दसैँको अवसरमा अध्यात्मवादी, वैज्ञानिक तथा शैक्षिक पृष्ठभूमिका नातेदाको लामो ‘वैज्ञानिक’ धार्मिक प्रवचन सुन्ने अवसर प्राप्त भयो । बुद्ध धर्म, कार्लमाक्र्सको भौतिकवाद तथा डोरबहादुर विष्टको भाग्यवादजस्ता दर्शनबाट प्रभावित मेरा निम्ति तिनका लागि भालुलाई पुराण सुनाएसरह भएको थियो । आफ्नो धार्मिक आस्थाका पछाडि उनले धार्मिक ग्रन्थ वेद, उपनिषद् तथा गीताको सूक्ष्म अध्ययन गरेको विचार जाहेर गरे । प्रवचनका क्रममा तिनले वास्तविक देवता ‘काल’ भएकाले काल देवताको आराधनामा जुटेको खुलासा गरे । यस धारणाले मलाई आकर्षित गर्यो । तिनको देवता ‘काल’लाई मैले ‘समय’का रूपमा अथ्र्याएँ । ‘समय बलवान् छ’ तथा ‘समयअनुरूप चल्ने व्यक्ति नै सफल हुन्छ’ जस्ता विभिन्न भनाइ सानैदेखि सुन्दै आएको हो ।
समय आफ्नै गति तथा लयमा निरन्तर चलिरहन्छ । समयकै गतिमा राष्ट्र पनि सञ्चालन भइराख्छ । समयलाई पछाडि धकेल्ने प्रयास निरर्थक, अनुत्पादक मात्र होइन, अनिष्टकारी नै हुन्छ । पूर्वराजा ज्ञानेन्द्रले समयलाई उल्टो दिशातिर उन्मुख गराउने दुस्साहस गर्दा नै नेपाल गणतान्त्रिक राष्ट्र बनेको भन्ने मान्यता राख्दै आएको छु ।
राष्ट्रिय निर्णय लिने दायित्व नेतृत्वको हो । इतिहासबाट पाठ सिकेर निर्णय गर्ने नेतृत्वले देशलाई डोर्याउँछ । विगतका गल्तीबाट पाठ नसक्ने नेतृत्वले देशलाई अनिष्टउन्मुख तुल्याउँछ । निर्णय गर्न नसक्ने नेतृत्वलाई अनिर्णयको बन्दी भन्ने गरिन्छ । नेतृत्व अनिर्णयको बन्दी हुन सक्छ, तर राष्ट्र भने स्थिर रहन सक्दैन । चिनियाँहरू भन्ने गर्छन् ‘अनिर्णय’ पनि एक प्रकारको निर्णय नै हो । देशमा फैलिएको डेंगुको प्रकोप एउटा प्रतिनिधि उदाहरण हो । विगत १० महिनादेखि डेंगु संक्रमण फैलिँदो छ । संक्रमित सदस्य नहुने घर परिवार भेट्न मुस्किल छ ।
१२ असोज २०२२ का दिन मृत्यु भएकाको संख्या ३८ तथा संक्रमित संख्या ३९ हजार नाघेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगु प्रकोप राष्ट्र घोषणा ग¥यो । नेपाली सरुवा रोग विशेषज्ञहरू यस रोगबाट संक्रमित हुनेको वास्तविक संख्या राज्यले उल्लेख गरेको भन्दा ६ गुणा बढी भएको अनुमान गर्छन् । लोकतन्त्र तथा संविधान ‘रक्षा’को महान् कार्यलाई काँध थाप्ने सरकार नागरिकको जीवन रक्षाप्रति भने उदासीन रह्यो । संक्रमण रोकथामका निमित्त पहलकदमी अघि बढाउनु त परै जाओस् ‘केही गरेकोजस्तो देखाउन’ समेत ऊ अग्रसर हुन चाहेन । जाडोको प्रकोपले डेंगु नियन्त्रण भइहाल्यो भने त्यसलाई काल भगवान्को कृपा मान्नुपर्ने हुन्छ ।
बदलिँदो परिस्थितिअनुरूप नागरिकको दैनिकीमा सकारात्मक प्रभाव पार्ने निर्णय लिने नेतृत्व नै नागरिकप्रति उत्तरदायी ठहरिन्छ । सक्षम तथा प्रभावकारी नेतृत्वले नागरिकको तात्कालिक, मध्यकालीन तथा दीर्घकालीन आवश्यकता तथा चाहनाको सही मूल्यांकन गर्न सक्छ । उसले लिने निर्णयलाई नागरिकले स्वामित्व ग्रहण गरून् भन्ने अभिलाषा राख्छ । सफल नेतृत्वले हरदम नागरिकसँग प्रत्यक्ष संवादमा जुटिराख्छ । उसले विशेषज्ञसँग छलफल तथा परामर्श लिन्छ । विशेषज्ञले दिएका वैकल्पिक उपायको अध्ययन गर्छ ।
कम खर्चमा अत्यधिक संख्याका नागरिकलाई लाभ दिने निर्णय लिन्छ । अनि त्यस्ता निर्णयको कार्यान्वयनमा जुट्छ । देशवासी ‘कथनी’मा नभएर ‘करनी’मा विश्वास गर्छन् । अर्थात्, भाषणको प्रतिबद्धता होइन, वास्तविक ‘डेलिभरी’ चाहन्छन् । असफल नेतृत्वले नागरिकलाई एकपछि अर्को प्रतिबद्धताको भारी बोकाएर भुलभुलैयामा राख्ने असफल प्रयास गर्छ । सफलचाहिँ जाहेर गरेको प्रतिबद्धता पूर्तिका निमित्त समर्पित रहन्छन् । विगत पाँच वर्ष नेतृत्वले जाहेर गरिएका प्रतिबद्धता तथा डेलिभरीबीचको खाडल अत्यन्त फराकिलो रह्यो ।
विगतबाट पाठ सिकेर नागरिकको जीवनमा तात्कालिक तथा दूरगामी असर पर्ने निर्णय लिँदै राष्ट्रलाई डोर्याउने नेतृत्व नेपालीले पाउन सकेनौँ । सामुन्ने आइपरेका समस्या तथा चुनौती सम्बोधनकै निमित्त रुमल्लिने नेतृत्व हाबी रह्यो । विगत सात दशकको अवधिमा भए गरिएका राजनीतिक अभ्यासको मूल्यांकन गर्ने हो भने देश राजनीतिक ‘प्रयोगशाला’ बनेको पुष्टि हुन्छ । त्यस्ता राजनीतिक परीक्षण वा अभ्यासको फेहरिस्त लामो छ । तीन थान नयाँ संविधान त विष्णु भगवान्को साक्षात् अवतार राजाको बाहुलीबाट देशवासीले पाए ।
राजाको प्रत्यक्ष नेतृत्व कालखण्डलाई एकछिन बिर्सिने हो भने पनि नागरिकको विश्वास प्राप्त गरेका झन्डै दर्जन तथा उनीहरूकै (नागरिक प्रतिनिधिका) रोजाइमा परेका प्रधानन्यायाधीशको नेतृत्वमा पनि सरकार गठन गरियो । वंशगत आधारमा राष्ट्रप्रमुख हुने परम्परा त्यागेर नागरिकले चुनेका दुई ‘आलंकारिक’ राष्ट्रपतिको शासन पनि हामी नेपालीले भोगिसक्यौँ । सार्वभौमसत्ता सम्पन्न नागरिकले निर्माण गरेको संविधान लागू भएको पनि सात वर्ष बितिसक्यो ।
अपवाद राष्ट्र हो नेपाल, जहाँ ठुल्ठूला राजनीतिक परिवर्तन भए पनि पुरानै नेतृत्वले निरन्तरता पाइरह्यो । फर्की–फर्की तिनै नेतृत्व हाबी हुने भएकाले राज्य सञ्चालनको संस्कार कत्ति पनि परिवर्तन हुन पाएन । समयको पछि लाग्ने नेतृत्वले नै देशमा हालीमुहाली गर्न पाए । जतिसुकै सकारात्मक सोच राख्ने नागरिकका लागि पनि विद्यमान स्थिति निराशाजनक छ । फर्केर हेर्ने हो भने विगत पाँच वर्षको अवधि त्यत्तिकै खेर गएको अनुभव हुन्छ । हाम्रो नेतृत्वले जहिल्यै कुशासन नै ‘डेलिभरी’ गर्यो । नेतृत्वको अवसर दिने नागरिकप्रति जिम्मेवारी बहन गर्नुभन्दा बढी अर्कोपटक सत्तामा हाबी हुने प्रपञ्च रच्दैमा पाँचवर्षे कार्यकाल बिताइदिए ।
नेतृत्वको ध्यान तीव्र गतिमा फैलिँदै गरेको राजनीतिक, सामाजिक तथा आर्थिक विकृति तथा विसंगतितर्फ जानै सकेन । नेपथ्यमा रहेका अदृश्य देशी–विदेशी शत्रुको त्रास फैलाएर पानीमाथिको ओभानो ढुंगो हुन हाम्रो नेतृत्व अग्रसर रह्यो । ‘यहाँ केही हुनै दिँदैनन्’ भन्दै उनीहरू सीमित व्यापारिक घराना, बिचौलिया, सिन्डिकेट तथा अपराधीका पृष्ठपोषक बनिरहे । तिनै साहुमहाजनले प्रदान गरेको सुरक्षा कवचमा नेतृत्व रमायो । उद्देश्य, आदर्श तथा मूल्य–मान्यताविहीन नेतृत्वले राजनीतिलाई अपराधीकरणउन्मुख गराउँछ नै । राज्य सञ्चालनको अभिभारा बिस्तारै आपराधिक पृष्ठभूमि भएका पात्रको हातमा जाँदै छ ।
आगामी ४ मंसिरले नेपाली मतदातालाई अपूर्व अवसर दिँदै छ । उनीहरूले विगतमा असफल प्रमाणित नेतृत्वलाई छानीछानी तिनकै निर्वाचन क्षेत्रमा अस्वीकार गरिदिएको खण्डमा देशले नयाँ नेतृत्व पाउनेछ ।
उमेर ढल्केका ‘शीर्षस्थ’ पगरीधारी नेताबीच पाइने दुई समान चारित्रिक गुण हुन्– १) असुरक्षित मनोविज्ञान तथा २) सत्ता हस्तान्तरणका लागि विश्वासिला पात्र खोजी । भौतिक वा शारीरिक असुरक्षाबाट ग्रस्त भएका हुनाले हतियारधारी सुरक्षाकर्मीको घेराबन्दीबेगर हाम्रा नेतृत्वले आफ्नै घरआँगनमा पनि देखा पर्ने हिम्मत गर्दैनन् । ज्यानको असुरक्षा मात्र होइन, उनीहरूलाई सत्ताको राप तथा तापबाट अलग्गिनुपर्ला भनेर पनि त्रसित छन् । सत्ताको छत्रछायाबाट अलग हुनासाथ विगतमा तिनको संलग्नतामा भए–गरेका आपराधिक कार्यबापत सजायको भागीदार हुनुपर्ने त्रासबाट पनि उनीहरू ग्रस्त छन् ।
मानसिक असुरक्षाका कारणले गर्दा उनीहरू विश्वासिलो उत्तराधिकारीको खोजीमा जुटेको संकेत पनि देखा पर्न थालेको छ । तिनले नेतृत्व गरेको दलमा भएका योग्य तथा स्वाभिमानी पात्रहरू विश्वासयोग्य पात्र नहुन पनि सक्छन् । नेतृत्वको वरिपरि घुम्ने चाटुकार जत्था भरोसायोग्य छैन । यही कारणले गर्दा आफ्ना सन्तति अथवा प्यारा पात्रलाई उत्तराधिकारी चयन गर्न मरिहत्ते गर्दै छन् उनीहरू । उम्मेदवारी चयन प्रक्रियामा देखा परेको नग्न आफन्तवाद तथा वंशवाद यही अभिप्रायका द्योतक हुन् ।
हीनताबोधी मनस्थिति ग्रस्त असुरक्षित नेतृत्वका निमित्त आफूभन्दा सक्षम पात्र आँखाको कसिंगर ठहरिने गरेका छन् । सक्षम व्यक्ति तिनका निमित्त चुनौती हुने गर्छन् । स्वाभिमानी सक्षम पात्रले सेवक हुन मन्जुर गर्दैन । नेतृत्वले खोज्ने भनेको आज्ञापालक सेवक नै हो । त्यसकारण सक्षम व्यक्तिलाई अनेक बखेडा खडा गरेर दलमा प्रवेश निषेध गरिन्छ । जसोतसो प्रवेश पाइहाल्नेको पनि चरित्र हत्या गरिदिने तथा अवसरका ढोकाहरू चारै दिशाबाट बन्द गरिने अवस्था छ ।
लेखको सुरुमा उल्लेख गरिएजस्तो अक्षम नेतृत्वलाई समयले कुर्दैन । उनीहरू सत्ता अथवा त्यसको वरिपरि टिकिरहुन्जेलसम्म संक्रमणकाल लम्बिन्छ । तर, संक्रमणकालमै हो राष्ट्रले नयाँ नेतृत्व पाउने । लेनिन, मुसोलिनी, हिटलर, मंगेसा, पुटिन, भिक्टर अर्बान तथा योर्डगानजस्ता नेता तिनको राष्ट्र संक्रमणकालबाट गुजिँ्रदै गर्दा नै उदाएका हुन् । त्यसो त राष्ट्रले संक्रमणकाल भोग्दै गर्दा कतिपय नेताहरू उदाएका छन्, जसले तिनका देशलाई उन्नतितर्फ उन्मुख तुल्याए । तीमध्ये मुसाभिनी, किगामा, सुसिलो वांग वांग तथा भागन काचतुरियान आदि अग्रणी मानिन्छन् ।
वर्तमान कालखण्डमा हाम्रोजस्तै तीन दशकदेखि कुशासन तथा भ्रष्टाचारको दलदलमा फसेको राष्ट्र युक्रेनको उदाहरण सान्दर्भिक हुन्छ । युक्रेन सोभियत युनियनको विघटनपछि स्वतन्त्रता पाउने पहिलो राष्ट्र हो । चार वर्षअघिसम्म वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको परिचय केवल एक स्थानीय हास्य कलाकारको थियो । तिनको राजनीति प्रवेश युक्रेनी नागरिकका निमित्त हँसीमजाकको विषय थियो ।
युक्रेनमा तीन वर्षअघि सम्पन्न आमनिर्वाचनले जेलेन्स्कीलाई राष्ट्रपति पदमा निर्वाचित गर्यो । अक्षम नेतृत्वबाट निराश रहेका युक्रेनी मतदाताले जोखिम उठाएरै ४१ वर्षीय अज्ञात हास्य कलाकारलाई अवसर दिए । आज तिनी राष्ट्रिय सार्वभौमिक सत्ता रक्षाका निम्ति समर्पित भएर युक्रेनका सर्वाधिक लोकप्रिय तथा विश्वप्रसिद्ध नेताका रूपमा स्थापित भएका छन् ।
पुनः हाम्रै परिपे्रक्ष्यमा फर्कौं, असफल तथा अयोग्य प्रमाणित नेतृत्वले देशलाई अगाडि बढाउने कुनै गुन्जायस छैन । असुरक्षित मनोदशाबाट पीडित नेतृत्व परिवार तथा प्रियजनलाई जबर्जस्ती आफ्नो उत्तराधिकारी तहमा स्थापित गर्न अग्रसर रहन्छ । यस्तो प्रयासले तिनले नेतृत्व गरेको दलमा बचेखुचेका प्रतिभाशाली नेता–कार्यकर्तालाई दल परित्याग, समानान्तर दल स्थापना अथवा राजनीतिबाट सन्न्यास लिन बाध्य तुल्याउँदै छ । यदि नेतृत्वको अभीष्ट पूरा भयो भने स्थापित दलहरू पुनः एक अक्षम नेतृत्वबाट अर्को अक्षम नेतृत्वको हातमा पुग्नेछन् । देशलाई हाँक्ने उद्देश्य लिएर राजनीतिमा होमिएका दल नेताका लागि मात्र होइन, निःस्वार्थ कार्यकर्ताका लागि पनि दलको भविष्यकै खातिर भए पनि प्रभुत्व जमाएको नेतृत्वको बहिर्गमन नितान्त आवश्यक छ ।
आगामी ४ मंसिरका दिनले नेपाली मतदातालाई अपूर्व अवसर दिँदै छ । उनीहरूले विगतका असफल प्रमाणित नेतृत्वलाई छानीछानी तिनकै निर्वाचन क्षेत्रमा पराजित गरिदिएको खण्डमा देशले नयाँ नेतृत्व पाउनेछ । त्यसो भयो भने ‘काल देवता’ अर्थात् समयले सुषुप्त आस्थामा रहेका नेपाली जेलेन्स्कीलाई अघि सार्नेछ ।