मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Monday, 16 December, 2024
प्रेम गौतम काठमाडाैं
२o७९ कार्तिक १४ सोमबार o६:२७:oo
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५९ सिटमा कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै मुख्य प्रतिस्पर्धी

प्रतिनिधिसभाका १६५ मध्ये १६ क्षेत्रमा गैरकम्युनिस्ट र ८७ क्षेत्रमा कम्युनिस्ट–गैरकम्युनिस्ट उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै

Read Time : > 10 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार o६:२७:oo

गोरखा २
माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग गोरखा २ मा एमालेका अब्दुस मियाँ प्रतिस्पर्धामा छन् । विवेकशील साझा परित्याग गरेर बसेका मियाँलाई मनोनयनको केही समयअघि पार्टी प्रवेश गराएर एमालेले टिकट दिएको हो । स्थानीय निर्वाचनमा गोरखाका ११ मध्ये नौ पालिका माओवादी र दुई कांग्रेसले जितेको थियो । दुवै दल अहिले एउटै गठबन्धनमा छन् ।

रौतहट १
रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका अजयकुमार गुप्ता प्रतिस्पर्धामा छन् । पूर्वप्रधानमन्त्री नेपालसँग चुनाव लडाउने गरी एमालेले गुप्तालाई लोसपाबाट भिœयाएको हो । उनी गौर नगरपालिकाको मेयरमा समाजवादीका शम्भु साहसँग पराजित भएका थिए । 

इलाम १
इलाम १ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमालेका महेश बस्नेत भिड्दै छन् । बस्नेत पूर्वप्रधानमन्त्री खनालकै पूर्वकार्यकर्ता हुन् । खनाललाई सत्तागठबन्धनको साथ छ । इलाम नगरपालिकाका पूर्वमेयर बस्नेत पहिलोपटक संसद्को निर्वाचन लड्दै छन् ।

दाङ २
दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी नेतृ रेखा शर्मा भिड्दै छन् । रेखा पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएकी हुन् । उनीहरू दुवै यसअघि समानुपातिकबाट सांसद भइसकेका छन् । पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

गुल्मी–२
गुल्मी २ मा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी भाँक्री चुनावी मैदानमा छन् । ०७४ मा विष्ट निर्वाचित हुँदा उनको चुनावी कमान्डर झाँक्री थिइन् । तर अहिले झाँक्री विष्टको मुख्य चुनौती बनेकी छिन् । एउटै पार्टीमा हुँदा दुवै माधव नेपाल समूहमा थिए । 

लमजुङ 
लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ र माओवादीका देव गुरुङ चुनावी मैदानमा छन् । माओवादी महासचिव देवसँग एमाले उपमहासचिव पृथ्वीले चुनाव लड्न चाहेका थिएनन् । तल्ला कमिटीबाट उनले आफ्नो नाम प्रदेशमा सिफारिस गराएका थिए । तर, अध्यक्ष केपी ओलीले प्रतिनिधिसभाको टिकट दिए । 

रुपन्देही १
रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा र गठबन्धनको समर्थनमा घनश्याम भुसाल आमनेसामने छन् । उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका उनीहरू मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तारूढ गठबन्धनले समर्थन गरेको छ ।

 बाग्लुङ १
बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी र एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् । ०७४ मा माओवादी र जनमोर्चासमेतको मतले पाठक निर्वाचित भएका थिए । अहिले उनको दल एमाले विभाजित भएको छ भने केसी माओवादीसहित सत्तागठबन्धनको साझा उम्मेदवार छन् । 

ताप्लेजुङ
ताप्लेजुङमा एमालेका योगेश भट्टराई र माओवादीका खेलप्रसाद बुडाक्षेत्री प्रतिस्पर्धामा छन् । ०७४ मा भट्टराईलाई निर्वाचन जिताउन हिँडेका बुडाक्षेत्री अहिले आफैँ निर्वाचित हुन सत्तागठबन्धनका तर्फबाट मैदानमा उत्रिएका छन् ।

झापा २ : देवराज घिमिरे  र हरिकुमारी रानामगर
झापा २ मा एमालेका देवराज घिमिरे र माओवादीका हरिकुमार रानामगर भिड्दै छन् । एमाले प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएर रानामगर माओवादीबाट उम्मेदवार बनेका हुन् । घिमिरे एमाले प्रदेश १ का अध्यक्ष हुन् भने रानामगर अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । रानामगरलाई सत्तारूढ दलको साथ छ । 

भोजपुर : शेरधन राई र सुदन किराँती
भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किराती चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री राई र निवर्तमान सांसद किराँती अघिल्लोपटक एउटै उठबन्धनमा थिए । यसपटक राई एक्लै निर्वाचनको मैदानमा होमिएका छन् भने किरातीलाई सत्तारूढ दलहरूको साथ छ । 

मोरङ–४ : विनोद ढकाल र अमनलाल मोदी
मोरङ ४ मा एमालेका विनोदप्रसाद ढकाल र माओवादीका अमनलाल मोदी चुनावी प्रतिस्पर्धामा छन् । मोदी निवर्तमान सांसद हुन् । मोदीलाई सत्तारूढ पाँच दलको साथ छ । 

खोटाङमा : विशाल भट्टराई र रामकुमार राई
खोटाङमा एमालेका विशाल भट्टराई र माओवादीका रामकुमार राई चुनावी प्रतिस्पर्धामा छन् । भट्टराई निवर्तमान सांसद हुन् । अघिल्लोपटक निर्वाचित हुँदा भट्टराईलाई माओवादीको साथ थियो । यसपटक भट्टराईको दल एमाले विभाजित भएको छ भने माओवादीका राईलाई सत्तारूढ पाँच दलको साथ छ ।

उदयपुर २ : जगन्नाथ खतिवडा र अम्मरबहादुर रायमाझी
उदयपुर २ मा एमालेका अम्मरबहादुर रायमाझी र एकीकृत समाजवादीका जगन्नाथ खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । पूर्वसांसद खतिवडालाई सत्तारूढ पाँच दलको साथ छ । अघिल्लोपटक यो क्षेत्रमा माओवादी विजयी भएको थियो । यसपटक माओवादीले एकीकृत समाजवादीका खतिवडालाई समर्थन गरेको छ ।

सिराहा ३ : लीलानाथ श्रेष्ठ र विश्वनाथ साह
सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ र माओवादीका विश्वनाथ साह चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान सांसद श्रेष्ठलाई जसपाको साथ छ भने साहलाई सत्तारूढ गठबन्धनको साथ छ । 

महोत्तरी १ : गिरिराजमणि पोखरेल र लक्ष्मी महतो
महोत्तरी १ एमालेका लक्ष्मी महतो र माओवादीका गिरिराजमणि पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । पूर्वमन्त्री तथा निवर्तमान सांसद पोखरेलसँग जसपा छाडेर केही समयअघि एमाले प्रवेश गरेका महतो निर्वाचन लड्दै छन् । एमालेबाट टिकट पक्का गरेपछि महतोले जसपा छाडेका थिए । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरणका अभियुक्त महतोले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

 सर्लाही २ : राजनारायण साह र महिन्द्र राय यादव
सर्लाही २ एमालेका राजनारायण साह र नेसपाका अध्यक्ष महिन्द्र राय यादव माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दै छन् । नेसपाका अध्यक्षसमेत रहेका यादवलाई सत्तारूढ गठबन्धनको साथ छ । एमालेका जिल्ला अध्यक्ष साहलाई जसपाले समर्थन गरेको छ ।

सर्लाही ३ : हरिप्रसाद उप्रेती र नरेन्द्र साह
सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती र माओवादीका नरेन्द्र साह चुनावी प्रतिस्पर्र्धामा छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम, स्वतन्त्र हुँदै अहिले माओवादीमा पुगेका साह गठबन्धनका साझा उम्मेदवार हुन् । उप्रेतीलाई जसपाले साथ दिएको छ । 

बारा ४ : कृष्णकुमार श्रेष्ठ र एकवाल मियाँ
बारा ४ मा एमालेका एकवाल मियाँ र एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचन लड्दै छन् । अघिल्लो निर्वाचनमा तनहुँ १ बाट निर्वाचित श्रेष्ठ उक्त क्षेत्र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाड्दै बारा ४ पुगेका हुन् । पूर्वमन्त्री श्रेष्ठलाई सत्तारूढ गठबन्धनको साथ छ । मियाँलाई जसपाले समर्थन गरेको छ ।

दोलखा : बालकृष्ण सिवाकोटी र गंगा कार्की
दोलखामा एमालेका बालकृष्ण सिवाकोटी र माओवादीका गंगा कार्की चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । माओवादीले पुराना राजनीतिज्ञ कार्कीलाई र एमालेले व्यापारी सिवाकोटीलाई चुनावी मैदानमा अघि सारेको हो । कार्कीलाई सत्तारूढ गठबन्धनको साथ छ । सिवाकोटी एक्लै चुनावी मैदानमा छन् । 

सिन्धुली २ : मनोजजंग थापा र लेखनाल दाहाल
सिन्धुली २ मा एमालेका मनोजजंग थापा र माओवादीका लेखनाथ दाहाल चुनावी प्रतिस्पर्धामा छन् । एमाले केन्द्रीय सदस्य थापासँग माओवादीका दाहालले प्रतिस्पर्धा गर्दै छन् । दाहालले पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई पछि पार्दै टिकट लिएका हुन् ।

धादिङ १ : राजेन्द्र पाण्डे र भूमिप्रसाद त्रिपाठी 
धादिङ १ एमालेका भूमिप्रसाद त्रिपाठी र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा छन् । विगतमा प्रतिनिधिसभा निर्वाचन उठ्दै आएका राजेन्द्र पाण्डे अघिल्लोपटक मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका थिए । तर, समूहगत समीकरणका कारण सुरुमा उनले त्यो अवसर पाएनन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनेपछि उनको मुख्यमन्त्री बन्ने लक्ष्य पूरा भयो । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे यसपटक प्रतिनिधिसभा निर्वाचनको मैदानमा छन् । उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको छ । 

नुवाकोट १ : बद्री मैनाली र हितबहादुर तामाङ
नुवाकोट १ एमालेका बद्री मैनाली र माओवादीका हितबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान सांसद तामाङलाई अघिल्लो निर्वाचनमा एमालेको साथ थियो । तामाङसँग प्रतिस्पर्धा गर्न एमालेले मैनालीलाई मैदानमा उतारेको छ । दुवै संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनको अनुभव बटुलेका तामाङ चौथोपटक चुनावी मैदानमा छन् । पहिलोपटक संसद्को निर्वाचन लडेका मैनाली एमालेका जिल्ला अध्यक्ष हुन् । उनी व्यावसायिक पृष्ठभूमिका हुन् । 

काभ्रे १ : रेशम लामा र सूर्यमान तामाङ
काभ्रे १ मा एमालेका रेशम लामा र माओवादीका सूर्यमान तामाङ चुनावी प्रतिस्पर्धामा छन् । तामाङ पूर्वमन्त्री हुन् भने लामा पूर्वराज्यमन्त्री हुन् । तामाङलाई सत्तारूढ गठबन्धनको समर्थन छ । लामा एक्लै चुनावी मैदानमा छन् । यो क्षेत्रमा पूर्वप्रदेशमन्त्री चन्द्र लामाले एमालेबाट दाबी गरेका थिए । लामा यसपटक पनि प्रदेशमै उठेका छन् ।

मकवानपुर २ : विरोध खतिवडा र महेश बर्तौला
हालसम्म अपराजित एकीकृत समाजवादीका विरोध खतिवडा यसपटक सत्तारूढ गठबन्धनबाट निर्वाचन लड्दै छन् । मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धी उनकै पूर्वकार्यकर्ता महेश बर्तौला छन् । यसअघिको निर्वाचनमा खतिवडालाई जिताउन हिँडेका बर्तौला यसपटक आफैँ चुनावी मैदानमा छन् । खतिवडा निवर्तमान सांसद हुन् । विद्यार्थी राजनीतिबाट आएका बर्तौैला संसदीय राजनीतिमा नयाँ अनुहार हुन् । 

कास्की २ : विद्या भट्टराई र श्रीनाथ बराल
कास्की २ मा एमालेकी विद्या भट्टराई र एकीकृत समाजवादीबाट श्रीनाथ बराल चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा कास्की २ बाट रवीन्द्र अधिकारीलाई जिताउन श्रीनाथ बरालले सम्पूर्ण सामथ्र्य लगाएका थिए । हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा अधिकारीपत्नी विद्या भट्टराई निर्वाचित भइन् । भट्टराईलाई राजनीतिमा ल्याउन र जिताउन भूमिका खेलेका बराल अहिले आफैँ चुनावी मैदानमा छन् । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य बराललाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ । भट्टराईले यसपटक प्रतिनिधिसभामा उम्मेदवार बन्ने इच्छा राखेकी थिइनन् । उनले प्राज्ञिक क्षेत्रमै फर्किने बताए पनि ओलीले टिकट दिएका हुन् । 

कास्की ३ : दामोदर बैरागी र रामजी बराल
एमालेबाट दामोदर बैरागी र माओवादीबाट रामजीप्रसाद बराल चुनावी मैदानमा छन् । माओवादी नेता बराल गण्डकीका बहालवाला अर्थमन्त्री हुन् । बराललाई सत्ता गठबन्धनको साथ छ भने बैरागी एक्लै निर्वाचनमा होमिएका छन् । 

बाग्लुङ २ : देवेन्द्र पौडेल र मञ्जु शर्मा 
बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चुनावी मैदानमा छन् । गत वैशाखमा कांग्रेस छाडेकी मञ्जुलाई एमालेले बाग्लुङ २ बाट टिकट दिएको हो । शिक्षामन्त्री पौडेललाई सत्तारूढ गठबन्धनको साथ छ ।

पाल्पा २ : सोमप्रसाद पाण्डे र ठाकुर गैरे
पाल्पा २ मा एमालेका ठाकुर गैरे र एकीकृत समाजवादीका सोम पाण्डे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट स्थापित गैरे यसअघिका निर्वाचनमा पाण्डेको सारथि बन्दै आएका थिए । पाण्डेकै कारण गैरेले संसदीय राजनीतिमा स्थान पाएका थिएनन् । ०५१ देखि हरेक निर्वाचनमा पाल्पा २ बाट पाण्डे उम्मेदवार बनिरहे । पाण्डे मन्त्रीसमेत भए । तर, अहिले पाण्डे एकीकृत समाजवादीमा लागेपछि गैरेले अवसरमा पाएका छन् । पाण्डे एकीकृत समाजवादीबाट र गैरे एमालेबाट पाल्पा २ मा उम्मेदवार छन् ।

रुपन्देही २ : विष्णु पौडेल र केशव थापामगर
रुपन्देही २ एमालेका विष्णु पौडेल र र जनमुक्ति पार्टीका केशवबहादुर थापामगर चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका थापामगरलाई समर्थन जनाउने निर्णय गरेको छ ।

कपिलवस्तु १ : बलराम अधिकारी र चक्रपाणि खनाल
कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी र माओवादीका चक्रपाणि खनाल चुनावी प्रतिस्पर्धामा छन् । खनाललाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा कांग्रेसका दीपकुमार उपाध्याय पनि दाबेदार थिए । तर, गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेपछि खनाल चुनावी मैदानमा उत्रिएका छन् । 

रुकुम पूर्व : कैलाश मल्ल र पूर्णबहादुर घर्ती
रुकुम पूर्वमा एमालेका कैलाशकुमार मल्ल र माओवादीका पूर्णबहादुर घर्तीमगर चुनावी मैदानमा छन् । माओवादीको आधार इलाकाका रूपमा परिचित यो क्षेत्रमा घर्तीमगरलाई सत्तारूढ गठबन्धनको साथ छ । 

रोल्पा : वर्षमान पुन र पूर्ण बुढामगर
रोल्पामा माओवादीका वर्षमान पुन र एमालेका पूर्ण बुढामगर चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान सांसद पुनलाई सत्तारूढ गठबन्धनको साथ छ । पुनः पटक–पटक मन्त्री भइसकेका छन् । अघिल्लो निर्वाचनमा एमाले पुनको पक्षमा थियो । अहिले एमालेले पुनविरुद्ध बुढामगरलाई चुनावी मैदानमा उतारेको छ ।

प्युठान : सूर्य थापा र दुर्गा पौडेल 
प्युठानमा एमालेका सूर्य थापा र जनमोर्चाकी दुर्गा पौडेल चुनावी मैदानमा छन् । अघिल्लोपटक वाम गठबन्धनबाट निर्वाचित पौडेललाई यसपटक सत्तारूढ गठबन्धनको साथ छ । अघिल्लोपटक पौडेललाई निर्वाचित गराउन हिँडेका थापा आफैँ चुनावी मैदानमा छन् । पौडेल जनमोर्चाकी उपाध्यक्ष हुन् भने थापा एमाले पोलिटब्युरो सदस्य हुन् ।

दाङ १ : शान्ता चौधरी र मेटमणि चौधरी
दाङ १ मा एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका मेटमणि चौधरी चुनावी प्रतिस्पर्धामा छन् । एमाले र थारू आन्दोलनका समेत सहयात्री मेटमणि र शान्ता यसपटकको निर्वाचनमा आमनेसामने भएका छन् । मेटमणिले एकीकृत समाजवादीबाट र शान्ताले एमालेबाट दाङ १ मा प्रतिस्पर्धा गर्दै छन् । ०७४ को निर्वाचनमा मेटमणिलाई जिताउने अभियानमा शान्ता थिइन् । अहिले भने मेटमणिको प्रतिस्पर्धीका रूपमा शान्ता मैदानमा आएकी छिन् । मेटमणि प्रत्यक्ष निर्वाचित र शान्ता समानुपातिकका निवर्तमान सांसद हुन् । मेटमणिलाई सत्तारूढ गठबन्धनको साथ छ । 

बाँके १ : सूर्य ढकाल र महेश्वरजंग गहतराज 
बाँके १ मा एमालेका सूर्य ढकाल र माओवादी महेश्वरजंग गहतराज चुनावी मैदानमा छन् । माओवादीका महतराज युवा तथा खेलकुदमन्त्री हुन् । उनलाई सत्तारूढ गठबन्धनको साथ छ । ढकाल एमाले केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज हुन् । उनी एक्लै निर्वाचनमा होमिएका छन् । 

बर्दिया २ : पंकजसिंह राठौर र सुरेश पन्थ
बर्दिया २ मा एमालेका पंकजसिंह राठौर र माओवादीका सुरेश पन्थ चुनावी मैदानमा छन् । पन्थलाई सत्तारूढ गठबन्धनको साथ छ । पन्थविरुद्ध एमालेले प्रदेश कमिटी सदस्य राठौरलाई मैदानमा उतारेको छ । 

सल्यान : प्रकाश ज्वाला र राजेन्द्रवीर राय
सल्यानमा एमालेका राजेन्द्रवीर राय र एकीकृत समाजवादीका प्रकाश ज्वाला चुनावी मैदानमा छन् । एकीकृत समाजवादीका उपमहासचिव ज्वाला अघिल्लो निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर एमालेमा विद्रोहको बिउ रोपेका ज्वालासँग उनकै पूर्वकार्यकर्तासँग प्रतिस्पर्धा छ । ज्वालालाई सत्तारूढ गठबन्धनको साथ छ । 

डोल्पा : धनबहादुर बुढा र गणेशबहादुर शाही
डोल्पामा एमालेका गणेशबहादुर शाही र एकीकृत समाजवादीका धनबहादुर बुढा चुनावी मैदानमा छन् । निवर्तमान सांसद बुढासँग एमालेका शाही प्रतिस्पर्धामा छन् । पार्टी विभाजनपछि बुढा र शाही एकीकृत समाजवादीमा लागेका थिए । प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए ।

जुम्ला : रतननाथ योगी र गोमा गौतम
जुम्ला एमालेका रतननाथ योगी र माओवादीकी गोमा गौतम चुनावी प्रतिस्पर्धामा छन् । गौतम दलहरूको तर्फबाट प्रतिनिधिसभामा कर्णाली प्रदेशकै एक्ली महिला उम्मेदवार हुन् । उनलाई सत्तारूढ गठबन्धनको साथ छ । दोस्रो संविधानसभा सदस्य रहेकी उनी कृषि तथा पशुपक्षी विकास राज्यमन्त्रीसमेत भएकी थिइन् । उनीविरुद्ध एमालेले रतननाथ योगीलाई चुनावी मैदानमा उतारेको छ ।

 कालिकोट : महेन्द्रबहादुर शाही र नगीन्द्र शाही
कालिकोटमा एमालेका नगीन्द्र शाही र माओवादीका महेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई सत्तारूढ गठबन्धनको साथ छ । एमालेले पूर्वमुख्यमन्त्री, संघीय मन्त्री शाहीविरुद्ध नगीन्द्रलाई मैदानमा उतारेको छ ।

हुम्ला : दल रावल र छिरिङ डम्डुल लामा
हुम्लामा एमालेका दल रावल र माओवादीका छिरिङ डम्डुल लामा चुनावी प्रतिस्पर्धामा छन् । रावल कर्णाली प्रदेशका पूर्वमन्त्री एवं निवर्तमान सांसद हुन् । लामा सांसद नभए पनि ६ महिना कर्णाली प्रदेशको मन्त्री भएका थिए । लामालाई सत्तारूढ गठबन्धनको साथ छ ।

जाजरकोट : शक्ति बस्नेत र नीरज आचार्य
जाजरकोटामा एमालेका नीरज आचार्य र माओवादीका शक्ति बस्नेत चुनावी मैदानमा छन् । एमाले केन्द्रीय सदस्य आचार्य पहिलोपटक संघीय चुनावको मैदानमा होमिएका छन् । यद्यपि, उनीसँग स्थानीय निकायको जनप्रतिनिधिको अनुभव छ । माओवादीका उपमहासचिव बस्नेत पूर्वमन्त्री र निवर्तमान सांसद हुन् । अघिल्लो निर्वाचनमा आचार्यले प्रदेश सभामा पाएको टिकट अन्तिम समयमा पार्टीले खोसेको थियो । आचार्यले निर्वाचन प्रचारप्रसारकै क्रममा टिकट खोसिएको जानकारी पाएका थिए ।

दैलेख : रवीन्द्र शर्मा र अम्मरबहादुर थापा
दैलेखमा एमालेका रवीन्द्र शर्मा र एकीकृत समाजवादीका अम्मरबहादुर थापा चुनावी मैदानमा छन् । थापा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन् । थापालाई सत्तारूढ गठबन्धनको साथ छ । थापाविरुद्ध एमालेले जोशीलाई चुनावी मैदानमा उतारेको छ ।

रुकुम पश्चिम : जनार्दन शर्मा र नन्दराम देवकोटा
रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा र एमालेका नन्दराम देवकोटा चुनावी प्रतिस्पर्धामा छन् । अर्थमन्त्री शर्मा निवर्तमान सांसद हुन् । उनी माओवादी उपमहासचिवसमेत हुन् । शर्माविरुद्ध एमालेले देवकोटालाई उम्मेदवार बनाएको छ । 

अछाम १ : झपट बोहरा र शेरबहादुर कुँवर 
अछाम १ एमालेका झपट बोहरा र एकीकृत समाजवादीका शेरबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा भीम रावलको नाम एकल सिफारिस भए पनि केपी ओलीले रावललाई टिकट नदिई केही महिनाअघि माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई टिकट दिएका हुन् । रावललाई टिकट नदिएको विरोधमा एमालेका जिल्लास्तरीय तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका थिए । एमालेमा रहँदा भीम रावलनिकट कुँवर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका थिए । कुँवर श्रममन्त्री हुन भने बोहरा प्रदेशका पूर्वमन्त्री हुन् ।

बझाङ : भानुभक्त जोशी र ऐन महर
बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी र एमालेका ऐन महर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका स्थायी समिति सदस्य जोशीलाई सत्तारूढ गठबन्धनको साथ छ । पूर्वमन्त्री जोशीसँग उनकै पूर्वकार्यकर्ता महर एमालेबाट प्रतिस्पर्धामा छन् । महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । 

डोटी : प्रेम आले र गौरी ओली
डोटीमा एकीकृत समाजवादीमा प्रेम आले र एमालेकी गौरी ओली चुनावी प्रतिस्पर्धामा छन् । पार्टी विभाजनका वेला आलेले महŒवपूर्ण भूमिका खेलेका थिए । १० बुँदे पक्षधर एमालेमै रहँदा आलेले पार्टी विभाजनका लागि आवश्यक सांसदसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिएका थिए । निवर्तमान सांसद तथा मन्त्री आलेसँग एमालेले ओलीलाई प्रतिस्पर्धामा उतारेको हो । 

कैलाली २ : झपट रावल र भगत बडुवाल
कैलाली २ मा एमालेका झपट रावल र माओवादीका भगतबहादुर बडुवाल चुनावी प्रतिस्पर्धामा छन् । रावल र बडुवाल दुवै निवर्तमान सांसद हुन् । बडुवाललाई सत्तारूढ गठबन्धनको साथ छ । बडुवाललाई हराएर रावल एमालेको ह्याट्रिक जितको लक्ष्यमा छन् । बडुवाल भने रावललाई हराएर दोस्रोपटक निर्वाचित हुने लक्ष्यमा छन् । 

कैलाली ३ : गौरीशंकर चौधरी र कृष्ण चौधरी
कैलाली ३ मा एमालेका गौरीशंकर चौधरी र माओवादीका कृष्णकुमार चौधरी चुनावी प्रतिस्पर्धामा छन् । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका ठूला नेताले चुनाव हार्दा गौरीशंकर कैलालीबाट निर्वाचित भएका थिए । ०७४ मा वामगठबन्धनबाट फेरि उनले निर्वाचन जितेका थिए । दुईपटक निर्वाचन जितेका गौरीशंकर माओवादी त्यागेर एमालेमा गएका छन् । उनी अहिले एमालेबाट उम्मेदवार छन् । माओवादीले यसपटक कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । कृष्णकुमारलाई सत्तारूढ गठबन्धनको साथ छ । पूर्वसांसद कृष्णकुमार नयाँ शक्ति, जसपा हुँदै फेरि माओवादीमा फर्किएका हुन् ।

बैतडी : दामोदर भण्डारी र नरेन्द्र कुँवर
बैतडी एमालेका दामोदर भण्डारी र माओवादीका नरेन्द्र कुँवर चुनावी प्रतिस्पर्धामा छन् । ०६४ र ०७० मा एक–अर्काविरुद्ध उम्मेदवार बनेका भण्डारी र कुँवर तेस्रोपटक चुनावी मैदानमा आमनेसामने भएका छन् । भण्डारी एमाले प्रदेश अध्यक्ष हुन् भने कुँवर पोलिटब्युरो सदस्य हुन् । कुँवरलाई सत्तारूढ गठबन्धनको साथ छ । 

कञ्चनपुर १ : विना मगर र तारा लामा
कञ्चनपुर १ मा एमालेका तारा लामा र माओवादीकी विना मगर चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लोपटक पनि कञ्चनपुर १ बाट निर्वाचित माओवादीकी विना यसपटक पनि उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा उनलाई एमालेको साथ थियो । अहिले एमालेसँगै उनको प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमालेका लामा उम्मेदवार छन् । विनालाई सत्तारूढ गठबन्धनको साथ छ ।

कम्युनिस्ट र गैरकम्युनिस्ट  कति ठाउँ भिड्दै छन् ?
प्रतिनिधिसभाका १६५ मध्ये ८७ क्षेत्रमा कम्युनिस्ट र गैरकम्युनिस्ट उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । एमाले र कांग्रेस ७९ क्षेत्रमा भिड्दै छन् । त्यस्तै, एमाले, माओवादी र एकीकृत समाजवादीलगायतका कम्युनिस्ट र जसपा, लोसपालगायतका मधेसकेन्द्रित दलबीच आठ क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभाका १६ क्षेत्रमा गैरकम्युनिस्ट उम्मेदवारबीच भिडन्त हुँदै छ । आठ क्षेत्रमा कांग्रेस र जसपा, चार क्षेत्रमा जसपा र लोसपा, तीन क्षेत्रमा कांग्रेस र राप्रपा तथा एक क्षेत्रमा कांग्रेस र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबीच मुख्य प्रतिपस्र्धा हुँदै छ । यद्यपि, केही क्षेत्रमा साना दल र स्वतन्त्र उम्मेदवारले पनि ठूला दलहरूलाई चुनौती दिने आकलन छ । 

तीन क्षेत्रमा यस्तो प्रतिस्पर्धा
कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा एमालेले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ गराएर कांग्रेस बिपीका कर्ण मल्ललाई र चितवन ३ मा कांग्रेसका बागी  दिनेश कोइरालालाई समर्थन गरेको छ । यो क्षेत्रमा माओवादीका भोजराज अधिकारी उम्मेदवार छन् । रौतहट ३ मा प्रभु साह र ओमप्रकाश जैसवाल दुवैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साहलाई सत्तागठबन्धन र जैसवाललाई एमालेको समर्थन छ ।