भारतीय पक्षसँग समन्वय गर्न परराष्ट्रलाई गृहको पत्राचार
मृतकका परिवारसँग गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले गर्यो १६ लाख दिने सहमति
भारतले तावाघाट–लिपुलेक सडक विस्तारका क्रममा विनासूचना विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालक पवन महराको मृत्यु भएको घटनामा परराष्ट्र मन्त्रालयले बिदाको कारण देखाउँदै कूटनीतिक पहल गरेको छैन । शुक्रबार बिहान ११ः५५ मा भएको घटनाबारे जानकारी दिँदै गृह मन्त्रालयले कूटनीतिक समन्वय र पहल गर्न परराष्ट्र मन्त्रालयलाई शनिबार पत्राचार गरे पनि बिदाको कारण देखाउँदै परराष्ट्रले भारतीय पक्षलाई चिठीसमेत लेखेन ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबारै गृह मन्त्रालयलाई चिठी लेखेको थियो । गृहले भारतसँग क्षतिपूर्तिलगायत अन्य समन्वयका लागि कूटनीतिक पहल गर्न शनिवार परराष्ट्रलाई चिठी लेखेको थियो । जसको चलानी नम्बर ६४४ छ । ‘परराष्ट्रमन्त्री चुनावी कार्यक्रममा व्यस्त रहेको र सरकारी कार्यालय बिदा रहेका कारण भारत पक्षलाई कुटनीतिक पत्राचार गर्न सकिएको छैन’ परराष्ट्रका एक अधिकारीले भने । परराष्ट्र प्रवक्ता सेवा लम्साल भने यस बिषयमा सम्पर्कमा आउन चाहिनन् । प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यस्तो गम्भीर बिषयमा बिदाको दिन देखाएर परराष्ट्र मन्त्रालय पन्छिन मिल्दैनथ्यो । शनिवारै कूटनीतिक पहलकदमी लिनुपर्थ्यो र यसबारे नेपाली जनतालाई जानकारी दिनुपर्थ्यो ।’
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा घटनाको थप अनुसन्धान भइरहेको पनि उल्लेख छ । गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितताका साथ सीमा क्षेत्रमा विकास निर्माणका काम गर्न भारतीय पक्षलाई आग्रह गर्न माग गरी परराष्ट्रलाई पत्राचार गरिएको छ ।
‘भारतीय पक्षकै लापबाहीका कारण नेपाली बालकले ज्यान गुमाएको प्रस्ट छ,’ उनले भने, ‘अबका दिनमा यस्ता घटना दोहोरिनुहुन्न, यही विषय भारतीय पक्षसँग उठाउन परराष्ट्रलाई पत्राचार गरेका छौँ ।’
दीर्घराज उपाध्याय प्रजिअ, दार्चुला
विस्फोटअघि भारतीय पक्षले हामीलाई कुनै जानकारी गराएन । बालकको ज्यान गएको घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौँ । कूटनीतिक रूपमा सरकारले प्रक्रिया अघि बढाउला । स्थानीयस्तरमा दुई देशका जिल्ला अधिकारीबीच पनि टेलिफोन संवाद भएको छ ।
एक महिनासम्म अभिभावकसँग खर्क (जंगल) बसेर शुक्रबार घर फर्किने क्रममा तम्बाकुनजिक व्याँस गाउँपालिका– २ दुम्लिङ अरतौलीका हिक्मत महराका छोरा पवनको मृत्यु भएको थियो । दसैँ–तिहारको बिदामा श्रीमती, तीन छोरा र एक छोरीसमेत लिएर हिक्मत खर्कमा भेँडा–चौँरी चराउन गएका थिए । दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दै आएका पवनको सोमबारदेखि विद्यालय खुल्ने भएपछि उनीहरू शुक्रबार घर फर्किंदै थिए । घटनामा पवनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी छिन् । गोडामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । घटनास्थलमै ज्यान गुमाएका पवनको शव पनि पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
सीमा क्षेत्रमा पटक–पटक ज्यादती गर्दै आएको भारतले फेरि विनासूचना विस्फोट गराएर बालकको ज्यानै जाँदासमेत सरकार लामो अवधि मौन बसेको भन्दै परराष्ट्रविद्हरूले पनि आलोचना गरेका छन् । पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीको लापरबाहीले नागरिक मारिएको घटनामा तत्काल प्रतिक्रिया दिनुपर्नेमा सरकार चुकेको बताए । ‘भारतले संस्कृति, परम्परा, खुला सिमानाका न्यूनतम मर्यादालाई उल्लंघन गर्दाको परिणाम दार्चुलामा बालकको ज्यान जाने घटना भएको छ । सडक निर्माण गर्ने क्रममा भारतीय पक्षबाट सिठी बजाउन छाडेपछि दुर्घटना भयो भनिएको छ, यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ उनले भने, ‘नागरिक मारिएको यस्तो गम्भीर घटनामा सरकारले तत्काल प्रतिक्रिया दिनुपर्नेमा चुकेको छ । तत्कालै सशस्त्र प्रहरीको सम्बन्धित बोर्डर आउट पोस्टको रिपोर्ट, वडाध्यक्षको रिपोर्ट लिएर गृह मन्त्रालयको सिफारिसमा परराष्ट्रले भारतलाई प्रतिक्रिया जनाउनुपर्थ्यो । अहिलेको जमानामा पनि यति ढिलाइ गर्न हुन्छ ? आफ्नो नागरिकको जिउधनको जिम्मेवारीभन्दा अर्को प्राथमिकता सरकारको हुन्छ ? विगतमा तुइन प्रकरण यस्तै भयो । मानिसले देख्दादेख्दै तुइन काटियो । भारतले नदेखेझैँ, थाहा नपाएझैँ गर्यो ।’
पूर्वपरराष्ट्रसचिव अर्जुनबहादुर थापा कूटनीतिक पहल गरेर घटनाको तत्काल छानबिन गरी दुर्घटना हो कि बदनियत पत्ता लगाउनुपर्ने बताउँछन् । ‘यसको तत्काल छानबिन हुनुपर्छ । यो दुर्घटना हो कि बदनियत हो पत्ता लगाउनुपर्छ । कूटनीतिक पहल लिनुपर्छ । भविष्यमा यस्तो घटना नदोहोरिने गरी समाधान निकाल्नुपर्छ,’ उनले भने, ‘हाम्रो नागरिकको मृत्यु भएको छ । यो वेला अफिस बिदा छ भनेर हुँदैन परराष्ट्रले पहल कदमी लिनुपर्छ । लापरबाहीपूर्ण घटना देखिन्छ । क्षतिपूर्तिका लागि प्रयास गर्नुपर्छ ।’
भारतका लागि पूर्वराजदूत दुर्गेशमान सिंहले पनि छिमेकीको लापरबाहीले एक बालकको ज्यान जानु गम्भीर सार्वजनिक महत्वको विषय भएको बताए । उनले बिपी कोइराला प्रधानमन्त्री हुँदा चिनियाँ सेनाको गोली लागेर सीमा क्षेत्रमा एक सुबेदारको मृत्यु हुँदा क्षतिपूर्ति दिलाइएको स्मरण गरे । ‘यो घटना दुःखद छ र हाम्रा लागि गम्भीर सार्वजनिक महत्वको विषय हो । बिपी कोइराला प्रम हुँदा चिनियाँ सेनाको गोली लागेर सीमा क्षेत्रमा एकजना सुबेदारको मृत्यु हुँदा क्षतिपूर्ति दिलाइएको थियो । त्यसवेला गम्भीर कूटनीतिक पहल भएको थियो,’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले भारतसँग अहिलेको घटनामा गम्भीर कुराकानी गर्नुपर्छ । तत्कालै नेपालले कूटनीतिक पहलकदमी लिनुपर्छ । भारत पक्षले माफी मागेर अब घटना नहुने परिस्थिति सिर्जना गर्नुपर्छ र क्षतिपूर्तिको सुनिश्चित गर्नुपर्छ ।’
गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले गर्यो १६ लाख दिने सहमति
तावाघाट–लिपुलेक सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले बालक पवन महराको मृत्युमा गल्ती स्विकार्दै उनको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ । शनिबार भारतको धार्चुलास्थित एसडिएम कार्यालयमा पीडित परिवारसँग भएको छलफलमा कम्पनीका प्रतिनिधिले गल्ती स्वीकार गर्दै १० लाख भारतीय रुपैयाँ दिने सहमति बनेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।
कम्पनीले सुरुमा हिक्मत महरासँग उनका चार सन्तानको कक्षा १२ सम्मको पढाइ खर्च व्यहोर्ने र परिवारका एकजनालाई कम्पनीमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, उनले नगदै क्षतिपूर्ति मागेपछि त्यसैअनुसार सहमति बनेको हो । शनिबार पीडित परिवार लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि धार्चुला गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विनासूचना विस्फोट गराउने ज्यादतीका गतिविधि रोक्न टोलीले भारतीय पक्षसँग आग्रह गरे पनि गरेको छ ।
मानवीय क्षतिका घटना दोहोर्याउँदै भारत
भारतले नेपाल र नेपालीमाथि सीमा क्षेत्रमा जानाजान गरेको ज्यादती यो पहिलो होइन । पटक–पटक मानवीय क्षति हुने घटना दोहोर्याएको छ । गत वर्ष तुइन फुस्काइदिँदा जयसिंह धामी मारिए । अहिले चट्टान फोड्न विस्फोट गराएर सीमावारि हिँड्दै गरेको अवोध बालक मारिए ।
गत वर्ष हिक्मत महराकै घर–गोठको छानामा भारतबाट आएको ढुंगा बज्रिँदा एउटा गाई मरेको थियो । ‘सीमामा हामीमाथि पटक–पटक भारतले यस्ता घटना दोहोर्याइरहेको छ । वारि हाम्रो घर छ । पारिपट्टि सडकबाट आएको ढुंगा सीधै घरमा आइपुग्दा भौतिक क्षति हुने गरेको छ,’ उनले भने । गत वर्षको घटनाबारे नेपाल प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाए पनि क्षतिपूर्तिका लागि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
अहिले निर्माण गरिरहेको सडक क्षेत्रमै गत भदौमा पहिरोमा परेर चारन नेपाली घाइते भएका थिए । उनीहरू अहिलेसम्म पनि उपचारकै क्रममा छन् । व्याँस गाउँपालिका– २ का जयलाल वड, सुकवीर धामी, धीरनसिंह धामी र दिनेश धामी घाइते भएका हुन् । जयलालको भारत पिथौरागढमा उपचार भइरहेको छ भने धीरन धनगढीमा उपचार गराउँदै छन् । सुकवीर र दिनेशले स्थानीय स्वास्थ्य संस्थामै उपचार गराउँदै आएका छन् । उनीहरूले अहिलेसम्म निर्माण कम्पनीबाट कुनै क्षतिपूर्तिसमेत नपाएको व्याँस– २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । अहिले निर्माण गरिरहेको सडक क्षेत्रमै उनीहरू पहिरोमा परेका थिए ।
त्यस्तै, २५ जेठ ०७८ मा व्याँसकै दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तारका लागि विस्फोट गर्दा चट्टान खसेर नेपालतर्फको बाटो भत्किएको थियो । दुम्लिङबाट करिब दुई सय मिटर उत्तरतर्फको घोरेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै व्याँस जाने बाटो अवरुद्ध भएको छ । भारतले सडकको ट्र्याक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा पनि क्षति पुगेको थियो । पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए ।