१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निक पोप्ली
२०७९ कार्तिक १५ मंगलबार १०:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्विटरमा मस्कको स्वामित्वसँगै दक्षिणपन्थीमाझ हर्षोल्लास

Read Time : > 2 मिनेट
निक पोप्ली
२०७९ कार्तिक १५ मंगलबार १०:१२:००

पुरातनपन्थीले शुक्रबार एलन मस्कको ट्विटर अधिग्रहणको उत्सव मनाएका छन्, त्यसमा विशेषतः ट्विटरको अघिल्लो नेतृत्वले अनुचित रूपमा पुरातनपन्थी विचारमा रोक लगाएको भन्नेहरू पर्छन् । ट्विटरको आचारसंहिता उल्लंघन गरेका कारण धेरै पटक निलम्बनमा परेको ‘लिब्स अफ टिकटक’ नाम गरेको एक चर्चित दक्षिणपन्थी एकाउन्टले ‘मलाई मिठाई पसलमा मनलाग्दी मिठाई खान छुट दिएको बालकजस्तै लागिरहेको छ’ भन्दै ट्विट गरेका थिए । उग्र–दक्षिणपन्थी एवं षड्यन्त्रका सिद्धान्तकार भनेर चिनिने रिपब्लिकन जनप्रतिनिधि मार्जोरी टेलर ग्रिनले बिहीबार आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा ‘अभिव्यक्ति स्वतन्त्रता !’ र भोलिपल्ट बिहानै ‘हामी जित्दै छौँ’ भन्दै ट्विट गरेकी थिइन् ।

बिहीबार फक्स न्युज च्यानलको एक कार्यक्रममा अर्का दक्षिणपन्थी रिपब्लिकन जनप्रतिनिधि टेड क्रुजले मस्कको ट्विटर खरिदलाई ‘आधुनिक समयमा अभिव्यक्ति स्वतन्त्रताका लागि सबैभन्दा महत्वपूर्ण घटना’ भन्दै टिप्पणी गरेका छन् । क्रुजले भने, ‘उहाँ (मस्क) ले ट्विटर खरिद गरेकोमा म खुसी छु । उनले ट्विटरका शीर्ष अधिकारीलाई निकालेर सानदार काम गरेका छन् भन्नेमा म विश्वस्त छु ।’ मस्कले ट्विटरका सिइओ पराग अग्रवाललगायत कर्मचारीलाई बर्खास्त गरेको सन्दर्भमा ‘उहाँले शीर्ष स्तरमा घर सफा गर्नु आवश्यक थियो र अभिव्यक्ति स्वतन्त्रताका लागि वातावरण बनाउनु वास्तवमै महत्वपूर्ण छ,’ क्रुज थप्छन् ।

आफूलाई ‘निरपेक्ष वाक् स्वतन्त्रतावादी’ बताउने मस्कले यदि आफूले ट्विटरको स्वामित्व लिएमा मिथ्या जानकारी र घृणायुक्त अभिव्यक्तिजस्ता हानिकारक सामग्रीको पहरेदारी गर्ने नियमलाई खुकुलो बनाउने बताउँदै आएका थिए । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट सुचारु गर्नका लागि समर्थन पनि जनाउँदै आएका थिए । स्मरण रहोस्, ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटोलमा (अमेरिकाको संघीय व्यवस्थापिका) घातक कु प्रयासपछि उनलाई ट्विटरबाट स्थायी रूपमा हटाइएको थियो ।

यद्यपि मस्कले शुक्रबार दिउँसो ट्विटरले ट्विट हटाउने र एकाउन्ट पुनस्र्थापना गर्नेबारे निर्णय गर्न ‘विषयवस्तु मध्यस्थता परिषद्’ (कन्टेन्ट मोडरेसन काउन्सिल) गठन गर्ने घोषणा गरेपछि पूर्व–राष्ट्रपतिको एकाउन्ट तत्काल पुनस्र्थापना हुने सम्भावना कम देखिन्छ । उनले परिषद्को बैठक बस्ने मिति भने बताउन चाहेनन् । मस्कले स्वामित्व ग्रहणपछि ट्विटरको सामग्री नियन्त्रण दिशानिर्देश परिवर्तन भए–नभएको स्पष्ट छैन । मस्कले एक ट्विटमा यहुदीद्वेषी टिप्पणी गरेका दक्षिणपन्थी कान्ये वेस्टको ट्विटर एकाउन्टलाई आफूले अधिग्रहण गर्नुअघि नै पुनस्र्थापित गरिएको बताएका छन् ।

दक्षिणपन्थी राजनीतिज्ञ र प्रभावशाली व्यक्तिले मस्कको ट्विटर खरिदलाई लिएर गरेको प्रशंसा देखेर मिडिया पर्यवेक्षक एवं विश्लेषक अचम्मित भने भएका छैनन् । सन् २०२१ मा गरिएको प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार १० रिपब्लिकन ट्विटर प्रयोगकर्तामध्ये ६ प्रयोगकर्ता चुनावबारे मिथ्या जानकारीमा रोक लगाउने काम महत्वपूर्ण समस्या हो भन्ने विश्वास गर्छन् । सर्वेक्षणअनुसार ट्विटरले लोकतन्त्रलाई कमजोर बनाउँछ भन्नेमा डेमोक्य्राटका तुलनामा रिपब्लिकनले बढी विश्वास गर्छन् ।

ट्विटर एलन मस्कको नियन्त्रणमा पुगेपछि यसको दुरुपयोग गरी घृणा एवं आपत्तिजनक सामग्री अत्यधिक फैलिने हो कि भन्ने चिन्ता बढेको छ 

हालैका वर्षमा धेरै चर्चित एकाउन्ट स्थायी रूपमा निलम्बन भएका छन्, जसमा मार्जोरी टेलर ग्रिनको व्यक्तिगत एकाउन्ट पनि समावेश छ किनभने उनको एकाउन्टले बारम्बार कोभिड–१९ खोपसम्बन्धी गलत जानकारी फैलाएको थियो । पारलैंगिकद्वेषी हास्यव्यंग्य प्रकाशित गरेपछि द बेबिलोन बी नामक एक रुढिवादी प्यारोडी वेबसाइटलाई पनि प्रतिबन्ध लगाइएको थियो । मिडिया विश्लेषकका अनुसार मस्कको स्वामित्वपछि यी दुवै एकाउन्ट सुचारु हुन सक्छन् ।

स्वामित्वको सम्झौतालाई अन्तिम रूप दिनुअघि मस्कले विज्ञापनदातालाई ‘ट्विटर पक्कै पनि जे मन लाग्यो त्यो बोल्ने नर्क बन्न सक्दैन, जहाँ जोकोहीले विनापरिणाम बोल्न सकोस् !’ यद्यपि सम्झौता भइसकेपछि कैयौँ ट्विटर एकाउन्टले नश्लभेदी, यहुदीद्वेषी र समलिंगीद्वेषी ट्विट गरेका थिए । यसले मस्कको नियन्त्रणमा रहेको ट्विटरमा घृणा एवं आपत्तिजनक सामग्री अत्यधिक फैलिने चिन्ता बढाएको छ । अमेरिकी मध्यावधि चुनावको केही अघि भएको मस्कको अधिग्रहणलाई पुरातनपन्थी मिडिया पण्डितले आफ्नो उद्देश्यपूर्ति हुने देखेर स्वागत गरेका छन् । मार्क जुकरबर्गलाई इंगित गर्दै र छछल्किँदो स्याम्पेनको मिम राख्दै ‘हामी अन्य सामाजिक सञ्जालका अधिकारीले मस्कको नेतृत्वलाई पछ्याउनेमा आशावादी छौँ’ भन्दै डेली वायरका संस्थापक एवं प्रभावशाली दक्षिणपन्थी मिडिया पण्डित बेन सापिरोले ट्विट गरेका थिए । 

मिडिया म्याटर्सका अध्यक्ष एवं अभियन्ता एन्जेलो कारुसोनका अनुसार यदि ट्विटरले ट्रम्पको एकाउन्ट सुचारु गर्छ भने फेसबुकले पनि ‘सम्भवतः’ ट्रम्पमाथिको प्रतिबन्ध हटाउनेछ । र, यसले डिजिटल सार्वजनिक वृत्तलाई निकै प्रभाव पार्न सक्ने उनको भनाइ छ । कारुसोनका अनुसार, ‘यसले अनिवार्य रूपमा रिपब्लिकनलाई सबैभन्दा खराब चुनावी झुट फैलाउने मौका दिनेछ, जसले लोकतन्त्रप्रति अझ बढी अविश्वास र विभिन्न खतरालाई पनि प्रोत्साहित गर्न सक्छ । र, यदि यिनीहरू आउने स्थानीय चुनावलाई तारो बनाउन सक्छन् भने यी निकै विध्वंसकारी हुन सक्छन् ।’ ट्रम्प आफैँले शुक्रबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्विटरको नयाँ स्वामित्वको स्वागत गरेका छन् । उनले ‘हाम्रो राष्ट्रलाई घृणा गर्ने कट्टरपन्थी वामपन्थी पागल र बहुलाको हातबाट ट्विटर सद्दे मानिसको हातमा पुग्दा म अत्यन्त हर्षित छु’ भनेर लेखेका थिए ।

आजीवन प्रतिबन्ध फुकुवा भए पनि आफू ट्विटरमा नफर्किने ट्रम्पले बताएका छन् । यद्यपि शुक्रबार केही कन्जर्भेटिभ नेताले मस्कको स्वामित्वको हर्षबढाइँ गरेका थिए । दक्षिणपन्थी रिपब्लिकन जनप्रतिनिधि लौरेन बौबर्टले डोनाल्ड ट्रम्पको प्रतिबन्धित एकाउन्टलाई ट्याग गर्दै ‘चरो (ट्विटर) स्वतन्त्र भयो । अब महान् व्यक्तित्व (गोट) लाई पनि स्वतन्त्र बनाऊ’ भनेका छन् । 
(पोप्ली टाइम म्यागजिनका खोज पत्रकार हुन्) टाइम म्यागजिनबाट