१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १६ बुधबार o८:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

साढे तीन करोड लागतमा ढलान गरिएको सडक गुणस्तरहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o८:o५:oo

सम्झौताअनुसार थिकनेस नभएको, खराब निर्माण सामग्री प्रयोग भएको आरोप

ललितपुरको बागमती गाउँपालिकाको छपेली हुँदै पालिका केन्द्र जोड्न करिब तीन किमि सडक निर्माण गुणस्तरहीन रहेको पाइएको छ । ठेकेदार कम्पनीले सडक ढलान गर्दा सामान्य मापदण्ड पनि पूरा नगर्दा करोडौँको सडक कमजोर र गुणस्तरहीन बनेको हो । 

तीन करोड ५१ लाख ९० हजार रुपैयाँमा निर्माण भएको उक्त सडक ढलान गर्दा प्रयोग भएको मसलाको घोल गुणस्तरीय र मापदण्डअनुसार नभएको पाइएको छ । पूर्वाधार विकास कार्यालय बागमती प्रदेश ललितपुरले पाँच दिनअघि मात्रै सडकको ढलान सकेको थियो । बागमती गाउँपालिका–३ मा रहेको यो सडक गुणस्तरीय नभएको जिल्ला समन्वय समितिले जनाएको छ ।

तर, सडक निर्माणको जिम्मा पाएको रायमाझी–कान्तिपथ पिएम जेभीले सडक ढलान गर्दा मापदण्ड नपुर्‍याए पनि पूर्वाधार विकास कार्यालय र गाउँपालिकाले भने अनुगमनसमेत गरेका छैनन् । ‘गाउँपालिका जोड्ने सडक गुणस्तरहीन बनाइएको छ, यो निकै दुःखद हो, यसबारे पूर्वाधार विकास कार्यालयसँग विवरण माग गरेका छौँ,’ जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङले भने, ‘ढलान गर्दा ग्राभेल र गिटीको प्रयोग गरिएको छ, सिमेन्ट र बालुवाको मात्रा न्यून छ, जसले गर्दा सडक धेरै समय नटिक्ने देखिन्छ ।’ करोडौँको सडक गुणस्तरहीन हुँदासमेत सडक विभागले निर्माण कम्पनीलाई कारबाही नगरेको उनले बताए । सडक निर्माण सम्झौताअनुसार साढे पाँच मिटर चौडाको उक्त सडक आठ इन्च मोटो (थिकनेस) हुनुपर्छ । तर, ६ इन्चभन्दा बढी नबनाएको थिङको भनाइ छ । ढलान गर्दा माटो मिसिएको गिटी र बालुवा प्रयोग गरेको उनको आरोप छ ।  

पूर्वाधार विकास कार्यालय, ललितपुरका प्रमुख पुष्कर पोखरेलले ठेकेदारले गतिलो काम नगरेपछि पत्र पठाएको र पछि प्रत्यक्ष अनुगमनसमेत गरेको दाबी गरे । उनका अनुसार उक्त सडक निर्माणको जिम्मा पाएका ठेकेदार बागमती गाउँपालिका–३ का पूर्ववडाध्यक्ष विष्णु तिमिल्सिना हुन् ।  

ठेकेदार कम्पनीले एक वर्ष लगाएर सडक निर्माण गरेको थियो । बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गुणस्तरबारे ख्याल गर्न ठेकेदारलाई निर्देशन दिए पनि अनुगमन भने नगरेको बताए । उनले पूर्वाधार विकास कार्यालयको कार्यक्रम भएकाले त्यसमा पालिकाको कुनै संलग्नता नरहेको बताए । यो सडक बागमती गाउँपालिका हुँदै इकुडोलर माझखण्डसम्म जोडिन्छ । यसको तीन किमि क्षेत्र ढलान भएको हो । 

अन्जानमा गल्ती भएको हुन सक्छ : तिमिल्सिना
ठेकेदार विष्णु तिमिल्सिनाले भने थिकनेस कम भए सोहीअनुसारको रकम दिन माग गरेका छन् । ‘यो लामो ढलान हो, काम गर्ने मानिसले केही गल्ती गरेको हुन सक्छ । तर, जानी–जानी गुणस्तरीयतामा कमजोरी हुन दिएका छैनौँ,’ उनले भने, ‘त्यो मेरै घर जाने बाटो पनि हो ।’