१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ कार्तिक २२ मंगलबार १३:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : मधेस प्रदेशलाई २७४ रनको लक्ष्य

आरिफ, अमित र दीपेन्द्रले पूरा गरे अर्धशतक

Read Time : > 1 मिनेट
२o७९ कार्तिक २२ मंगलबार १३:१८:oo

समूहको शीर्ष स्थानका लागि भइरहेको खेलमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई दुई सय ७४ रनको लक्ष्य दिएको छ। त्रिवि खेलमैदान कीर्तिपुरमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपाल पुलिस क्लबले टस जितेर ब्याटिङ गर्दै ४९.१ ओभरमा २७३ रनमा अलआउट भयो।

१.४ ओभरमा १३ रनमा पहिलो विकेटको रूपमा ओपनर सुनील धमला आउट भए। १० बल खेल्दै २ चौकाको मद्दतले ११ रन जोडेका धमला राजेश यादवको बलमा मोहम्मद आदिल आलमद्वारा क्याच आउट भए। ४४ रनमा दोस्रो विकेटको रूपमा ७.२ ओभरमा कुशल भुर्तेल आउट भए। रुपेश सिंहको बलमा विकेटकिपर अनिल साहद्वारा भुर्तेल क्याचआउट भए। भुर्तेलले १४ बल सामना गर्दै १ चौकासहित पाँच रन मात्र जोडे। लगत्तै नेपाल पुलिसको अर्को विकेट ४५ रनमा आउट भयो। चार बल सामना गरेका योगेन्द्रसिंह कार्की शून्य रनमै विशाल पटेलको बलमा सन्तोष कार्कीद्वारा क्याच आउट भए।

क्रिचमा अमित श्रेष्ठले पारी सम्हाल्दै थिए। श्रेष्ठलाई आरफी शेखले साथ दिँदै थिए। ३०.१ ओभरमा १३५ को स्कोरमा चौथो विकेटको रूपमा श्रेष्ठ मधेस प्रदेशका कप्तान हरिशंकर साहबाट बोल्ड भए। ९६ बलको सामना गरेको श्रेष्ठले नाै चौकाको मद्दतले ६५ रन जोडे। ३९.१ ओभरमा २०० रनको स्थितिमा आरिफ शेख आउट भए। रूपेश सिंहको बलमा प्रहार गर्ने क्रममा हरिशंकरद्वारा उनी क्याचआउट भए। शेखले ८६ बल खेल्दै १ छक्का र आठ चौका प्रहार गर्दै सर्वाधिक ७३ रन जोडे।

त्यसपछिको पारीलाई कप्तान दीपेन्द्रसिंह ऐरी र दिलीप नाथले सम्हाले। कप्तान ऐरीले ४३ बलमा एक छक्का तीन चौकासहित ५१ रन बनाए। रुपेश सिंहको बलमा रोहन विकद्वारा कप्तान ऐरी क्याच आउट भए।

बलियो लक्ष्य दिन लम्किँदै गएको पुलिस अन्तिममा कसिलो बलिङसामु सफल हुन सकेन। ४७.५ ओभरमा ७औँ विकेटको रूपमा राशिद खान, ४८.१ ओभरमा करन केसी, ४८.४ ओभरमा दिलीप नाथ र ४९.१ ओभरमा सागर ढकाल आउट भए। दिलीपले ३१ बल खेल्दै तीन छक्का र एक चौकाको मद्दतले ४० रनको योगदान गरे। रासिदले चार तथा करन र सागरले एक–एक रन जोडे।

बलिङतर्फ रूपेश सिंहले नाै ओभरमा ४९ रन खर्चिएर तीन, राजेश यादवले ७.१ ओभरमा ४७ रन खर्चिएर तीन, मोहम्मद आदिल आलमले १० ओभरमा ६९ खर्चिंदै दुई र कप्तान साहले १० ओभरमा ६० रन खर्चिएर एक विकेट लिए।

पुलिसका तीन खेलाडीले बनाए अर्धशतक
नेपाल पुलिस क्लबका तीन खेलाडीले अर्धशतक पूरा गरेका छन् । अमित श्रेष्ठले ६५, आरिफ शेखले ७३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ रनको पारी खेलेका छन्।