रन बनाएका थिए ।