नेपाल भ्रमणमा आएको एमसिसी महिला क्रिकेट टोलीविरुद्ध क्यान एघारले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा शनिबार भएको मैत्रीपूर्ण खेलमा क्यान एघारले दुई विकेटको जित निकाल्यो । शुक्रबार सम्पन्न पहिलो खेलमा क्यान एघार २१ रनले विजयी भएको थियो ।
शनिबार एक सय १४ रनको विजयी लक्ष्य लिएको क्यान एघारले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । क्यान एघारका लागि प्लेयर अफ दी म्याच घोषित नेरी थापाले सर्वाधिक ३३ रन जोडेकी हुन् । त्यस्तै, अश्मिना कर्माचार्यले अविजित १८ रनको योगदान गरिन् । यसबाहेक कविता कुँवरले १६ र रुबिना क्षत्रीले १३ रन जोडे । बलिङतर्फ एमसिसीका रिया राभेल र रचेल पोटरले समान दुई–दुई विकेट लिए । एमसिसीबाट सावा नसिम, अवी ह्वाइग्रोभ, अमन्डा पटजिटर र एसा विल्लिगुर्नेले समान एक–एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ४० ओभरमा ९ विकेटको क्षतिमा एक सय १३ रनको योगफल तयार पारेको थियो । एमसिसीका लागि जेनी हिटजिङजरले ५६ बलमा २ चौका मद्दतमा सर्वाधिक २१ रन जोडिन् । क्लेरी टेलरले २० रन जोड्दा अमन्डा पटजिटरले १६, एलिसा हबर्डले १३, अवी ह्वाइग्रोभले १० रनको योगदान गरिन् ।
बलिङतर्फ क्यान एघारका लागि सीता रानामगर र रुबिना क्षत्रीले समान तीन–तीन विकेट लिए । नेरी थापा र इन्दु बर्माले समान एक–एक विकेट लिए । आइतबार एमसिसी र मिक्स ११ बीच मैत्रीपूर्ण खेल हुने तालिका छ ।