अवकाशप्राप्त सुरक्षाकर्मी, राजदरबार तथा निजामती कर्मचारी, प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, समाजसेवी तथा माओवादी योद्धालिखित आत्मकथा÷संस्मरण पुस्तकको बाढी नै छ, मुलुकमा । संक्षिप्तमा, अधिकांश अवकाशप्राप्त कर्मचारीलिखित पुस्तक कार्यकालमा भोगेका चुनौती सम्बोधनको वर्णनमा, राजनीतिज्ञको पुस्तक आफूप्रति जनमानसले पालेका धारणा सकारात्मक तुल्याउने अथक प्रयासमा, सुरक्षाकर्मी तथा लडाकुहरूको वीरगाथा तथा पुरुषार्थको बढाइचढाइमा केन्द्रित हुन्छन् । ‘आदर्शवान्, निष्ठावान् तथा कर्तव्यपरायण, असल चारित्रको हुँदाहुँदै पनि न्यायोचित मूल्यांकन भएन’ भन्ने गुनासो सबैजसो पुस्तकका सार हुने गर्छन् । पाठकले भने पुस्तकमा नयाँ वस्तु/विचार वा अनुभव खोजेका हुन्छन् । पढिसकेपछि पाठक ‘नयाँ कुरा के थाहा भयो ?’ भनेर घोत्लन्छ नै ।
शाखा अधिकृतबाट निजामती सेवा सुरु गरेका डा. द्वारिका ढुंगेलले सचिवबाट अवकाश प्राप्त गरे । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक उनी नागपुर विश्वविद्यालयबाट विद्यावारिधि तथा विख्यात ‘म्यासेचुसेट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजी (एमआइटी)का ‘रिसर्च फेलो’ पनि हुन् । उनी जिल्ला प्रशासन योजना–२०३१ का अध्येता, स्थानीय तथा जिल्ला प्रशासक तालिम सञ्चालक, अध्यापक पनि हुन् । अवकाशपछिका फुर्सदिलो समयलाई तिनले जीवन अध्ययन, अनुसन्धान तथा लेखनमा खर्चिइरहेका छन् । समाजमा निर्भीक स्वतन्त्र नागरिकको छवि स्थापित छ । राजनीतिशास्त्री एवं विकासविद् ढुंगेलले जनप्रशासन, विकेन्द्रीकरण तथा जिल्ला प्रशासनबारे अध्ययन, अनुसन्धान, तालिम तथा स्थलगत अभ्यास र दार्चुला जिल्ला प्रमुख अधिकारी हुँदा सँगालेको अनुभवलाई लिपिबद्ध गरेर पुस्तकाकारमा प्रस्तुत गरेका छन् । नौ भागमा विभाजित ५६५ पृष्ठको पुस्तकमा प्रशासनको इतिहास, अनुभवको आलोकमा भविष्यका पिँढी (विशेषगरी निजामती सेवाका कर्मचारी)लाई सुझाब, सन्दर्भसामग्री तथा २१ अनुसूची छन् ।
मैले पढेका अन्य आत्मकथा/संस्मरणभन्दा नौलो छ । लेखक आत्मकेन्द्रित छैनन् । ‘जुनसुकै पेसामा संलग्न भएकाले पनि आफ्नो अनुभव भविष्यका लागि लिपिबद्ध गरेर छोड्नुपर्छ’ भन्ने मत राख्ने लेखकले पुस्तकको उद्देश्य ‘जिल्ला प्रशासन विषयमा अध्ययन र अनुसन्धान गर्न अभिरुचि राख्ने तथा जिल्ला प्रशासनमा संलग्न हुन चाहने र भइरहेकाहरूलाई यसको इतिहास तथा वर्तमान नेपालको कुनै कालखण्डमा जिल्ला प्रशासक भएर काम गरेको व्यक्तिले कस्तो अवस्थामा कसरी काम गरेको रहेछ भन्ने जानकारी उपलब्ध गराउने’ स्पष्ट गरेका छन् । पुस्तकमा लेखकले आफ्नो विषयमा लुकेका, लुकाइएका अथवा ओझेलमा परेका वा पारिएका प्रतिभालाई सार्वजनिक गर्ने प्रयास गरेका छैनन् । कतिपय लेखकले जस्तो आफूलाई बौद्धिक प्रमाणित गर्नमा मसी, समय खेर फालेका छैनन् । वास्तवमा पुस्तक विषयगत अध्ययन, अनुसन्धान, अध्यापन तथा अभ्यासको उपजजस्तो देखिन्छ । पुस्तकमा समावेश धेरैमध्ये एक सुन्दर विषय देश संघीयतामा गएको राष्ट्रिय परिपे्रक्षमा जिल्लाको संरचना तथा जिल्ला प्रशासन कार्यालयको महत्व एवं आवश्यकता औँल्याउनु हो ।
पुस्तक संगठित एवं विषयवस्तुकेन्द्रित छ । गहन विषय पनि सरल भाषामा छ । लेखकले गरेको कार्यसम्पादन, सहयोगीहरूबाट पाएको (अ)सहयोग, भोगेका कठिनाइ, चुनौती तथा आइपरेका आपत्कालीन अवस्थाको व्यवस्थापन आदिको प्रस्तुतिले पञ्चायती राजनीतिक प्रणालीअन्तर्गत सार्वजनिक प्रशासकीय स्वरूप देखा पर्छ । स्थानीय प्रशासनिक संरचना तथा विकेन्द्रीकरण प्रणालीको असली अनुहार छरपस्ट हुन्छ ।
प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र खटिएको जिल्लामा शान्ति सुरक्षा कायम गरेर स्थानीय निकायसँग समन्वय कायम गर्दै विकासका काम अघि बढाउनमा सीमित हुँदैन थियो । अञ्चल प्रशासन, तालुकदार मन्त्रालय र दरबारको भूमिका अहम् हुने गथ्र्यो । ‘चेन अफ कमान्ड’ मिश्रित थिए । ‘निषेधको राजनीति’ हावी भएको त्यस कालखण्डमा पनि स्थानीय तहदेखि जिल्ला तथा राष्ट्रिय पञ्चायतका पञ्चहरूको प्रभुत्व थियो । राजनीतिक व्यवहार, कार्यशैली तथा राज्यकोषमा जनप्रतिनिधिहरूको नजर गढेको हुन्थ्यो । स्वार्थको टकरावमा जतिसुकै निर्भीक प्रमुख जिल्ला अधिकारी भए पनि राजनीतिक प्रभावको राप र चाप थेग्नु नै पथ्र्याे । यस प्रकारका पुस्तकमा बिरलै भेटिने लेखकको इमानदारिता ढुंगेलको प्रस्तुत पुस्तकमा भेटिन्छ । जिल्ला प्रशासन प्रमुख पदमा कार्यरत हुन चाहनु तथा दार्चुला जिल्ला छान्नुको कारण तिनले लुकाएका छैनन् । आदर्शवान् कर्मचारीको ढोंग प्रकट गर्दै विकट जिल्लाको विकासका निमित्त उनी दार्चुला पुगेका थिएनन् । उप–सचिवबाट सहसचिव पद प्राप्त गर्न काठमाडौं मुकाममै रहेर कार्य गर्दा बढी समय लाग्ने प्रथा थियो ।
‘निजामती सेवा नियमावली २०२१ मा दुर्गम क्षेत्रमा काम गरेबापत बढी नम्बर’ पाइने प्रथाअनुरूप तिनले गृह पञ्चायत मन्त्रालय सहसचिव र सचिवलाई दार्चुला जिल्ला प्रमुख अधिकारी (प्रजिअ)मा सरुवा गरिदिन अनुरोध गरे । दार्चुला जिल्ला छनोटको कारण स्थायी घर काठमाडौंबाट आवतजावत गर्न सहजता थियो (दार्चुला विकट भए पनि भारतीय सीमासँग जोडिएको हुनाले त्यहाँ यातायात असुविधा अत्यधिक थिएन) ।
दार्चुला पदार्पण गर्दा लेखकले देशले पूर्वअभ्यास नगरेको जनमतसंग्रह सम्पन्न गर्ने दायित्व वहन गर्नुप¥यो । ‘बाहिर जे भनिए पनि, जनमतसंग्रह निष्पक्ष हुन्छ भन्ने गरे पनि पञ्चायतले जितोस् भन्ने चाहन्छौँ’ भन्ने विभागीय मन्त्रीको निर्देशन थियो । पहेँलो रङ पञ्चायत तथा नीलो रङ बहुदलको चिह्न थियो । संयोगले प्रमुख जिल्ला अधिकारी निवासको पर्दा (झ्याल) नीलो रङको थियो । तिनले पहिरने जिनको पाइन्टको रङ पनि नीलै । नीलो पर्दा र पाइन्टको कारणले उनी बहुदल प्रचारकमा दर्ज भए । लेखकले मतदानको दिन नीलोमा (बहुदल) छाप लगाउँदाको घटना रोचक छ । जनमतसंग्रहलगत्तै बझाङ जिल्लाकेन्द्रित ६.५ रेक्टर स्केलको भूकम्पको चपेटामा दार्चुला पर्यो । ०३७ को उक्त भूकम्पले ११ गाउँ क्षतिग्रस्त भए । भूकम्पलगत्तै हुरीबतास तथा असिनाले अर्को प्राकृतिक विपत्ति थप्यो ।
पुस्तकमा बिरलै भेटिने लेखकीय इमानदारिता ढुंगेलको प्रस्तुत पुस्तकमा भेटिन्छ । जिल्ला प्रशासन प्रमुख पदमा कार्यरत हुन चाहनु तथा दार्चुला जिल्ला छान्नुको कारण तिनले लुकाएका छैनन् । आदर्शवान् कर्मचारीको ढोंग प्रकट गर्दै विकट जिल्लाको विकासका निमित्त उनी दार्चुला पुगेका थिएनन् ।
प्राकृतिक प्रकोपपीडितलाई आपत्कालीन उद्धार, राहत वितरण कार्यहरूको व्यवस्थापन गर्दागर्दै ०३८ सालको राष्ट्रिय पञ्चायत तथा ०३९ को स्थानीय पञ्चायत निर्वाचन सम्पन्न गर्ने अभिभारा तिनकै काँधमा आइपर्यो । अति नै संवेदनशील चुनाव(हरू) तथा प्राकृतिक प्रकोप व्यवस्थापन लेखकको कार्यकालका उपलब्धिहरू हुन् । सीमापारि (धर्चुला)का भारतीय समकक्षी तथा अधिकारीहरूसँग मैत्री सम्बन्ध कायम गर्नु तिनको दक्षता थियो ।
पुस्तकमा उल्लेख गरिएका तीव्र गतिमा परिवर्तन भइरहने अनुकूल–प्रतिकूल परिस्थिति कार्य गर्दा लेखकले भोगेका चुनौती, सामना गरेका कठिनाइ तथा निष्ठापूर्वक सम्पादन गर्दा आइपर्ने बाधाअड्चनका उदाहरण रोचक एवं ज्ञानवद्र्धक छन् । उनले वर्णन गरेका चुनौती अथवा भोगाइहरूले पञ्चायती कालखण्डको समाजको वस्तुस्थिति, संस्थागत एवं संगठनात्मक संरचना, प्रवृत्ति तथा सूचना प्रवाहका जटिलताहरू उजागर गर्छन् । ‘जिल्ला प्रशासन मेरो भोगाइ’ पढ्दैगर्दा लेखकप्रति सहानुभूतिभन्दा सम्मानको भाव जाग्छ । भाषा सरल छ । प्रयोग गरिएको शैली सहज छ ।
पन्ना पल्टाउँदै जाँदा कता–कता प्राध्यापकले विद्यालयको कक्षामा विषयगत अध्यापन गरेको अनुभूति हुन्छ । पुस्तकको दोस्रो भाग ‘जिल्ला प्रशासनको इतिहास’ विस्तृत छ । लेखकले अनुसन्धान गरेर नेपालको जिल्ला प्रशासनका सबै आयाम तथा अभ्यासहरू समेटेका छन् । पुस्तकको यो भाग अत्यन्त उपयोगी, शिक्षाप्रद एवं ज्ञानवद्र्धक छ । प्रस्तुत गरिएका ‘फुटनोट’ तथा ‘रेफ्रेन्स’ले समष्टिगत रूपमा नेपालको जनप्रशासन विशेषगरी जिल्ला प्रशासनका विषयमा विगतमा लेखिएका पुस्तक, अनुसन्धानात्मक तथा पत्रपत्रिकामा प्रकाशित लेख समावेश गरेको छ ।
अर्जुनमणि आचार्य दीक्षितले उल्लेख गरे जस्तै ‘यो जोडको विस्तृत भर्सन अरू (पुस्तक)मा पाएको छैन ।’ लेखकले यस भागलाई पुस्तकमा समावेश नगरेको भए बेस हुने थियो । किनकि, समावेश गरिएका विषयवस्तुले अलग पुस्तक हुने थियो । उक्त पुस्तक जनप्रशासन, नीतिशास्त्र तथा राजनीतिशास्त्रका विद्यार्थीलगायत निजामती कर्मचारीका निमित्त अति लाभप्रद हुने थियो । निजामती प्रशासन तथा विकेन्द्रीकरणजस्ता विषयमा अभिरुचि नराख्ने पाठकका निमित्त यो खण्ड बौद्धिक भारी साबित हुन सक्छ ।
लेखक अनुसन्धानकर्ता भएकाले पनि हुन सक्छ, समेटिएका प्रत्येक विषयवस्तु गहिराइमा पुगेर वर्णन, विश्लेषण गरी निष्कर्ष निकालिएका छन् । कतिपय तिता–मिठा घटनाहरू ज्ञानवद्र्धक हुँदाहुँदै समय लिने खालका छन् । यिनैले पुस्तकको आकार ठूलो हुन पुगेको अनुभूति हुन्छ । पुस्तकको उपादेयताको बयान आवश्यक छैन । निजामती सेवाका कर्मचारीका निमित्त पुस्तक पढ्नैपर्ने कोटिको छ । विकेन्द्रीकरण तथा जिल्ला प्रशासनसम्बन्धी अध्येताका निमित्त पनि यो पुस्तक स्रोत पुस्तक साबित हुन सक्छ । राजनीतिक वर्गका निमित्त पनि पुस्तक अध्ययन गर्न लायक छ । मकालु प्रकाशन गृहले प्रकाशन गरेको ‘जिल्ला प्रशासन मेरो भोगाइ’को मूल्य पनि मोटै (७९५) राखिएको छ ।