१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका लुम्बिनी
२०७९ कार्तिक १२ शनिबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोरले कुरूप देखिँदै लुम्बिनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
२०७९ कार्तिक १२ शनिबार १९:४१:००

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहोरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो-कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप हो।

'महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फालिएका फोहोर सडेर लुम्बिनी दुर्गन्धित र कुरूप देखिएको छ,' स्थानीय व्यापारी बबिन बरईले भने, 'पर्यटकीयस्थल सफा, सुन्दर र आकर्षक हुनुपर्नेमा त्यसो हुन सकेको छैन।'

लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहोर व्यस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरईले बताए। बजारभरिकाे फोहोर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फलिँदै छ तर सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ।

लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नं ५) महिलवार चोकस्थित सडकपेटी र ट्याक्सी बिसौनी वरपर फोहोरको थुप्रो छ। बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागि लुम्बिनी पुगेर जापानी पर्यटक केंगो नोगुचीले नाक खुम्च्याउँदै भने, 'फोहोरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ।'

लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषसमेतले फोहोर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखाैँ खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको सञ्चारकर्मी दिनेश लोधले बताए। उनले भने, 'पर्यटकले फोहोरको फोटो खिच्दा हामी लाजले भुतुक्कै हुन्छौँ तर सरोकारवालालाई चासो छैन।'