मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार ०७:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवाबाट उडान गर्न निगम तयार

एक साताभित्र ‘उडानतालिका’ बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार ०७:२२:००

काठमाडौं–दिल्ली रुटतर्फ सातामा चारवटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ । सोमबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटनसचिव, क्यान र निगमका उच्च अधिकारीबीच बसेको बैठकमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी भैरहवाबाट उडान गर्न तयार भएका हुन् । 

पर्यटनमन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानले निर्धारण गरेबमोजिम उडान गर्ने गरी नेपाल निगमले उडान योजना यसै साताभित्र पेस गर्न निर्देशन दिएका छन् । निगमका कार्यकारी अध्यक्ष अधिकारीले मंगलबार भैरहवाबाट उडान गर्ने प्रतिबद्धतापत्र क्यानमा पेस गर्ने र एक साताभित्र व्यावसायिक योजना बुझाउने सहमति भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

उडानतालिका पेस नगर्दासम्म अहिले स्वीकृत तालिकाअनुसार नै निगमले उडान गर्नेछ । क्यानले निगमको काठमाडौं–दिल्ली उडान साताको १४ बाट घटाएर १० बनाइदिएको छ । ‘बैठकमा निगमले भैरहवा उड्ने प्रतिबद्धतासहित व्यावसायिक योजना पेस गरेपछि अहिले कटौती गरिएको उडान पुनः सुचारु गर्न दिने विषयमा क्यानका महानिर्देशकले निर्णय लिन सक्ने निर्णय भएको छ,’ सूचना अधिकारी भुलले भने ।

बैठकमा निगम प्रमुख अधिकारीले अनुमति नै नभएको उडानको टिकट काटेर गल्ती गरेको स्वीकार गरेको स्रोत बताउँछ । यस्तै, बैठकमा ग्राउन्ड ह्यान्डलिङ सेवालाई प्रतिस्पर्धी बनाउन अर्को कम्पनीलाई पनि भिœयाउने विषयमा गृहकार्य गर्न मन्त्रीले क्यान महानिर्देशक प्रदीप अधिकारीलाई आग्रह गरेका छन् ।