१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २७ आइतबार १o:५३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन हुन्छ टाउको दुख्ने  समस्या ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १o:५३:oo

जो–कोहीलाई पनि टाउको दुख्छ । टाउको दुख्यो भनेर हामी अस्पताल पनि जान्छौँ । सबै रिपोर्ट सामान्य आउँछ । तर, बिरामीको टाउको दुखाइ भने कम हुँदैन । टाउको दुखेकै कारण काम गर्न मन नलाग्ने, गर्न नसक्ने हुन्छ । जसले बिरामीलाई पीडामाथि पीडा थपिदिएको हुन्छ । 

माइग्रेन 
हाम्रो ब्रेनमा ब्लड सप्लाई हुन्छ । रगतको नसा, धमनीहरूबाट गएको हुन्छ । नसा खुम्चिएर बस्यो भने टाउको दुखाइ हुन्छ । यसलाई माइग्रेन भन्छौँ । माइग्रेन भनेको टाउको दुख्ने रोग हो । माइग्रेनको समस्या पुरुषको तुलनामा धेरैजसो महिलामा हुन्छ । महिनावारी सुरु भएदेखि नसकुन्जेल धेरैजसो महिलामा टाउको दुखाइ हुन्छ । यसमा ८० प्रतिशतमा माइग्रेन रोग नै हुन्छ । 

माइग्रेन रोगको हार्मोनसँग रिलेसन हुन्छ । महिलाको महिनावारी हुँदा, अन्डा निस्कँदा, शरीरका फिमेल हर्मोन एक्कासि परिवर्तन हुन्छ । यसले गर्दा रगतको नसामा एक किसिमको तनाव उत्पन्न हुन्छ । जसकारण, धेरैजसो महिलाको टाउको दुख्ने हुन्छ । कसै–कसैको महिनामा एक–दुईपटक दुख्ने हुन्छ भने कसैको हप्तामा एकपटक मात्र । धेरैजसो महिलामा महिनावारी बन्द भएपछि टाउको दुखाइ हराएर जान पनि सक्छ ।

परिवार नियोजनको साधन प्रयोग गर्ने महिलामा पनि यो समस्या हुन सक्छ । खानपानका कारणले पनि माइग्रेन हुन्छ, जस्तो– चकलेट, अलकोहल, पेयपदार्थ । यी चिज नखाने । तनावमुक्त जीवन बिताउने । निद्रा पुर्‍याउने । खानेकुरा बार्ने । भिडभाडमा धेरै नजाने । धेरै टाउको दुखेको छ भने सम्बन्धित चिकित्सकको सम्पर्कमा जाने । चिकित्सकको सल्लाहमा उपचार गरेमा माइग्रेनबाट छुटकारा पाउन सकिन्छ । 

कारण
कसैको आँखामा समस्या भयो भने पनि टाउको दुख्छ । पिनासको समस्या भयो भने पनि टाउको दुख्छ । प्रेसर बढ्यो भने पनि टाउको दुख्छ । भिटामिन डीको कमी भयो भने पनि टाउको दुख्छ । निद्रा पुगेन भने पनि टाउको दुख्छ । कब्जियत भयो भने पनि टाउको दुख्छ । तनाव लिँदा पनि टाउको दुख्छ ।

लक्षण
माइग्रेनको टाउको दुखाइ नियमित रूपमा नहुन पनि सक्छ । यसलाई ‘इपिसोडिक हेड्याक’ भनिन्छ । कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा । जतिवेला टाउको दुख्छ, त्यतिवेला असह्य पीडा हुन्छ । एकपटक माइग्रेन एपिसोड भयो भने चार घन्टादेखि लिएर ७२ घन्टासम्म टाउको दुखिरहन सक्छ । 

कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई बान्तासमेत हुने हुन्छ । घाममा हिँड्दा टाउको दुखाइ बढ्ने, टेलिफोनमा कुरा गर्दा, भिडभाडमा जाँदा, टाउको दुख्ने हुन्छ । यसलाई पल्सेटाइल भनिन्छ । तर, सबै टाउको दुखाइलाई माइग्रेन भन्न मिल्दैन ।

उपचार
टाउको दुखाइको उपचार गर्नका लागि सर्वप्रथम दुखाइको कारण बुझ्न जरुरी हुन्छ । आँखाको जाँच गर्ने, पिनास हो–होइन जाँच गर्ने, नियमित निद्रा पुगे–नपुगेको याद गर्ने, दिसा–पिसाब राम्रोसँग भए–नभएको, ज्वरो आए–नआएको, बेहोस हुने गरे–नगरेको, छारे रोग भए–नभएको बुझ्न जरुरी हुन्छ । यदि टाउको धेरै दुखेको छ भने ब्रेनको स्क्यान गरेर हेर्नुपर्छ । जसमा सिटीस्क्यान वा एमआरआई गरेर हेर्नुपर्छ । ब्रेन ट्युमर जाँच गर्नुपर्छ ।