नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकायको सदस्यता पाएको छ। विगत ८ वर्षदेखि नेपालगन्जमा हुँदै आएको ‘नेपालगन्ज म्याराथन’ले एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता पाएको आयोजक संस्था क्रियटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।
विश्वको आधिकारिक म्याराथन आयोजकहरूको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आबद्ध हुने सम्भवतः ‘नेपालगन्ज म्याराथन’ पहिलो भएको उनले दाबी गरे। गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो।
नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५ किलोमिटर, २१.०९७५ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर गरी चारवटा दुरीको अलग–अलग प्रमाणपत्र छ।
वर्ल्ड एथलेटिक्सअन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेस आयोजक सदस्य छन्। नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयतासम्बन्धी आवश्यक कागजातसहित सम्पूर्ण प्रक्रिया पूरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको उनले बताए।
एम्सको आबद्धतासँगै नेपालगन्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको उनको भनाइ छ। ‘अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवर्द्धन गर्न एम्सले सघाउनेछ,’ नेपालन्ज म्याराथनका अध्यक्ष ठकुरीले भने।
सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगन्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन्। उनले नेपालगन्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन्। ‘म तपाईं र तपाईंको टिमलाई तपाईंको रेसको पूर्ण सफलताको कामना गर्दछु,’ पाका बोराओले पत्रमा लेखेका छन्, ‘तपाईंहरूको यात्रामा हाम्रो एसोसिएसन एक महत्वपूर्ण योगदान कर्ता हुनेछ।’
एम्समा आबद्धताले नेपालगन्ज म्याराथन मात्र नभई समग्र नेपाली म्याराथन तथा रोडरेस धावक तथा प्राविधिक लाभान्वित हुने अध्यक्ष ठकुरीले बताए। ‘नेपालगन्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्नेछ,’ उनले भने।
संसारमा लामो इतिहास बोकेका प्रतिष्ठित म्याराथनमा सहभागिताका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ। त्यसका लागि नेपालगन्ज म्याराथन अब एउटा आधार बन्न सक्छ। त्यस्तै, विदेशी पर्यटकका लागि नेपालगन्ज म्याराथन नयाँ गन्तव्य हुने आशा गरिएको छ।
नेपाल सरकार र विद्रोही पक्षबीच बृहत् शान्ति सम्झौता भएको ५ मंसिरलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस वर्ष मंसिर २४ गते शनिबार हुने आयोजकले जनाएको छ।
क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि १५ असार, २०७९ देखि खेलाडी दर्ता खुला गरिएको छ। नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने ठकुरीले बताए। गत वर्षझैँ यस वर्ष पनि विभिन्न दशवटा विधामा स्पर्धा समावेश गरिनेछ।