मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Saturday, 21 December, 2024
२o७९ कार्तिक २४ बिहीबार o६:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शोकमा डोटीको गैरागाउँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार o६:५६:oo

भूकम्पमा परेर ६ जनाको मृत्यु भएपछि डोटीको पूर्वीचौकी गाउँपालिका– ३, गैरागाउँ शोकमा डुबेको छ । दुई घर पूर्ण रूपमा भत्किँदा भएको मानवीय क्षतिमा चार बालबालिका परेका छन् । घरभित्र सुतिरहेका वेला राति भूकम्पले घर भत्किएपछि उनीहरू च्यापिएका हुन् । सोही ठाउँका पाँचजना घाइते भएका छन् । 

मृत्यु हुनेमा गैरागाउँकी ४० वर्षीया भगवती बोहरा, उनका छोरा आठ वर्षीय हर्क बोहरा र छोरी १३ वर्षीया सीता बोहरा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० वर्षीय प्रेम बोहरा, उनकी छोरी १४ वर्षीया तुलसी बोहरा र उनको घरमा वास बसेकी स्थानीय १४ वर्षीया धनसरी बोहराको पनि मृत्यु भएको डिएसपी भोला भट्टले जानकारी दिए । उनका अनुसार भत्किएको घरमा च्यापिएर स्थानीय इन्नरीदेवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, चना बोहरा र महावीर बोहरा घाइते भएका छन् । किस्ना र चनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ भाँचिएको र घाँटीको हड्डी भाँचिएको जानकारी दिए । त्यस्तै, किस्नाको हात भाँचिएको छ । 

भूकम्पले घर भत्किएपछि पूर्वीचौकी गाउँपालिकाका २८ परिवार विस्थापित भएका छन् । १४ घर पूर्ण रूपमा र १४ आंशिक रूपमा भत्किएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । विस्थापितलाई सेना र स्थानीय तहसँग समन्वय गरेर त्रिपाल, कम्बल र खाद्यान्न वितरण गरिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै, सायल गाउँपालिकामा पनि १३ घर सामान्य चर्किएका छन् । 

भूकम्पले बझाङमा पनि घरहरू भत्किएका छन् । थलारा गाउँपालिका– ९, सिरेटामा पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको तथा खप्तडछान्ना, छबिसपाथिभेरा, केदारस्युँ, चिरबित्थड र मस्टा गाउँपालिकामा गरी १७ घरमा आंशिक क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । त्यस्तै, जयपृथ्वी नगरपालिकाको जयपृथ्वी क्याम्पसको एउटा भवनको भित्ता र जिल्ला कारागारको पर्खाल चर्किएको प्रहरीले जनाएको छ । 

भूकम्पपीडितलाई विभिन्न राजनीतिक दल र उम्मेदवारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्वमन्त्री तथा डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई एक लाख ५० हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै, एमाले डोटीले एक लाख सहयोग गर्ने जनाएको छ । 

२३६ परकम्प

डोटी भूकम्पपछि निरन्तर परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर १.७ देखि ३.९ म्याग्निच्युडका दुई सय ३६ वटा परकम्प गएका छन् । ‘गोरखा भूकम्पका परकम्प अहिलेसम्म पनि गइरहेका छन् । त्यसैले डोटी भूकम्पपछि पनि कहिलेसम्म परकम्प जान्छ, यकिन भन्न सकिँदैन,’ उनले भने, ‘यस क्षेत्रमा ठूलो भूकम्प नगएको वर्षाैँ भएकाले योभन्दा ठूलो पनि जान सक्छ वा सानो पनि जान सक्छ ।’ गोरखा भूकम्पका ५६ हजार परकम्प गइसकेका छन् ।